आइसीसी पुरुष क्रिकेट विश्वकप छनोट नेट टिभीको मोबाइल एप र वेबसाइटमा नि:शुल्क हेर्न पाइने

बिजमाण्डू
२०८० जेठ ३२ गते १३:०३ | Jun 15, 2023
आइसीसी पुरुष क्रिकेट विश्वकप छनोट नेट टिभीको मोबाइल एप र वेबसाइटमा नि:शुल्क हेर्न पाइने


काठमाडौं। आइसीसी पुरुष क्रिकेट विश्वकप छनोट नेट टिभीको मोबाइल एप र वेबसाइटमा नि:शुल्क हेर्न पाइने भएको छ। यस प्रतियोगितामा नेपालले पनि प्रतिस्पर्धा गर्दैछ।

Tata
GBIME
NLIC

जोहरा इन्टरनेशनल प्रालिले नेपालको भू-भाग भित्र जिम्बावेमा आगामी जुन १८ देखि जुलाई ९ सम्म हुने आइसीसी पुरुष विश्वकप छनोट प्रतियोगिताको डिजिटल स्ट्रिमिङका लागि अधिकार पाएको छ।

स्टार इन्डिया प्रालिमार्फत आधिकारिक सब इजाजतपत्रदाता जोहरा इन्टरनेशनलले नेपालको अग्रणी मनोरञ्जन र खेलकुद मार्केटिङ फर्म एड प्याड प्रालिलाई विशेष मार्केटिङ र प्रसारण अधिकार प्रदान गरेको छ।

नेपाल आइसीसी पुरुष क्रिकेट विश्वकप छनोटको लागि छनोट भएको यो पहिलो पटक हो। नेपाली दर्शकले सजिलै पहुँचयोग्य तरिकाले प्रतियोगिता कसरी हेर्न सक्ने भन्नेमा व्यापक जिज्ञासा रहेकोमा एडप्याडले यो प्रतियोगितालाई नेट टिभी एप र वेबसाइटमा नि:शुल्क प्रसारण गर्ने घोषणा गरेको छ।

नेट टिभी एपलाई १० लाखभन्दा बढी पटक डाउनलोड गरिएको छ। यो नेपालको पहिलो र अग्रणी आइपीटिभी प्लाटफर्म र सबैभन्दा मूल्यवान पे टिभी कम्पनी हो। प्रतियोगिताका सबै ३४ खेलहरू नेट टिभी एप र वेबसाइटमा प्रसारण गरिने बताइउको छ। जसमा नेपालको भूभाग भित्रका अन्य विदेशी प्रसारणकर्ताहरूमा उपलब्ध हुने छैनन्। सबै खेलहरूको प्रत्यक्ष प्रसारण नेपाली समय अनुसार १२:३५ बजेदेखि सुरु हुने बताइएको छ।

यस वर्षको सुरुमा जोहरा र एड प्याडले युट्युबमा एसीसी पुरुष प्रिमियर कपको डिजिटल स्ट्रिमिङ प्रदान गर्न साझेदारी गरेका थिए। जुन नेपालमा सबैभन्दा धेरै हेरिएको डिजिटल कार्यक्रम बनेको थियो। सो प्रत्यक्ष प्रशारणमा २० लाखभन्दा बढी दर्शकहरू जोडिएको कम्पनीले जनाएको छ। नेपाली खेलकुदको इतिहासमा पहिलो पटक युट्युबमा ट्रेन्डिङ नम्बर १ स्थान हासिल गर्दै एकै समयमा १.८७ लाख दर्शकले खेल प्रत्यक्ष हेरेको किर्तिमान बनेको थियो।

‘साँच्चिकै भन्नुपर्दा यो प्रतियोगिता अब नेपाली प्लाटफर्ममा नि:शुल्क उपलब्ध हुने कुरामा मैले निकै राहत महसुस गरेको छु। यसअघि विदेशी प्रसारणकर्तामा कतिवटा खेल प्रसारण हुने भन्ने अन्योलता थियो। हामीले आइसीसीलाई पनि पत्र लेखेका थियौं, तर निजी कम्पनीहरूले आफ्नै पहलमा समयमै प्रसारण अधिकार हासिल गर्दै नेपाली क्रिकेट प्रेमीहरूमा पुग्ने कुरा सुनिश्चित गरेकोमा मलाई धेरै गर्व छ,’ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने।

त्यसैगरी, जोहरा इन्टरनेशनलका प्रबन्ध निर्देशक आमिर अख्तरले स्टार इन्डियासँग धेरै कुराकानी पछि अन्ततः अधिकारहरू प्राप्त गरेको बताएका छन्।

‘हामी उत्साहित छौं र हामी अब क्रिकेटको भोका राष्ट्रलाई प्रतियोगिताका सबै खेलहरू डिजिटल रूपमा उपलब्ध गराउन सक्षम भएकोमा गर्व गर्छौं। यो नयाँ सुरुवात मात्र हो र नेपाली दर्शकहरूले डिजिटल रूपमा उपलब्ध हुने धेरै टुर्नामेन्ट, विशेष गरी नेपाल समावेश हुने अपेक्षा गर्न सक्छन्,’ अख्तरले भने, ‘म आफैं एक भूतपूर्व क्रिकेटरको हैसियतमा यस प्रतियोगिताको गुरुत्वाकर्षणसँग जानकार छु र हामीले नेपाललाई हरेक खेलमा, चाहे त्यो ८००० किलोमिटर टाढाबाटै होस्, सबै सहयोग प्राप्त गर्ने कुरा सुनिश्चित गर्न सफल भएका छौं।’

त्यसैगरी, डिजिटल युगमा दर्शकहरूलाई सजिलो पहुँच नहुनु र विशेष गरी यो परिमाणको प्रतियोगितामा आफ्नै टोलीको खेल हेर्नबाट वञ्चित हुनु अनुचित हुने एडप्याडका प्रबन्ध निर्देशक सुरज गिरीले बताएका छन्।

‘हामी जोहरासँग साझेदारी गर्न पाउँदा र नेट टिभीमार्फत सबै मोबाइल उपकरण र ल्यापटपहरूमा आइसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्रतियोगिता उपलब्ध गराउन पाउँदा गर्व गर्छौं र आगामी दिनहरूमा यस्तै थप सहकार्यहरूको अपेक्षा गर्दछौं।’

यस्तै, नेट टिभीका अध्यक्ष मनोज अग्रवालले नेपाल प्रथम पटक विश्वकप छनोट प्रतियोगितामा पुग्दा ती सबै खेलहरुका प्रत्यक्ष प्रसारण नेट टिभि एप र वेबसाइटमा निःशुल्क गर्न पाउँदा गौरवान्वित महसुस गरेका बताएका छन्।