
एक जना लगानीकर्ता पुरुषोतम ढकालले गुनासो गरे ‘मैले किनेपछि सेयरको मूल्य घट्छ, बेचेपछि मूल्य बढ्छ ’
धेरै लगानीकर्तालाई यस्तै लाग्छ। सेयर किनेपछि भाउ घट्छ। विक्री गरेपछि भाउ बढ्छ। छोटो अवधिमा नै कमाउने उदेश्य राखेर लगानी गर्ने लगानीकर्ताले यस्तो गुनासो गर्ने गर्छन्। यस्तो गुनासो गर्नेलाई मेरो सुझाव छ ‘सेयर किनेपछि लामो अवधि होल्ड गर्नुपर्छ, अनि कमाई हुन्छ।’
सेयर किनेपछि नाफाको लक्ष्य प्राप्तनभए सम्म होल्ड गर्ने हो। बढेको बेलामा किन्ने अनि घटेको बेला बेच्ने गरेपछि त घाटा भै हाल्छ नि! घटेको बेलामा किन्ने र बढेको बेलामा बेच्ने गरे घाटा हुँदैन। कम्तीमा पाँचवर्ष होल्ड गर्न नसक्नेले सेयरमा पैसा लगाउनु हुंदैन। नाफा नहुन्जेल कुर्छु भन्ने हो भने मात्रै सेयरमा लगानी गर्ने हो। सुन्तला फल्न पनि त समय लाग्छ नी। यस्तै ठान्नुपर्यो सेयरको लगानी लाई।
मैले यस्तो सुझाव दिएपछि ढकालले लामो अवधिका लागि सेयर किन्ने योजना बनाएका छन्। ‘हो, अब लामो अवधिका लागि नै सेयर किन्नु पर्ला।’
नेपालको सेयर बजार अब बढला ? लगानीकर्ताले सधैं गर्ने अर्को प्रश्न हो यो। यो प्रश्नको उत्तर सिधा छ ‘छोटो अवधिका लागि सेयर किनेर कमाउने चाहना राख्नु भएको छ भने यस्तो इच्छा पुरा नहुन पनि सक्छ। लामो अवधिका लागि सेयर किन्नु भएको छ भने कमाउने निश्चित जस्तै हुन्छ।’
लामो अवधि भनेको कम्तीमा पनि पाँच वर्ष राख्नुस। सेयर किनेपछि नाफा नभै विक्री नै नगर्नुस घाटा लाग्ने कुरै हुँदैन। नाफा कति गरेपछि विक्री गर्ने भन्ने लक्ष्य बनाउनुस।

बजार त कहिले घट्छ। कहिले बढ्छ। तर दीर्घकालमा बजार बढने नै हुन्छ। नेपालको सेयर बजारमा एकै दिन पाँच अर्ब रुपैयाँको कारोवार भएछ। इन्डेक्स पनि २०३७ मा पुगेछ। विश्वभरको सेयर बजार ६ महिनादेखि नै बुलिस मोडमा छ। नेपालको सेयर बजार पनि अब वुलिस ट्रेन्डमा प्रवेश गरेको हो की जस्तो छ। बजारमा लगानीकर्ताले मूल्य बढेमात्रै कमाउने गर्ने अनि बजार बढ्नै नहुने विज्ञहरुको समूहको टाउको दुखेन भने बजार अब बुलिस मोडमा गएको देखिन्छ।
हुन त जहिले पनि विज्ञ र जानकारहरुले बजार बढनै नहुने प्रयास गर्दै आएका छन्। बजार बढन र विकास हुनै नदिनेलाई दवाव दिन अब नेपालका लगानीकर्ता पनि संगठित भएका छन्। अब यो संगठित शक्तिले बजारको विकास हुन नदिने विज्ञहरु र नीति निर्माताहरुलाई राम्रै दवावमा राख्ने देखिन्छ।
यसैले पनि अब बजार वुलिस ट्रेन्डमै रहला। ‘हाईयर हाई’ नबनाए सम्म बजार वुलिस ट्रेन्डमा गैसकेको मान्न भने सकिंदैन। नेपाली बजार अहिले सम्म ‘लोअर लो’ कै चरणमा छ। व्याजदर अब नबढने बरु घटने अवस्थाले बजारलाई बुलिस मोडमै राख्न सक्छ की जस्तो छ।
अर्थतन्त्रका सूचकमा पनि सुधार हुँदै गएको छ। अझ रेमिट्यान्समा आधारित अर्थतन्त्रमा भित्रने रेमिट्यान्स बढेपछि अर्थतन्त्र अझ चलायमान हुने नै छ। पर्यटकको आगमन पनि बढ्दै गएको छ। उद्योग,व्यापारमा पनि सुधार भैरहेको छ।
सेयर बजार बढ्नका लागि व्याजदर घटनुपर्ने हुन्छ। अहिले संसारभर नै व्याजदर उच्च छ। मूल्यवृद्धिलाई नियन्त्रण गर्न विश्वभरका केन्द्रिय बैंकले व्याजदर बढाएका हुन्। अब करिब करिब मूल्यवृद्धि नियन्त्रणमा आईसकेको छ।
अमेरिकाको केन्द्रिय बैंक फेडरल रिजर्भले पनि वुधबार व्याजदर बढाएन। मूल्यवद्धि चार प्रतिशतमा सीमित भएपछि फेडले व्याजदर बढाउने निर्णय स्थगित गरेको हो। अवस्था हेरेर यो वर्ष फेडले व्याजदर झिनो रुपमा बढाउन पनि सक्छ। नबढाउन पनि सक्छ। यो आधारमा हेर्दा व्याजदर अब धेरै बढने देखिंदैन। बरु घटने संभावना नै छ।
नेपालमा व्याजदर उच्च छ। उच्च व्याजदरमा कर्जा लिने घट्छन् नै। कर्जा लिनेक्रम घटेपछि बैंकको आम्दानी पनि घट्छ। यस आधारमा नेपालका बैंकहरुले पनि लामो अवधिसम्म उच्च व्याजदर कायम राख्न सक्दैनन्। व्याजदर अब घटने तहमा पुग्यो भन्ने वित्तिकै लगानीकर्ताले सेयर किन्न थाल्छन्। अहिले विश्वभर र नेपालमा पनि लगानीकर्ताले सेयर किन्न थालेका छन् । माग बढेपछि सेयरको मूल्यपनि बढन थालेको छ।
यसको अर्थ दिन दुई गुणा र रात चौगुणा भएर सेयरको भाउ बढ्दैन। बढ्दै,घटदै र फेरि बढ्दै गरेर सेयरको मूल्य उकालो लाग्ने हो। यसका लागि लामो अवधिका लागि सेयर किनेर राख्नुपर्ने हुन्छ। होल्ड गरिने सेयर किन्दा ऋण लिन भएन। सेयर बजारमा छोटो अवधिका लागि ऋण लिएपनि लामो अवधिका लागि कर्जा लिंदा कमाउन सकिंदैन।
अहिले अधिकांश कम्पनीको सेयर मूल्य प्राथमिक बजार (आइपीओ) कै तहमा आएको छ। नयाँ कम्पनीको आइपीओ भर्न तम्सिन्छन् नेपालभरका सर्वसाधारण। नयाँ कम्पनीमा यस्तो आकर्षण भएपनि स्थापित कम्पनीको सेयर त्यही तहमा आईसक्दा पनि स्टक ब्रोकरकोमा गएर उनीहरु सेयर किन्न चाहँदैनन्।
नयाँ कम्पनीले कहिले कमाउने र कहिले नाफा दिने हो यसको अत्तोपत्तो हुँदैन। तैपनि आईपिओमा एक सय रुपैयाँमा सेयर किन्न आवश्यकता भन्दा बढि नै आवेदन पर्छ। तर लाभांश दिईरहेको कम्पनीको सेयर मूल्य दुई सयमा आईसक्दा पनि यसमा उनीहरुको ध्यान जाँदैन। नयाँ कम्पनीको सेयर एकसय रुपैयाँमा किन्नु भन्दा त लाभांश दिईरहेको कम्पनीको सेयर दुईसय रुपैयाँमा किन्नु फाईदा जनक छ। यो वास्तविकता सर्वसाधारणमा पुग्न नसकेकोले पनि उनीहरु स्टक ब्रोकरकामा सेयर किन्न नआएका हुन्।
आइपीओको सेयर किन्दा मात्रै कमाउन सकिन्छ भन्ने भ्रमले गर्दा पनि सर्वसाधारण दोस्रो बजारमा आकर्षित हुन नसकेका हुन। सेयरको मूल्य बढ्न थालेपछि यसरी बढ्न हुँदैन भनेर कोकोहोलो हुने भएकोले पनि सर्वसाधारण बजारप्रति आकर्षित हुन नसकेका हुन्।
अहिले नेपाली सेयर बजार पनि परिपक्क हुँदै गएको छ। नयाँ स्टक एक्सचेन्ज आउँदैछ। स्टक ब्रोकर थपिंदैछन्। बजारको विकाससंगै अब लगानीकर्ता पनि बजारमा आकर्षित होलान। लामो अवधिका लागि सेयरमा लगानी गर्लान भन्ने विश्वास गर्न सकिन्छ।
(सापकोटा सेयरपुर उपन्यासका लेखक हुन्)