एचआइडीसीएलले ७ अर्ब ऋण स्वीकृत गर्‍यो, जगदुल्लालाई ४ अर्ब र अपर मोदीमा ३ अर्ब

बिजमाण्डू
२०८० जेठ ३२ गते ०९:४७ | Jun 15, 2023
एचआइडीसीएलले ७ अर्ब ऋण स्वीकृत गर्‍यो, जगदुल्लालाई ४ अर्ब र अपर मोदीमा ३ अर्ब


काठमाडौं। हाइड्रोइलेक्टिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडसीएल)ले ७ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ।

Tata
GBIME
NLIC

१०६ मेगावाटको जलविद्युत आयोजना निर्माणका लागि ४ अर्ब रुपैयाँ र ४२ मेगावाटको अपर मोदी ‘ए’ निर्माणका लागि ३ अर्ब रुपैयाँ ऋण दिन लागेको हो। गत साता दुवै आयोजनाका लागि एचइआइडीसीएलले ऋण स्वीकृत गरेको हो।

जगदुल्ला जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) भएर फाइनान्सियल क्लोजर (लगानीको अन्तिम टुंगो)को तयारीमा छ। जगदुल्ला जलविद्यु कम्पनीले ऋण जुटाउनका लागि बैंक तथा वित्तीय संस्थासँग छलफल गरिसकेको छ।

आयोजना निर्माणका लागि करिब २३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। १६ अर्ब रुपैयाँ ऋण  र ७ अर्ब रुपैयाँ इक्विटी (सेयर)बाट जुटाइनेछ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ)  संजय सापकोटाका अनुसार नेपाल इन्फास्ट्रक्चर बैंक लिमिटेडको नेतृत्वमा कन्सोर्टियम फम (सहवित्तीयकरण)बनेको छ।

नविल बैंकले सहवित्तीयकरणको सह-नेतृत्व गर्नेछ।  एचआइडीसीएल, कर्मचारी संचय कोषलगायत अन्य बैंक तथा वित्तीय संस्थाहरु सहवित्तीयकरणमा सहभागी हुनेछन्। ‘यहि असारभित्र फाइनान्सियल क्लोजर सक्ने गरि काम  गरिरहेका छौं,’ सीइओ सापकोटाले भने,’ अर्को वर्षबाट निर्माणमा जानुपर्छ। ढिला गरेर बस्ने छुट छैन। यदि कन्सोर्टियम फर्मका कसैले ढिला गरे विकल्पमा पनि जान पर्ने हुन सक्छ।’

प्रस्तावित आयोजनाको विस्तृत अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन समेत तयार भइसकेको छ। प्राधिकरण मातहतको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडले अध्ययन गरेको हो। प्रस्तावित यो आयोजना डोल्पाको जगदुल्ला र मुडकेचुला गाउँपालिकामा पर्ने जगदुल्ला नदीमा निर्माण हुनेछ। हेडवर्क्स जगदुल्ला गाउँपालिका १ हुरिकोटमा निर्माण हुनेछ।

आयोजना अर्ध जलाशययुक्त प्रकृतिको हुनेछ। यो आयोजनाको ६ घण्टासम्म पिकिङ क्षमताको छ। आयोजनाबाट वार्षिक करिब ६१५.३२ गिगावाट आवरबराबरको ऊर्जा उत्पादन हुनेछ। करिब ६.२ किमी टनेलमार्फत डाइभर्ट गरी विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ।

अहिले सो आयोजनासम्म पुग्ने पहुँचमार्ग निर्माणको काम भइरहेको छ। आगामी वर्षबाट निर्माणमा जाने योजना छ। निर्माण थालेको ४ वर्षमा उत्पादन गर्ने लक्ष्य छ। यो आयोजनासँगै कम्पनीले ८४ मेगावाटको जगदुल्ला ‘ए’ जलविद्युत आयोजना समेत निर्माण गर्न अध्ययन गरिरहेको छ। जसको क्षमता ११० मेगावाटसम्म हुन सक्ने अध्ययनले देखाएको छ। यो जगदुल्ला जलविद्युत आयोजनाको क्यासकेड हुनेछ।

अपरमोदी ‘ए’ जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी मातहत निर्माण गर्न लागिएको छ। प्रस्तावित आयोजना गण्डकीको मोदी खोला बेसिनमा निर्माण हुनेछ। यो नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको आयोजना हो।

आयोजना कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्छ। यो आयोजना निर्माणका लागि टेण्डर आह्‍वान भइसकेको थियो। तर आवेदन दिएका कुनै पनि कम्पनी पास हुन नसकेपछि टेण्डर रद्द गरिएको छ। चालु आर्थिक वर्षभित्रै पुन: टेण्डर निकाल्ने गरि काम भइरहेको मोदी जलविद्युत कम्पनी प्रबन्ध निर्देशक सूर्य पौडेलले बताए। उनका अनुसार अहिले  टेण्डर निकाल्न तयारीको काम भइरहेको छ।

यो आयोजना निर्माणका लागि १० अर्ब रुपैयाँ (ब्याजसहित) लाग्ने अनुमान गरिएको छ।  निर्माण थालेको करिब ४ वर्षमा व्यवसायी उत्पादन नै थाल्ने योजना छ।  कम्पनीले १८ मेगावाटको अर्को आयोजना पनि प्रवर्द्धन गर्न लागेको छ।