बजेटले भन्सार महसुल दोब्बर बढेपछि व्यवसायीहरुले सुकुमेल आपूर्तिकर्तासँग खरिद सम्झौता रद्द गर्न थाले

अनन्तराज न्यौपाने
२०८० जेठ ३१ गते १७:१६ | Jun 14, 2023
बजेटले भन्सार महसुल दोब्बर बढेपछि व्यवसायीहरुले सुकुमेल आपूर्तिकर्तासँग खरिद सम्झौता रद्द गर्न थाले


विराटनगर। अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक ऐनमार्फत सुकुमेलको भन्सार महसुलमा दोब्बर वृद्धि गरेपछि व्यवसायीले ग्वाटेमालाका आपूर्तिकर्तासँग खरिद सम्झौता रद्द गर्न थालेका छन्।

Tata
GBIME
NLIC

अर्थमन्त्री डा. महतले नयाँ बजेटमा सुकुमेलको आयात महसुल १० प्रतिशतलाई बढाएर २० बनाएका छन्। यसका कारण ठुलो घाटामा पर्ने भन्दै व्यवसायीले सम्झौता नै रद्द गरेका हुन्।

जेठ १५ यता विराटनगर र वीरगञ्जका व्यापारीले गरी ३ सय कन्टेनरभन्दा बढी सुकुमेलको सम्झौता रद्द गरिसकेको आयातकर्ताको दाबी छ। त्यस्तै व्यवसायीले बढेको महसुल तिरेर सुकुमेल छुटाउन नसक्दा वीरगञ्ज र विराटनगर भन्सारमा सुकुमेलका कन्टेनर एक हप्तादेखि रोकिएका छन्। वीरगञ्जको सुक्खा बन्दरगाहमा १३ र विराटनगरमा ५ वटा कन्टेनर खडा रहेको व्यवसायीको दाबी छ।

व्यवसायीका अनुसार नेपालका लागि आयातको प्रक्रियामा रहेको मालवस्तु कोलकाता बन्दरगाहसम्म आइपुगेको छैन भने समुद्री मार्गबाट फिर्ता गरेर सौदा रद्द गर्न सकिन्छ। साथै सिपमेन्ट नै भएको छैन भने पनि सौदा रद्द हुन्छ। व्यवसायीले यही सुविधाको फाइदा उठाउँदै सुकुमेलको सौदा रद्द गरेका हुन्।

विराटनगरका आयातकर्ता हेमकरण दुगडका अनुसार जेठ १४ सम्म सुकुमेल आयात गर्दा भन्सार विन्दुमा ४ सय रुपैयाँ राजस्व तिर्नुपर्थ्यो। जेठ १५ पछि ६ सय रुपैयाँ भएको छ। २० फिटको एक कन्टेनरमा १० टन सुकुमेल हुन्छ।

आयात महसुल वृद्धि भएपछि एक कन्टनेरमा २० लाख रुपैयाँको खर्च बढेको छ। एक कन्टेनर सुकुमेल भन्सारबाट छुटाउँदा ४० लाख लाग्थ्यो भने अब ६० लाख लाग्न थालेको छ। त्यसैले व्यवसायीले सौदा धमाधम रद्द गरेका हुन्। उनले आफूले पनि सुकुमेलको सौदा रद्द गरेको जानकारी दिए।

वीरगन्जका आयातकर्ता मनिष बाबरीले व्यवसायीहरू बढेको महसुल तिर्न तयार रहेको उल्लेख गर्दै सरकारले सुकुमेलको भन्सार मूल्यांकन निर्धारण गर्दा भने यथार्थमा आधारित हुनुपर्ने माग गरे।

आयातकर्ता बाबरीका अनुसार भन्सार विभागले सुकुमेलको भन्सार मूल्यांकन प्रति किलो साढे १२ डलर गरेको छ। भन्सार कार्यालयले यही मूल्यांकनलाई आधार बनाएर जाँचपास गरिरहेको छ। तर, सुकुमेलको निर्यात गर्ने देश ग्वाटेमालाबाट नेपालमा पठाइने मध्यमस्तरको सुकुमेलको मूल्य किलोको ८ डलर मात्र छ।

बाबरीले भन्सार ऐनको दफा १३ अनुसार भन्सार कार्यालयले कुनै पनि मालवस्तुको जाँचपास गर्दा बिलबिजकलाई मान्यता दिनुपर्ने प्रावधानको उल्लंघन गर्दै विभागको डेटाबेसलाई आधार बनाएको गुनासो गरे।

‘भन्सार कार्यालयले सुकुमेलको कारोबार मूल्यमा महसुल लिने हो भने हामी सास फेर्नसम्म पाउँछौं,’ उनले भने, ‘तर मेरो गोरुको बाह्रै टक्का भनेजस्तो कार्यालयले डेटाबेसलाई नछाडेपछि व्यवसायीले ठुलो घाटा सहनुपरेको छ।’

कारोबार मूल्य अर्थात प्रति किलो ८ डलरमा भन्सार महसुल र भ्याट लिँदा व्यवसायीले ३८० देखि ३८५ रुपैयाँ राजस्व बुझाउनुपर्ने हुन्छ। जबकि प्रति किलो साढे १२ को मूल्यांकनमा ६०० रुपैयाँ राजस्व लागिरहेको छ।
वीरगञ्जका अर्का व्यवसायी विजयसिंह सेठियाले आफूले हालसम्म सिपमेन्ट नभएको तथा समुद्री मार्गमा रहेको सुकुमेलको सौदा रद्द गरेको जानकारी दिए।

आयातकर्ता सेठियाले वीरगञ्जको सुक्खा वन्दरगाह भन्सारमा पनि धेरै आयातकर्ताको सुकुमेल एक हप्तादेखि रोकिएको बताए।
सेठियाका अनुसार भन्सार महसुलमा दोब्बर वृद्धि भएपछि आयातकर्ताहरू माल छुटाउन रकमको जोहोमा लागेका छन्। यसका कारण भन्सार परिसरमा सुकुमेल रोकिएको हो।

मोरङ व्यापार संघका पूर्व अध्यक्ष एवम् आयातकर्ता खेमचन्द जैनले अब नेपालमा आयातित सुकुमेल भारत जान नसक्ने बरु भारतबाटै नेपालतर्फ आउने जिकिर गरे।

उनले आफूले बजेटअगाडि २ कन्टेनर सुकुमेलको एलसी खोलेको तर बजेट आउनेबित्तिकै त्यसलाई रद्द गरेको उल्लेख गरे।
पूर्व अध्यक्ष जैनले नेपालमा किलोको १७ सयमा बिक्री गर्दा पनि सुकुमेलमा घाटा रहेको तर भारतमा किलोको १५ सयमा कारोबार भइरहेको जानकारी दिए।

‘हामी सुकुमेलको भन्सार मूल्यांकन घट्नुपर्छ भनेर प्रयासरत थियौं,’ जैनले सुनाए, ‘हामीले कारोबार मूल्यलाई मान्यता दिनपर्छ भन्ने माग गरेका थियौं। भन्सारको सन्दर्भ मूल्यसूचीमै मूल्य उल्लेख गर्नुपर्छ भने पनि उचित ढंगले गरिनुपर्छ भन्ने हाम्रो माग थियो। अहिले ग्वाटेमालामा सुकुमेलको मूल्य किलोको ८ डलर छ। नेपालको भन्सारमा पनि यही मूल्यांकन कायम गरिनुपर्छ भन्ने हामीले अनुरोध गरेका थियौं। तर, यो अुनरोधको वास्तै नगरी उल्टै भन्सार महसुलमा दोब्बर वृद्धि गरेर हामीलाई संकटमा पारिएको छ।’

उनले छिमेकी भारतमा सुकुमेलको भन्सार मूल्य भारु ५ सय मात्र गरिएको र यस हिसाबले किलोको ६ डलर मात्र पर्ने चर्चा गरे। जबकि नेपालमा किलोको साढे १२ डलर मूल्यांकन छ।

जैनले भारतले कारोबार मूल्यभन्दा कमको मूल्यांकन गरेको तर भन्सार महसुल ७० प्रतिशत निर्धारण गरेको बताए।
उनको कथन थियो, ‘हाम्रो विरोध महसुलको निर्धारणमा होइन, अनुचित मूल्यांकनका प्रति हो। महसुलको निर्धारण गर्ने सरकारको हक हो तर कारोबार मूल्य निर्धारण गर्ने अधिकार उसमा छैन। सरकारले जबर्जस्ती गरेको छ।’

जैनले मोरङ व्यापार संघ र वीरगन्ज उद्योग वाणिज्य संघले भन्सार विभाग र अर्थ मन्त्रालयसमक्ष सुकुमेलको आयातमा कारोबारमूल्यलाई मान्यता दिन पटकपटक लिखित र मौखिक अनुरोध गरे पनि कुनै सुनवाइ नभएको गुनासो गरे।

विराटनगरमा सुकुमेलका आयातकर्ताहरू दिनेश राठी, हेमकरण दुगड, रतन अग्रवाल, विमल जाजोदिया अग्रवाल, जगदीश अग्रवाल, शंकरलाल अग्रवाल, नन्दकिशोर राठी, बजरंग बाहेती, खेमचन्द लालबानी, प्रियंक लालबानी लगायत छन्।

त्यस्तै, वीरगञ्जमा विजयसिंह सेठिया, मनीष बाबरी, मनीष अग्रवाल, लोकेश जैन, पशुपति खण्डेलवाल लगायतले सुकुमेलको आयात गरेका छन्।