
काठमाडौं। बुधबार दिनभर हरियो रहेको बजारले एकाएक ५० अंक गुमाएको छ। बन्द हुन भन्दा आधा घण्टा अघिको व्यापक गिरावट अर्को १० मिनेटमै पुनरागमन समेत भएको छ। अन्तिम प्रहरको अनपेक्षित घटबढबीच बजार अन्तत: बन्द हुँदा १६.४२ अंकले बढेको छ।
एकातिर बढ्दो तरलता र घट्दो ब्याजका कारण लगानीकर्ता सेयर बजारमा आकर्षित छन् भने केही समययता बजार निरन्तर उकालो लागेका कारण नाफा बुक गर्न पनि उनीहरु व्यस्त देखिन्छन्। बढ्दो बनोबलबीच नाफा बुक गर्ने प्रवृत्तिका कारण बजारमा अस्वभाविक उतारचढाव देखिएको हो।
आज सानो अन्तरालको व्यापक चलखेलले बलियो भनी अनुमान गरिएको बजारको मनोबल जुनसुकै बेला कमजोर हुने देखाएको छ। अहिलेको वृद्धिलाई लगानीकर्ताले शंकाको नजरले हेरेका छन्। थोरै घट्ने वित्तिकै व्यापक रुपमा उनीहरु बिक्रीका लागि बस्ने गरेका छन्। फेरि अलिकति बढ्ने वित्तिकै उनीहरु किन्नका लागि उत्ताउलो पनि देखिएका छन्।
व्यापक उतारचढावले कारोबार रकम ५ अर्ब रुपैयाँ नाघेको छ। नभए बजार हिजो भएकै ४ अर्बको कारोबार हाराहारीमा सीमित हुने थियो।
बजार आज खुलेदेखि नै कन्फिडेन्ट देखिएको थियो। निरन्तर बढेर २०६६ सम्मको विन्दुमा उक्लिएको थियो बजार। यसबीच ४६ अंक बढीले उक्लेको थियो। अघिल्लो दिन सूचक दुई हजार विन्दु नाघेकाले पनि लगानीकर्ता बिहानैदेखि बजार बढ्छ भन्ने ढुक्क देखिएका थिए।
अझ कारोबार रकमले पनि साथ दिँदा बढ्छ भन्ने हिजै लगभग लय थियो। त्यसअघि नै पोजिसन लिएका बजार निश्चित बढ्नेमा ढुक्क थिए। बजारले दुई हजार ब्रेकआउट दिएपछि किन्छु भन्ने मनोभावले बिहानैदेखि बिक्रेता बजारमा हाबी थियो। त्यसैले पनि खुलेलगत्तै सूचक फराकिलो छलाङले बढ्न सुरु गरेको थियो।
बजारको सेन्टिमेन्ट यस्तो बलियो थियो कि लगभग कारोबारमा आएका सबैजसो सेयरको मूल्य बढेको थियो। बुलिस ह्विमले गर्दा लगानीकर्ता अझै थप्न राजी समेत थिए। तर जब बजारको आत्मविश्वाश चरम विन्दुमा थियो, त्यही टाठाबाठाले चलखेल सुरु गरेर बिक्री बढाउँदा सूचक तल झरेको एक विश्लेषकले बताए। बजार करेक्सनको मुडमा भने गइसकेको थिएन।