
काठमाडौं। भैरहवा अझ लुम्बिनी प्रदेशकै भव्य प्रोपर्टी हो, ‘टाइगर प्यालेस’। क्यासिनोसहितको पाँचतारे रिसोर्ट नेपालका व्यवसायिक घरानादेखि सीमापारी भारतीयका लागि आकर्षणको केन्द्र बनेको थियो।
टाइगर प्यालेस यतिसम्म चल्यो की काठमाडौंबाटै ठूला कर्पोरेट घराना आफ्नो भैरहवामा रहेको प्रोजेक्टमा जाँदा होस् वा बिदा नै मनाउन पहिलो रोजाइ नै यही रिसोर्टलाई बनाउँथे। नेपालमा संचालित मध्येकै सबैभन्दा ठूलो क्यासिनो टाइगर प्यालेसमा थियो। त्यही भएर रिसोर्टमा भारतीयको लर्को लाग्थ्यो।
भारतीयहरु प्राय: आफू क्यासिनो खेल्ने र परिवारका अन्य सदस्य तथा बालबच्चाहरुलाई स्वीमिङ पुल लगायतका मनोरञ्जनात्मक गतिविधिमा भुलाउँथे। अस्ट्रेलियाको लिस्टेड कम्पनी सिल्भर हेरिटेजले बनाएको रिसोर्टको व्यापार सुरुवातका वर्षमा उत्साहजनक थियो।
रिसोर्टमा प्राइम बैंकको २ अर्ब ५० करोड र विदेशी लगानीकर्ताको २ अर्ब ५० करोडसहित पाँच अर्ब रुपैयाँ लगानी छ। झण्डै ८ सय रोजगारी रिसोर्टले दिएको छ। हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालिले १५ बिघा क्षेत्रफलमा रिसोर्ट संचालन गरिरहेको छ।

तर, अचानक भव्य र व्यवसायमा चमक देखिएको टाइगर प्यालेस विवादै विवादले घेरिन थाल्यो। एउटा होइन, बारम्बार पटक-पटक अर्बौं लगानी जोखिम मै पर्ने गरी रिसोर्टमाथि प्रहार हुन थाल्यो। हुन त रिसोर्ट निर्माण थालेसँगै विवाद सुरु भएको थियो। रिसोर्ट २०७४ मंसिरदेखि संचालनमा आएको थियो।
स्थानीय साझेदारको रुपमा सिल्भर हेरिटेज समूहले राजेन्द्र बजगाईं र उनका भाइ नवराज बजगाईंलाई १० प्रतिशत सेयर स्वामित्व दिएको थियो। तर, बजगाईं दाजुभाइका कारण विवाद सृजना भयो। कामै गर्न अप्ठेरो भएपछि बजगाईं दाजुभाइलाई साझेदारबाट हटाउनुपर्ने निष्कर्षमा सिल्भर हेरिटेज पुग्यो।

होटलमा काम गर्ने विदेशी कामदारले श्रम अनुमति नलिएको भन्दै उजुरी गर्नेदेखि होटलको पानी सिधै बाहिर फालेको आरोप लगाएर दु:ख दिँदै आएको आरोप सिल्भर हेरिटेज व्यवस्थापनले खेप्यो। धेरै ठूलो विवाद भएपछि स्थानीय साझेदार राजेन्द्र बजगाईं दाजुभाइलाई बिदा गरेको थियो। उनीहरुलाई बिदा गरेपछि पनि रिसोर्टको विवाद कम भएन बरु थप बल्झियो।
एकपछि अर्को विवादमा पारेपछि सिल्भर हेरिटेज नेपालबाट बाहिरिन चाह्यो। रिसोर्ट बेचेर बाहिरिन पनि सिल्भर हेरिटेजलाई सहज भएन। सिल्भर हेरिटेजले रिसोर्ट बेच्न धेरै व्यवसायिक समूहसँग सम्झौता गरे पनि विभिन्न बखेडा झिकेर रोकियो।
बजगाईं दाजुभाई बाहिरिएपछि टाइगर प्यालेस किन्न चौधरी समूहदेखि आइएमई, विशाल समूहले खोजेका थिए। तर विवादले उनीहरु तर्किए।
त्यतिबेलै मोफसलबाट उदाएका ट्याक्टर व्यवसायी बालकृष्ण भुसाल पनि रिसोर्ट किन्ने दौडमा लागेका थिए। तर, त्योबेला इन्द्रबहादुर थापासँग रिसोर्ट किन्न प्रारम्भिक सम्झौता भयो।

तर, व्यवसायिक जगतमा नामै नसुनिएका थापाले ३ करोड ३९ लाख अमेरिकी डलर अर्थात तत्कालीन ३ अर्ब ७५ करोड रुपैयाँको बोली लगाएका थिए, तर पैसा जुटाउन भने सकेनन्। त्यसपछि डिल कोल्याप्स भयो।
त्यसको दुई वर्षपछि फेरि भुसाल समूहले खरिदका लागि पहल गरेर प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेको थियो। यो हस्ताक्षर भएपछि टाइगर प्यालेस रिसोर्टले सार्वजनिक जग्गा मिचेको भन्दै जिल्ला अदालत रुपन्देहीमा मुद्दा पर्यो। यो मुद्दा मिलाएर रिसोर्ट लिने प्रक्रिया भुसालले अघि बढाएका थिए।
तर, जिल्ला अदालतमा मुद्दा हारेपछि भुसालले पनि रिसोर्ट सकार्न सकेनन्। ‘विदेशी लगानीकर्तालाई हत्तोसाहित बनाएर कौडीको मोलमा किन्ने हत्कन्डा मच्चाएका छन्। त्यही भएर कुनै पनि राम्रा समूहले यो रिसोर्ट किन्न सक्दैन,’ भैरहवामा व्यापार गरिरहेका एक व्यवसायीले भने।
मुद्दा मात्रै होइन रिसोर्टका प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभरलाई क्यासिनोवापतको बक्यौता नतिरेको भन्दै अध्यागमनबाटै पक्राउ गरियो। उनी १४ करोड बैंक ग्यारेन्टी बुझाएर आफ्नो देश फिर्ता भए। विदेशी लगानीकर्तालाई ह्यारेस गरेर होटल हत्याउन सबै किसिमको हर्कत भएको ती व्यापारी बताउँछन्।
मुद्दा दायर गर्दै प्रोपर्टीलाई ध्वस्त बनाउने काम प्रोपर्टीमा लफडा देखाएर नयाँ खेलाडीलाई आउनै नदिनेसम्मको हर्कत भएको स्रोत बताउँछ।
‘अदालती मुद्दा मामिलापछि लगानीकर्ता त के त्यहाँको व्यवस्थापनले पनि त राम्रोसँग काम गर्न सक्दैन। त्यसैकारण रिसोर्टको व्यवसाय अझै लयमा फर्किसकेको छैन। विवादै विवादमा पारेर यस्तो महत्त्वपूर्ण प्रोपर्टीलाई कबाडी बनाउन खोजिएको छ,’ स्रोतले भन्यो।
उक्त मुद्दामा जिल्ला अदालतले २०७९ माघमा सार्वजनिक जग्गा अतिक्रमण गरेको ठहर गर्दै जग्गा खाली गर्न आदेश दियो। सार्वजनिक जग्गा मिचेर संरचना निर्माण गरेकाले खाली गर्न भन्दै स्थानीयले दिएको निवेदनउपर जिल्ला अदालत रुपन्देहीका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासले उक्त फैसला सुनाएको थियो।
१५ बिघा क्षेत्रफलमध्ये १ बिघा ३ कट्ठा सरकारी सार्वजनिक जग्गा मिचेर दर्जनौं संरचना बनाएको अदालतले ठहर गर्यो। जसमा क्यासिनो, सभाहल, स्वीमिङ पुल, रेस्टुरेन्ट संचालित छन्।
रिसोर्टले तत्कालीन भैरहवा लुम्बिनी भूमिगत जल (भैलुभुज) परियोजनाको सार्वजनिक जग्गा र राजकुलो तथा सार्वजनिक कुलो मिचेर संरचना बनाएको उल्लेख गर्दै त्यसलाई खाली गरी उक्त जग्गा पुनः सार्वजनिक प्रयोगमा ल्याउन माग गर्दै त्यसबेलाको लुम्बिनी नलकुप जल उपभोक्ता समितिकोतर्फबाट अध्यक्ष थानेश्वर घिमिरेले रिट दायर गरेका थिए।

अरु पाँचतारे होटल कोरोनापछि तंग्रिए तर, टाइगर प्यालेस उठ्नै सकेन
देशभर संचालित अरु पाँचतारे होटल कोरोना महामारीको धक्काले केही वर्ष धरासायी बनेपछि विस्तारै लयमा फर्किइसकेका छन्।
पर्यटन आवागमनमा सुधारपछि काठमाडौंसहित अरु क्षेत्रका पाँचतारे होटल लयमा फर्किंदै गएका छन्। तर, टाइगर प्यालेस भने अझै कोरोनाको ह्याङओभरबाट मुक्त हुन सकेको देखिँदैन। किनकि कोरोना महामारीसँगै टाइगर प्यालेसलाई विवादै विवादले सहज संचालनमा बाधा पुर्याइरहेको छ।
काठमाडौं नक्सालमा संचालित होटल मेरियटको कारोबार एकैवर्ष ७२ करोड ६० लाख रुपैयाँले बढेको छ। नक्सालमा रहेको पाँचतारे होटल मेरियटले २०२१/२२ मा १ अर्ब २ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ। अघिल्लो वर्ष २०२०/२१ मा २९ करोड ८० लाख रुपैयाँमा कम्पनीको कारोबार सीमित भएको थियो। २०१९/२० मा कम्पनीले ८३ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो। कोरोनापछि यो होटलले आकर्षकरुपमा बाउन्स ब्याक गरेको छ।
यस्तै, झापाको बिर्तामोडमा दुई अर्बको लागतमा संचालनमा आएको पाँचतारे होटल ‘किङ्सबरी’ ले सन् २०२१/२२ को आठ महिनामा ५ करोड १७ लाख रुपैयाँको व्यापार गरेको छ। यो होटलको पछिल्लो वित्तीय विवरण पनि सन्तोषजनकरुपमा बढिरहेको बताइएको छ।
त्यसैगरी, सिटी होटल लिमिटेडले सन् २०२१/२२ १९ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ।
यता टाइगर प्यालेसले सन् २०२१/२२ मा ७ करोड ६५ लाख रुपैयाँको व्यापार गरेको छ। रिसोर्टको व्यापार २०२०/२१ मा घटेर १ करोड ६३ लाख रुपैयाँमा खुम्चिएको थियो। कोरोना महामारीअघि रिसोर्टको व्यापारमा निकै चमक थियो। तर, लकडाउनका कारण होटलको व्यापार निकै घट्न पुग्यो।

२०१९/२० मा रिसोर्टले ५९ करोड २५ लाख, २०१८/१९ मा ७४ करोड र २०१७/१८ मा ३६ करोड १८ लाख रुपैयाँको व्यापार गरेको थियो। कोरोना हटेर अवस्था सहज हुँदा अरु होटल तथा रिसोर्टको व्यापार चम्किएको भए पनि टाइगर प्यालेस भने कारोबारमा निकै सुस्त देखिन्छ।