
काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनलाई आफ्नाविरुद्ध भूराजनीतिक हिसाबले टार्गेट भएको भान परेपछि चिनियाँ एयरलायन्सले उडानका लागि तयारी थालेका छन्।
आफ्नो ऋण लगानीमा बनेको यो विमानस्थलविरुद्ध भारतले अनर्गल प्रचारप्रसार गर्दै भ्रम सिर्जना गरेको निष्कर्षसहित चिनियाँ एयरलाइन्सले उडानका लागि अध्ययन थालेका हुन्। यो विमानस्थल निर्माणका लागि चीनले २२ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ। चिनियाँ एक्जिम बैंकको ७५ प्रतिशत ऋण र २५ प्रतिशत अनुदानमा यो विमानस्थल निर्माण भएको हो।
विमानस्थल संचालनमा आएको केही दिनमै यती एयरलाइन्सको जहाज दुर्घटना भएपछि भारतीय संचारमाध्यमले चीन विरुद्धमा एकपक्षीय समाचार सम्प्रेषण गरेका थिए। भारतले चीनको ऋणमा बनेको भन्दै पोखराबाट आफ्नो देशमा उडान गर्न दिएको छैन।
अत्याधुनिक पूर्वाधारसहितको निर्माण भए पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले बिजनेस नपाउनुमा भूराजनीतिक कारण केलाउँदै चीन सरकारकै पहलमा विभिन्न एयरलाइन्सले उडानका लागि अध्ययन थालेका हुन्।
बुद्ध एयरले यो विमानस्थल संचालनमा आउनेवित्तिकै भारतका विभिन्न स्थानमा उडान गर्ने भन्दै भारतीय उड्डयन प्राधिकरणसँग प्रस्ताव गरेको थियो। उक्त प्रस्तावलाई भारतले बेवास्ता मात्रै गरेन, अस्वीकृत समेत गर्यो। अत्याधुनिक पूर्वाधारसहितको निर्माण भए पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले बिजनेस नपाउनुमा भूराजनीतिक कारण केलाउँदै चीन सरकारकै पहलमा विभिन्न एयरलाइन्सले पोखरा विमानस्थलमा उडानका लागि अध्ययन सुरु गरेका हुन्।
चीनको चाइना साउदर्न, चाइना इस्टर्न, एयर चाइना, सिचुआन एयरलाइन्सले अध्ययन सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
‘भारतले टार्गेट बनाएकै कारण जसरी पनि यो विमानस्थल प्रभावकारी रुपमा संचालनमा ल्याउन चीन लागेको छ,’ नेपालस्थित चिनियाँ दूतावास स्रोतले भन्यो, ‘नेपालीप्रति चिनियाँ लगानीप्रति वितृष्णा छर्न भारत अग्रसर देखिन्छ,’ दूतावासका एक उच्च अधिकारीले भने, ‘त्यसलाई निरुत्साहित गर्न हामीले आफ्ना एयरलाइन्सलाई उडानका लागि अध्ययन गर्न भनेका छौं।’
त्यही योजना अनुसार सुरुवातमा चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले चार्टर उडान गर्दैछ। नेपाल-चीन मैत्री ड्रागन बोट फेस्टिबलका लागि भन्दै चार्टर गर्न लागेको हो। यद्यपि यसको उदेश्य पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्नु रहेको चिनियाँ दूतावास स्रोतले बतायो। प्राधिकरण समेत सिचुवानको चार्टर उडानले अरु विमान कम्पनीलाई विश्वास बढाउन सहयोग पुर्याउने भन्दै उत्साहित छ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला सिचुवानको उडानले चिनियाँसँगै नेपाली र विदेशी वायुसेवा कम्पनीमा विश्वसनीयता ल्याउने बताउँछन्।
‘यो विमानस्थल संचालनमा आएसँगै चिनियाँसँगै नेपाली-विदेशी वायुसेवा कम्पनीले अध्ययन सुरु गरिसकेका छन्। त्यहाँका धेरै एयरलाइन्सले यो विमानस्थलमा उडान गर्न चाहेको देखिन्छ,’ उनले भने,’यो विभिन्न मुलुकका यात्रु र चालकदलका लागि आकर्षण हुनेछ।’
उनका अनुसार चिनियाँसँगै कोरियाको कोरियन एयर, बंगलादेशको विमान बंगलादेश, भुटानको ड्रुक एयरले यो विमानस्थलबाट व्यवसायिक उडानका लागि अध्ययन गरिरहेका छन्। हिमालय एयरलाइन्सले पनि पोखराबाट चीनका विभिन्न सहरमा नियमित व्यवसायिक उडान सुरु गर्नका लागि अध्ययन थालेको छ।
सिचुवान एयरलाइन्सले गर्न लागेको चार्टर उडानले उड्डयन उद्योगमा प्रचार प्रसार हुने पोखरा विमानस्थल प्रमुख विक्रम गौतमले बताए। ‘सिचुवानको चार्टर उडानले एउटा विश्वसनीय वातावरण सिर्जना बन्ने भएको छ। यो विमानस्थलमा चार्टर र नियमित अन्तर्राष्ट्रिय उडान संचालनका लागि भन्सार, सुरक्षा, क्याटरिङ, टर्मिनल भवन लगायत सबै निकाय तयार अवस्थामा छौं। हामीले विभिन्न वायुसेवाले माग गरेअनुसार आफ्नो सेवा सम्बन्धि जानकारी दिँदै आएका छौं,’ उनले भने।