‘भाइरल मन्त्री’को गैरकानुनी निर्णय, रामेश्वर थापाको सिम्रिकलाई हेलिपोर्ट बनाउन स्वीकृति

बिजमाण्डू
२०८० जेठ ३० गते १२:४८ | Jun 13, 2023
‘भाइरल मन्त्री’को गैरकानुनी निर्णय, रामेश्वर थापाको सिम्रिकलाई हेलिपोर्ट बनाउन स्वीकृति


काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निजी क्षेत्रको हेलिकोप्टर कम्पनी सिम्रिक एयरलाई ऐनविपरीत हेलिपोर्ट निर्माण अनुमति दिएको छ। पर्यटनमन्त्री सुदन किरातीले मन्त्रिस्तरीय निर्णय गर्दै सिम्रिकलाई हेलिपोर्ट निर्माणको अनुमति दिएका हुन्।

Tata
GBIME
NLIC

भ्रष्टाचारविरुद्ध चर्का भाषण गरेर चर्चामा आउने गरेका किरातीले कुनै प्रतिस्पर्धाविनै एउटा कम्पनीलाई हेलिपोर्ट निर्माण गर्न दिएका छन्। ‘निजी कम्पनीलाई हेलिपोर्ट निर्माण गर्न दिँदा प्रतिस्पर्धाविना दिनै मिल्दैन। यो निर्णय गैरकानुनी हो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘मन्त्री बाहिर तालीका लागि उत्तेजक भाषण गर्ने तर भित्रभित्रै जस्तो पनि निर्णय गर्नसक्ने चरित्रका रहेछन्।’

सिम्रिक एयरका संचालक रामेश्वर थापा हुन्। उनको प्रस्तावित हेलिपोर्टका विषयमा रक्षा मन्त्रालयले सुरक्षा चुनौती हुने भन्दै राय दिएको थियो। तर त्यसलाई पनि मन्त्री किरातीले बेवास्ता गरेका छन्।

सिम्रिकले काभ्रेको राउत गाउँमा हेलिपोर्ट निर्माण गर्न मन्त्रालयमा प्रस्ताव गरेको थियो। पर्यटन मन्त्रालयले हेलिपोर्ट निर्माणको स्वीकृति दिँदै सहजीकरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई समेत पत्र पठाएको छ।

सिम्रिकले राउत गाउँको इटपु डाँडामा निर्माण गर्न लागेको हेलिपोर्टमा सुरक्षा चुनौती देखिने सम्भावना रहेको भन्दै रक्षा मन्त्रालयले अध्ययन गरेर मात्रै दिन सुझाव दिएको थियो।

रक्षाले नेपाली सेना, प्रधान सेनापतिको कार्यालयबाट गत वैशाख ६ गते  निजी कम्पनीबाट हेलिपोर्ट निर्माण तथा संचालन गर्दा विभीन्न तस्करी तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न चुनौति हुने उल्लेख गरेको थियो।

के छ हेलिप्याड र हेलिपोर्टमा फरक ?

हेलिप्याड हेलिकोप्टर उडान अवतरणका लागि बनाइएको विशेष ठाउँ हो। मुलुकका विभिन्न पर्यटकीय गन्तव्यसँगै रिसोर्ट, होटल, अस्पताल लगायतमा हेलिप्याड संचालन हुँदै आएको छ।

हेलिपोर्टमा भन्सार, मर्मत सम्भार, फ्युल बंकरिङ लगायतका हेलिकोप्टरसँग सम्बन्धित सेवा हुन्छ। त्यहाँबाट हेलिकोप्टर संचालन गर्न दिइन्छ। निजी क्षेत्रको कम्पनीले आफ्नो हिसाबले हेलिपोर्ट निर्माण गरेर अरु कम्पनीलाई सेवा दिन सक्छ।