
काठमाडौं। सोलुखुम्बुमा ४.७ मेगावाटको माथिल्लो जुनवेशी जलविद्युत आयोजना निर्माण हुने भएको छ।
गोर्खाज हिमालयन हाइड्रोले सोलु दुधकुण्ड नगरपालिका भएर बग्ने कोन्जोक र बासा खोलामा यो आयोजना निर्माण गर्न लागेको हो। कम्पनीले उत्पादन अनुमतिपत्रका लागि विद्युत विकास विभाग समक्ष आवेदन दिएको छ। विभागले अनुमतिपत्र दिनु अघि सूचना निकालेर आयोजना निर्माण र संचालन गर्दा कुनै प्रतिकुल असर पर्ने भए ३५ दिनभित्र लिखित राय/सुझाव पेस गर्न सरोकारवाला निकायहरु आग्रह गरेको छ।
यो अर्ध-जलाशययुक्त जलविद्युत आयोजना हुनेछ। यसको डिजाइन बहाव २.८ घनमिटर प्रतिसेकेण्ड र कुल हेड २०० मिटर हुनेछ। आयोजनाबाट वार्षिक सरदर २८.८८ गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुनेछ।
यो आयोजनामा दुई वटा बाँध हुनेछन्। मुख्य बाँध कोन्जोक खोलामा हुनेछ। बासा खोलामा बनेको बाँधबाट कोन्जोक खोलाको बाँधबाट दायाँ पट्टिबाट इन्टेक, ग्राभेल ट्रयाप, क्यानल हुँदै बासा खोलाको डिस्चार्ज बाँधबाट कोन्जोक खोलामा खसालिनेछ। २०३० मिटर मुख्य सुरुङमार्ग निर्माण हुनेछ। ११० मिटर पेनस्टक पाइप राखिनेछ।
२०८३ असोजबाट व्यवसायिक उत्पादन थाल्ने योजना छ।