सहकारीको अर्बौ ठगीको मुद्दा सीआइबीमा, प्रत्येक वर्ष बचतकर्ताको अर्ब रुपैयाँ स्वाहा !

सविन ढकाल
२०८० जेठ २४ गते ०७:५५ | Jun 7, 2023
सहकारीको अर्बौ ठगीको मुद्दा सीआइबीमा, प्रत्येक वर्ष बचतकर्ताको अर्ब रुपैयाँ स्वाहा !

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआइबी) करौडौं रुपैयाँ ठगी भएको सहकारी अनुसन्धानमा जुटेको छ। गम्भीर र विशेष प्रकृतिको अनुसन्धानको लागि खडा भएको सीआइबीले आर्थिक अपराधसँग जोडिएका घटनाको पनि अनुसन्धान गर्छ। तर पछिल्ला समयमा सहकारी ठगीमा धेरै समय सीआइबीले खर्चिएको छ।

Tata
GBIME
Nepal Life

अहिले पनि सीआइबीमा हाई प्रोफाइल सहकारी ठगीका फाइलहरू पुगेका छन्। जसमा केहीको अनुसन्धान भइरहेको छ भने केही सहकारीको फाइल खोल्ने तयारीमा छ। सहकारी विभागबाट खोजीका लागि पुगेको पत्रको आधारमा अनुसन्धान थालेको छ।

ललितपुरको कुमारीपाटीमा रहेको पशुपति बचत तथा ऋण सहकारी संस्थाको फाइल सीआइबीमा पुगेको छ। सहकारीका संचालक कांग्रेस नेता सीबी लामा छन्। लगानीकर्ताको लाखौं रुपैयाँ जोखिममा परेर सम्पर्कविहीन भएपछि पीडितले सहकारी विभागमा उजुरी दिएका थिए। विभागले सहकारीसँग विभिन्न कागजपत्र मगाएको थियो। तर समयमा नै सहकारीले पेस गर्न सकेन। त्यसपछि विभागले अनुसन्धानको लागि सीआइबीलाई गुहारेको थियो।

संचालक लामा अहिले प्रहरीको सम्पर्कमा छैनन्। उनलाई प्रक्रिया मिलाएर अनुसन्धानमा तानिने भएको छ। सीआइबीका प्रमुख एआइजी किरण बज्राचार्यले ठगीको फाइल ब्युरोमा आएकाले अनुसन्धान भइरहेको बताइन्। ‘अब हामी कानुनी प्रक्रियामा अगाडि बढ्छौं,’ उनले भनिन्।

पशुपति सहकारीले कानुनले दिएको अधिकार बाहिर गएर लगानी गरेको देखिएको छ। सहकारीको नाममा रहेको अचल सम्पत्तिबाट मात्र सेवाग्राहीको रकम तिर्ने अवस्था नदेखिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानपछि सहकारीका संचालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने भएको छ।

त्यस्तै करिब १३ सय जना सेवाग्राही ठगिएको शिवशिखर सहकारीको पहिलो चरणको अनुसन्धान सीआइबीले पुरा गरेको छ। रायसहितको प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालय भक्तपुरमा पठाएको छ। जसमा १ हजार २ सय ९२ जना पीडितको उजुरी छ। जसमा ६६ करोड ३१ लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ।

भक्तपुरको कौशलटारमा सहकारीको मुख्य कार्यालय छ। सहकारीका ९ मध्ये ७ जना सञ्चालक फरार छन्। उनीहरू सबैको ठगी प्रकरणमा खोजी भइरहेको छ। सहकारीको काठमाडौं उपत्यकाबाहिर पनि विभिन्न जिल्लामा शाखा छ। ३५ वटा जिल्लामा यसको शाखा छ।

सीआईबीको टोलीले वैशाख २७ गते सहकारीका दुई संचालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। पक्राउ पर्नेमा बाँके कोहलपुरकी गीता शर्मा र बझाङका पुष्कर मल्ल छन्। गीता शिखर अर्गनाइजेसनकी निर्देशक हुन्। उनी सहकारीका पूर्व अध्यक्ष केदारनाथ शर्माकी श्रीमती हुन्। केदार भने फरार छन्। त्यस्तै सहकारीका सीइओ लीलानाथ गौतम पनि प्रहरीको खोजी सूचीमा छन्।

शर्मा जोडीले विलासी वस्तुको खरिददेखि भारतमा रहेको कम्पनीमा समेत लगानी गरेको खुलेको छ। त्यस्तै सहकारीको करिब १४ अर्ब रुपैयाँ जोखिममा परेको देखिएको छ। सहकारीको अन्य जिल्लामा रहेका शाखामा पनि प्रहरीले सोही जिल्लाबाट अनुसन्धान गरिरहेको छ। सीआइबीले दोस्रो चरणको अनुसन्धान पनि थाल्ने भएको छ।

‘हामीले भक्तपुरको मात्र उजुरीको आधारमा अनुसन्धान सकेर फाइल बुझाएका हौं,’ सीआइबीका प्रवक्ता एसपी सञ्जयसिंह थापाले भने।

त्यस्तै बुढानिलकण्ठमा रहेको एकता बुद्ध बचत तथा ऋण सहकारी संस्थाको फाइल पनि सीआइबीले हेरिरहेको छ। गत चैत ९ गते सहकारी विभागले अनुसन्धानको लागि सीआइबीलाई पत्राचार गरेको थियो। अहिलेसम्मको अनुसन्धानमा १ सय ७७ जना निक्षेपकर्ताले सहरकारीविरुद्ध उजुरी दिएका थिए।

सहकारीले घरजग्गा र व्यक्तिगत धितोपत्रमा लगानी गरेको भेटिएको छ। अहिलेसम्म ८ करोड १८ लाख रुपैयाँको ठगी भएको उजुरी परिसकेको छ। ब्युरोको टोलीले गत बुधबार मात्र सहकारीका कार्यकारी अध्यक्ष भानुकुमार शर्मा, उपाध्यक्ष प्रमोदकुमार न्यौपाने, सचिव सोमलाल श्रेष्ठ, कोषाध्याक्ष रामकुमार श्रेष्ठ, ऋण संयोजक वीरबहादुर तामाङ र व्यवस्थापक शम्भु कार्कीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

चालु आर्थिक वर्षको ६ महिनामा मात्र सहकारी विभागमा ४ सय ५१ वटा उजुरी दर्ता भएका छन्। यी व्यक्ति र संस्था दुवैको नाममा दर्ता भएको उजुरीको संख्या हो। त्यसमध्ये धेरै ठगी र अन्य अपराधसँग जेलिएका केसलाई विभागले सीआइबीलाई सुम्पिएको थियो।

काठमाडौं महानगरपालिका-१४ कुलेश्वर केन्द्रीय कार्यालय रहेको गौतम श्री बहुउद्देश्यीय सहकारी संस्था, सिभिल सहकारी ठगी लगायतको अनुसन्धान सीआइबीबाट नै भएको थियो। सिभिल सहकारीका संचालक इच्छाराज तामाङ पूर्व सांसद समेत हुन्। तामाङ लगायत ४२ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो।

जिल्ला अदालत काठमाडौंमा उनीहरूविरुद्ध ५ अर्ब ७७ करोड ८० लाख ९० हजार ९ सय २ रुपैयाँ बिगोसहित ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको थियो। तामाङ अहिले पुर्पक्षका लागि थुनामा छन्। विभिन्न जिल्लामा भएका सहकारी ठगीका अनुसन्धानमा पनि सीआइबीले सहयोग गर्दै आएको छ।

त्यस्तै सीआइबीले अन्य ६ वटा सहकारीको ठगीको फाइल पनि हेर्न थालेको छ। जसमा लालीगुराँस सहकारी सस्था पनि छ। बुढानिलकण्ठमा रहेको रियल गोर्खा ऋण तथा बचत सहकारी संस्थाको पनि अनुसन्धान गर्न सहकारी विभागबाट पत्राचार भएको छ। बानेश्वरमा रहेको संध्या ऋण तथा बचत सहकारी संस्था, हरित कृषि सहकारी र चुच्चेपाटीमा रहेको इभर ट्रस्ट सहकारी संस्थाविरुद्ध पनि उजुरी परेकाले सीआइबीले अनुसन्धान गरिरहेको छ।

पाँच वर्षमा ७ गुणाले बढ्यो सहकारी ठगी

काठमाडौं लगायत देशका विभिन्न जिल्लाहरुमा सहकारी ठगीको घटना बढ्दै गएको छ। अघिल्ला पाँच वर्षको तुलनामा चालु आर्थिक वर्षको ९ महिनाको प्रहरीको रिपोर्ट हेर्दा पनि ७ गुणाले सहकारी ठगी बढेको देखिएको छ।

प्रहरीले आर्थिक वर्ष २०७४/७५ मा ५ वटा मुद्दा दर्ता भएका थिए। उजुरी संख्या भने छुट्टै छ। प्रहरीले अनुसन्धानपछि आवश्यक देखिएका घटना मात्र सरकारी वकिलमार्फत अदालतसम्म पुग्ने गर्छ। जसमा ७ जना पक्राउ परेका थिए।

तर चालु आर्थिक वर्षको ९ महिनामा ३८ वटा मुद्दा अदालतमा पुगिसकेका छन्। त्यस्तै यस्ता घटनामा समातिनेको संख्या पनि ह्‍वात्तै बढेको छ। १० जना महिलासहित ५० जनालाई प्रहरीले पक्राउ गरेको छ। आर्थिक वर्षको तीन महिनामा अझै यो संख्या बढ्ने प्रहरीको अनुमान छ।

चालु आर्थिक वर्षको ९ महिनामा १ अर्ब ४७ करोड ७० लाख रुपैयाँको बिगो दाबी गरिएको छ। जबकी पाँच वर्ष अगाडि सहकारी ठगीमा बिगो दाबीको रकम ११ करोड २६ लाख मात्र थियो।

आर्थिक वर्ष २०७८/७९ मा प्रहरीले १५ वटा सहकारीविरुद्ध मुद्दा दायर गरेको थियो। जसमा सहकारीका संचालक र कर्मचारी गरेर ४७ जना समातिएका थिए। बिगो रकम दाबी भने ७ अर्ब ३९ लाख रुपैयाँ थियो। यस आव सिभिल सहकारीको घटना बाहिरिएको थियो।

आर्थिक वर्ष २०७७/७८ मा २० वटा मुद्दा प्रहरीले सरकारी वकिल हुँदै अदालत पुगेको थियो। ६२ पुरुष र १५ जना महिला समातिएका थिए। बिगो रकम भने १ अर्ब ११ करोड रहेको थियो। यसरी हेर्दा पछिल्ला वर्षहरुमा सहकारी ठगी बढेको छ। चाँडो नाफा कमाउने हेतुले घरजग्गा लगायतमा लगानी गर्दा सहकारीहरुमा समस्या आएको देखिएको छ।