
काठमाडौं। नेपाल राष्ट्र बैंकको तेस्रो त्रैमासिक समीक्षामा सेयर बजारलाई प्रत्यक्ष सम्बोधन नगरे पनि बैंक दरमार्फत समेट्न खोजेको छ।
उच्च ब्याजदरका कारण बजार घटिरहेका बेला राष्ट्र बैंकले बैंक दर कम गराएर बजारको ब्याज घटाउने संकेत गरेको छ। यसबाहेक ऋणपत्रका कारण रोकिएको ऋण लगानीलाई पनि सरलीकृत गरेको छ।
बैंक दर साढे ८ प्रतिशतबाट साढे सात प्रतिशतमा झारिएको छ। यसले बैंकहरुलाई निक्षेपसँगै ऋणको ब्याज घटाउन प्रोत्साहित गर्छ।
करिब ६० अर्ब रुपैयाँ बराबरको ऋणपत्र असार मसान्तपछि कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) मा गणना गर्न नपाइने अवस्था थियो। यही कारण बैंकहरुले सीडी रेसियो बढ्छ भनेर ऋण दिन चाहेका थिएनन्।
तर, राष्ट्र बैंकले पुस मसान्तसम्म ऋणपत्रलाई गणना गर्न दिने भएको छ। यसले बैंक ऋण थप सहज हुन्छ।
राष्ट्र बैंकले पुनर्कर्जा पनि दिने भएको छ। पछिल्ला दुई त्रैमासमा ऋणात्मक भएको आर्थिक क्षेत्रसँग सम्बन्धित क्षेत्रलाई पुनर्कर्जा दिने भएको हो। अहिले राष्ट्र बैंकले पुनर्कर्जालाई साढे ६ अर्बमा झारेको छ।
राष्ट्र बैंकले होटल तथा रेस्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित पाँच करोडसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई २०८० असार मसान्तभित्र पुनर्संरचना/पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइदिएको छ।
चालु पुँजी कर्जालाई ब्याज नियमित रहेकमो अवस्थामा कुनै किसिमको हर्जाना र शुल्क नलिने गरी ३ महिनासम्मका लागि २०८० असार मसान्तभित्र म्याद थप गर्न सकिने सुविधा दिएको छ।