नेष्डो लघुवित्तको बम्पर लाभांश योजना तुहियो, राष्ट्र बैंकलाई कानुनी चुनौती दिन बाटो खोज्दै

बिजमाण्डू
२०८० बैशाख ५ गते १५:१५ | Apr 18, 2023
नेष्डो लघुवित्तको बम्पर लाभांश योजना तुहियो, राष्ट्र बैंकलाई कानुनी चुनौती दिन बाटो खोज्दै


काठमाडौं। नेष्डो समृद्ध लघुवित्तको बम्पर लाभांश दिने योजना तुहिएको छ। नेपाल राष्ट्र बैंकले लघुवित्तद्वारा प्रस्तावित ७३.६८ प्रतिशत लाभांशलाई संशोधन गरेर गरि १७.९३ प्रतिशतमा झार्न निर्देशन दिएको छ।

Tata
GBIME
NLIC

सम्पूर्ण नियमको मातहतमा रहेर प्रस्तावित लाभांश राष्ट्र बैंकले अस्वीकृत गरेको भन्दै नेष्डोका सञ्चालकहरुले आपत्ति जनाएका छन्। उनीहरुले संशोधित लाभांश नै नबाँड्ने निर्यण गरेका हुन्।

निर्देशनका नाउँमा राष्ट्र बैंकले ऐन मिचेको आरोप उनीहरुको छ। ‘बाफिया र कम्पनी ऐनको भावना विपरीत राष्ट्र बैंकको प्रतिक्रिया देखिएको छ,’ नेष्डोका प्रबन्ध निर्देशक विश्वप्रकाश प्रसाईं ठकुरीले भने, ‘अनुरोधको व्यहोरामा ठाडो निर्देशन जारी भएको छ।’

एकै प्रकृतिका कम्पनीले लाभांश प्रस्ताव गर्दा समेत राष्ट्र बैंकले विभेदकारी रवैया देखाएको आरोप उनले लगाए। राष्ट्र बैंकले यसअघि महिला लघुवित्तको ५० प्रतिशत र उपकार लघुवित्तको ६५ प्रतिशत लाभांश प्रस्ताव भने स्वीकृत गरिसकेको छ।

‘सर्त पुरा गर्दागर्दै पनि लाभांशमा अंकुश किन? प्रक्रिया र मापदण्डलाई लघुवित्त अनुसारको फरक फरक व्याख्या भयो,’ उनले भने।

राष्ट्र बैंकको नयाँ व्यवस्था अनुसार साधारणतया लघुवित्तहरुले १५ प्रतिशतभन्दा बढी लाभांश प्रस्ताव गर्न पाउदैनन्। निर्धारित दर भन्दा बढी बाँड्नु परे, जति बढी हुन्छ त्यसको ९५ प्रतिशत रकम विभिन्न कोषमा सञ्चित गर्नुपर्छ।

अतिरिक्त लाभांश रकमको ५० प्रतिशत रकम साधारण जगेडा कोषमा, ३५ प्रतिशत रकम ग्राहक संरक्षण कोषमा र १० प्रतिशत रकम संस्थागत उत्तरदायित्व कोषमा राख्‍नुपर्ने व्यवस्था छ।

नेष्डोले नयाँ व्यवस्था लागु भएपछि नै लाभांश प्रस्ताव गरेको थियो। ‘पुरानाले ७५ प्रतिशत सञ्चिति राख्दा स्वीकृत गरेको लाभांश हामीले ९५ प्रतिशत राख्दा पनि किन नपाउने ?,’ प्रबन्ध निर्देशक ठकुरीले प्रश्‍न गरे।

लगानी गरेका सेयरधनीको प्रतिफल पाउने हकलाई राष्ट्र बैंकले बाधा पुर्‍याएको उनले बताए। प्रस्तावित लाभांशको दर घटाउन राष्ट्र बैंकले दिएको निर्देशनपछि संस्थाका सञ्चालकहरु कानुनी परामर्शमा छन्।

पोखरा र पर्वतमा मुख्य कारोबार रहेको नेष्डो समृद्ध लघुवित्तको सोमबार बसेको बैठकले कानुनी परामर्शको विकल्प खोजेको ठकुरीले जानकारी दिए।

बम्पर लाभांश संशोधनले सेयर मूल्य प्रभावित

राष्ट्र बैंकले लाभांश संशोधन गर्न निर्देशन दिएपछि नेष्डो समृद्धका सेयरधनीको मनोबल खस्किएको छ। मंगलबार सेयरको मूल्य साढे १८ रुपैयाँ घट्यो। नेष्डो अन्तिम पटक २१ सय ८ रुपैयाँमा किनबेच भएको हो।

७३.६८ प्रतिशत लभांश प्रस्ताव गर्दैगर्दा पनि लघुवित्तप्रति बजारमा आकर्षण देखिएको थिएन। लाभांश प्रस्ताव गरेकै दिन नेष्डोको सेयर २०६ रुपैयाँ घट्यो। लाभांश प्रस्ताव गरेपछि लघुवित्तको सेयर मूल्य ३४१ रुपैयाँभन्दा बढी घटिसकेको छ। झन्डै १४ प्रतिशतले मूल्य घटेको हो।

खासमा राष्ट्र बैंकको कडाइका कारण त्यति बेला समग्र लघुवित्त क्षेत्र नै प्रभावित  थियो। लघुवित्तहरुले प्राथमिकता बिर्सेर नाफा र लाभांशमा बढी केन्द्रित हुन थालेको आरोप राष्ट्र बैंकले लगाइरहेको थियो। सेयरमा चलखेल गर्न कम्पनीहरुले बम्पर लभांशको योजना ल्याउने राष्ट्र बैंकको टिप्पणी थियो। र यसै बिच राष्ट्र बैंकले लघुवित्तहरुको लाभांश कटौती गर्‍यो। जुन समग्र लघुवित्त क्षेत्रका लागि प्रतिकूल साबित भयो।

समायोजन भएको लभांश क्षमताका बाबजुद नेष्डोले ७३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। त्यसैले नेष्डोले लाभांश दर सार्वजनिक गर्ने बित्तिकै निश्चित रुपमा संशोधन हुन्छ भन्ने चर्चाले बजार तातेको पनि थियो। तर लघुवित्तका सञ्चालकहरुले भने सबै प्रक्रिया पुरा गरेको हुँदा संशोधन नहुनेमा ढुक्क थिए। 

तैपनि संशोधन गरेर लाभांशदरलाई ५५.७५ प्रतिशत घटाइदिँदा सञ्चालक रुष्ट छन्। आफूसँग ठाडै सरोकार हुने भए पनि राष्ट्र बैंकले सामान्य छलफलबिनै संशोधन गरेको उनीहरुको गुनासो छ।

कति रकम के के कोषमा छुट्याएको छ?

लघुवित्तले आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९ सम्म गरी चार आर्थिक वर्षमा कुल ४१ करोड ८५ लाख रुपैयाँ नाफा सञ्चित गरिसकेको छ। संस्थाको चुक्ता पुँजी अहिले २५ करोड ५० लाख रुपैयाँ कायम छ।

जसको ७३.६८ प्रतिशत लघुवित्तले लभांश प्रस्ताव गरेको थियो। जसमध्ये ५० प्रतिशत बोनस सेयर, २० प्रतिशत नगद र बाँकी कर प्रयोजनका लागि थियो। कुल गरेर १८ करोड ७८ लाख रुपैयाँ लाभांश प्रस्ताव गरेको थियो।

यस्तो परिमाणको लाभांश दिन लघुवित्तले निर्धारित सबै कोषमा रकम जम्मा पनि गारएको लघुवित्तको दाबी छ। ५० प्रतिशत अर्थात् ७ करोड ४८ लाख रुपैयाँ साधारण जगेडा कोषमा, ३५ प्रतिशत अर्थात् ५ करोड २३ लाख ग्राहक संरक्षण कोषमा र १० प्रतिशत अर्थात् १ करोड ४९ लाख रुपैयाँ संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गरिसकेको ठकुरीले बताए।