‘नेताजीहरुलाई भेट्ने भनेको हाम्रो एउटा दैनिक क्रियाकलाप भित्र पर्छ,’ उमेशलाल श्रेष्ठको अन्तर्वार्ता

बिजमाण्डू
२०७९ चैत्र २६ गते ०९:०८ | Apr 9, 2023
‘नेताजीहरुलाई भेट्ने भनेको हाम्रो एउटा दैनिक क्रियाकलाप भित्र पर्छ,’ उमेशलाल श्रेष्ठको अन्तर्वार्ता


उमेशलाल श्रेष्ठ क्वेष्ट फर्मास्युटिकल्सका प्रबन्ध निर्देशक हुन्। श्रेष्ठ उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभामा वरिष्ठ उपाध्यक्षका उम्मेदवार हुन्। चैत २८ र २९ गते काठमाडौंमा हुने साधारणसभामा श्रेष्ठ प्यानल नै बनाएर चुनावी मैदानमा छन्। चुनावी जोडघटाउमा व्यस्त रहेका श्रेष्ठलाई बिजमाण्डूका उन्नत सापकोटाले सोधे- वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सर्वसम्मत नेतृत्व चयनका लागि पहल गरिरहनुभएको छ। तपाईंहरु तीनैजना प्रतिस्पर्धी पनि बुधबार छलफलमा बस्नुभयो। उहाँले कार्यकाल छोट्याएर तीनै जनालाई समेट्ने प्रस्ताव पनि गर्नुभयो। त्यो प्रस्तावमा तपाईँको धारणा के हो ?

Tata
GBIME
NLIC

त्यसबारेमा मेरो प्रस्ट धारणा के थियो भने, ठिक छ अलि ढिलै भए पनि तपाईंले संयोजन गर्न खोज्नु भयो राम्रो कुरा हो। मैले उहाँलाई नै अधिकार दिएर आएँ। तपाईंले छान्नुस्, तपाईंले जे भन्नु हुन्छ म त्यो सहर्ष स्वीकार्न तयार छु। पछि फेरि भेट्ने कुरा गर्नुभयो, ठिक छ मैले उहाँलाई जिम्मा दिइसकें। तपाईं जे गर्नुस् मलाई केही समस्या छैन। म सहर्ष स्वीकार्छु। 

भन्न खोज्नु भएको तपाईं आफ्नो दाबी छोड्दिन भन्नुभएको?

अब त्यो अर्थ तपाईंले लगाउनुस्। मैले उहाँलाई जिम्मा छोडिदिए।

यो पटकको चुनाव अनप्रेडिक्टेबल देखिएको छ। एउटा प्यानलबाट उठेको व्यक्ति अर्को प्यानलमा पुगेर सर्वसम्मत भनिरहेको छ। एउटा प्यानलको उपाध्यक्षको उम्मेद्वार अर्को प्यानलमा गएको छ। तपाईंहरुलाई चुनावसम्म आफ्नै टीम जोगाउन पनि मुस्किल छ होइन ?

सर्वसम्मत को भएको छ र? कोही पनि भएको छैन। 

भरत आचार्य त तपाईं र अन्जन श्रेष्ठको तर्फबाट सर्वसम्मत उम्मेदवार बनेको होइन र?

त्यो चुनाव जितेको अवस्था त होइन नि। मैले विगत एक डेढ सालदेखि उम्मेदवारीका लागि प्रयत्‍न र प्रयास थालिसकेको हो। टीम रिटेन्सन हुन्छ त्यसमा केही पनि समस्या छैन। अब एक दुईवटा सानोतिनो घटना त घट्छ नि चुनावमा। जुनसुकै सानो ठूलो जस्तोसुकै चुनावमा सानोतिनो घटना घट्छन्। तर, हाम्रो टीम इन्ट्याक्ट नै छ। 

हाम्रो कम्प्लिट टीम  छ। १८ जना हुनुपर्ने ठाउँमा १८ जना, १४ जना हुनुपर्नेमा १४ जना नै छ, १९ जना हुनुपर्ने ठाउँमा १९ जना छ। त्यो तलमाथि हुँदैन। 

तीनजना प्रतिस्पर्धी भएकाले पहिलो चरणमा नतिजा आउने सम्भावना छैन। दोस्रो चरणमा जाँदा चुनावी नतिजा आफ्नो पक्षमा पार्न साम, दाम, दण्ड, भेदकै (राजनीतिक,पैसा) नीति अख्तियार गर्नुपर्छ होला होइन ?

म कुनै पनि हाइपोथेटिकल प्रश्‍नको जवाफ दिन चाहन्न। हरेक प्रत्यासीले पहिलो चरणमा जित्‍ने भनेर लडेको छ। मेरो चाहना पहिलो चरणमै सक्याउँ भन्ने छ। मलाई लाग्छ हुन्छ पनि त्यही। त्यसैले दोस्रो चरणको बारेमा पहिलो चरणको परिणाम आएपछि सोच्ने कुरा हो। तपाईंले भनेको ‘एमएमएम’ को कुरालाई मैले दिमाग भित्र सोचमै ल्याएको छैन। 

पछिल्लो साधारण सभापछि महासंघ आन्तरिक व्यवस्थापनमा नै बढी केन्द्रित भयो, खासगरी चुनाव केन्द्रित भएर। मुद्दा हेर्दा  तपाईंहरुको देश बनाउने स्तरको देखिन्छ, तर महासंघभन्दा बाहिर निस्कन सक्नु हुन्न नि होइन?

म त महासंघ नेतृत्वबाट बाहिरै थिएँ। एउटा साधारण सदस्यको रुपमा थिएँ। त्यसैले मैले यो प्रश्नको जवाफ दिन सक्दिन। तर, म तयारीमा लागेको थिएँ। 

महासंले के गर्‍यो गरेन भनेर चुनावको मुखमा मैले व्याख्या गर्नुपर्दैन। तपाईंहरुले पनि त्यसको आकलन के गर्नुपर्छ भने महासंघले अहिलेको खडेरीमा के परिणाम ल्यायो त? यो पैसाको अनिकालमा महासंघले के फरक ल्यायो त भनेर तपाईंहरु अनि मेरा मतदाता साथीहरुले मूल्यांकन गर्ने कुरा हो। मैले भन्दा यो भयो, यो भएन भनेर बोल्दा यसले आफू नभएपछि आलोचना पो गर्‍यो, हुँदा ठिक नहुँदा बेठिक, त्यसैले मै केही भन्ने पक्षमा छैन। 

मूल्यांकन गर्ने उपयुक्त व्यक्ति भनेको हाम्रा भोटर्स हो। नेताहरुले जनता भन्या जस्तो। हाम्रो लागि भोटर्स जनता भयो। उहाँहरुले जुन प्याटर्नले मतदान गर्नुहुन्छ त्यो भनेको दुई अढाई वर्षको कार्यकाल जुन बित्यो नि शेखर गोल्छाजीको, त्यसको जनमतसंग्रह जस्तै हो। हुन त गइसकेको कुरालाई जनमतसंग्रहसँग मतलब छैन। तर, यसले त्यो कुरालाई यो चुनावले रिफ्लेक्ट गर्छ।

कुनै समय यस्तो थियो की सरकार या विपक्षी दलले सुल्झाउन नसकेका मुद्दा समेत महासंघको ‘लिड’ मा समाधान हुन्थे, अहिले महासंघ माग गर्ने, धम्क्याउने भूमिकामा मात्र केन्द्रित भएजस्तो लाग्दैन?

त्यस्तो त हामीले गरेको छैन। हाम्रो महासंघमा मात्रै होइन देशमा नै आसेपासेको क्यापिटलिजम (क्रोनी क्यापिटलिजम) धेरै लाग्यो। त्यसले गर्दा महासंघ मात्रै होइन अरु कुनै पनि संस्थाले प्रदर्शन (पर्फर्म) नै गर्न सकेको छैन। हाम्रो जुन लबिङ गर्ने बलियो क्षमता थियो, त्यो अलिअलि गिरेको हो। 

तर, यही कारणले महासंघको साख गिर्‍यो, महासंघ खत्तम भयो ध्वस्त भयो अब मलाई जिताउ म बनाउँछु त्यो म भन्दिन। महासंघको साख गिरेको छैन। अलिकति हल्का-हल्का दाग लागेको छ।  

व्यवसायीको चुनाव आर्थिक एजेण्डामा आधारित हुनुपर्ने हो, तर राजनीतिक दलको प्रत्यक्ष हस्तक्षेपमा हुँदैछ। तपाईंहरुलाई आफ्नो एजेण्डामा, भिजनमा होइन राजनीतिक दलको तागतमा बढी विश्वास भयो है?

तपाईंले अनलाइनको हल्ला सुन्नु भयो। हुन त तपाईं पनि अनलाइन नै हो। नेपालमा यति धेरै अनलाइन छ, त्यो सबै पढ्यो भने मान्छे पागल हुन्छ। मैले पनि पढें यो कुरा मलाई पनि आश्चर्य लाग्यो। यो फलानो कहाँ गयो त्यो ढिस्कानो कहाँ गयो। अब नेताजीहरुलाई भेट्ने भनेको हाम्रो एउटा दैनिक क्रियाकलाप भित्र पर्छ। 

अब चुनावको बेला भेट्यो भने उहाँहरुले पनि बोलाउनु हुन्छ के भइरहेको छ, कसो भइरहेको छ भनेर सोध्नु हुन्छ। त्यो त्यतिमा मात्रै सीमित छ। मलाई लाग्दैन कुनै पनि राजनीतिक पार्टीले महासंघलाई कुनै पनि किसिमले प्रभाव पार्न सक्छ। हामी इन्डिपेन्डेन्ट मान्छेहरु छौं, हाम्रो चुनाव लोकतान्त्रिक तवरले हुन्छ। हामी महासंघमा आन्तरिक लोकतन्त्रमा बढी नै विश्वास गर्छौं। त्यसैलाई विश्वास गर्दै हामी अगाडि बढ्ने हो।

तपाईं अहिले निर्वाचित हुनु भयो भने पनि तीन वर्षपछि मात्र कार्यकारी नेतृत्वमा पुग्नु हुन्छ। त्यसअनुरुप आगामी ६ वर्षका लागि तपाईंले महासंघमा देख्नु भएका सपना के हुन्?

हेर्नुस् है ‘आइ एम नट अ पोलिटिकल लिडर’। म यो भन्दिन कि, म फलानो ठाउँमा पुल बनाइदिन्छु, तपाईंहरु बस्नो वरिपरि सफा र मेन्टेन गरिदिन्छु। यहाँ बाटो बनाइदिन्छु, यहाँ रिक्रिएसनल बिल्डिङ बनाइदिन्छु, यस्ता हाम्रा केही पनि एजेन्डा हुँदैनन्। हाम्रो एजेन्डा भनेको न्यूनतम पनि सबै आर्थिक एजेन्डा मात्रै हुन्। त्योभन्दा बढी केही पनि छैन। म त यत्तिसम्म पनि भन्छु कि, हामी सबै चुनाव उठ्ने साथीहरुको बेसिक एजेन्डा त एउटै हो। 

देश र जनताको आर्थिक पुनरुत्थान, त्यसको सेरोफेरोमा रहेर हामीले काम गर्ने हो। अब तपाईंले सोधिहाल्नु भयो एजेन्डा के हो भनेर। आर्थिक पुनरुत्थान कसरी गर्ने त? प्रश्न यो हो। कसरी अगाडि लैजाने यसलाई भन्ने हो। 

म तीनवटा कुरा गर्छु। एउटा तत्काल, एउटा अलिकति सर्ट टर्म र एउटा मिड टर्म, लङ टर्म पनि भन्दिन। तर, यो तीनवटै गर्नलाई सरकार र हामीसँगै बस्नुपर्छ, साथ हुनुपर्छ। तत्कालीन समस्या भनेको अहिलेको आर्थिक मन्दी हो। बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पुँजीको अभाव, वृद्धि भएको ब्याजदर र बजार आफैंमा एकदमै ‘स्ल्याकडाउन’ भएको छ। 

अरु त अरु खाद्यान्नका विभिन्न प्रडक्टहरुको माग कम छ। खाद्यान्‍नमा काम गर्ने मेरा साथीहरुले भन्नु हुन्छ माग कम भयो, बजारको रिकभरी एकदमै सुस्त भयो। आर्थिक मन्दीले खाद्यान्‍नमा पनि असर पुर्‍याएको छ। त्यसैले हाम्रो पहिलो एजेन्डा भनेको सरकारसँग बसेर ब्याजदरलाई कति घटाउन सकिन्छ, सकेसम्म एकल अंकमा ल्याउने हो। त्यसको लागि आवश्यक औजारहरु के छ त भन्दा हामी निर्णयकर्ता त होइनौं, तर लबिङ पार्टी त हौं। 

यसको औजारहरु भनेको विदेशबाट वैदेशिक मुद्रा ल्याएर (१-२ प्रतिशतमा ऋण पाइन्छ) त्यसमा हेजिङ र बैंकहरुको नाफा तथा ब्याजदर जोडेर करिब ४-५ खर्ब रुपैयाँ इन्जेक्ट गर्नुपर्छ। साथसाथै अरु के गर्नुपर्छ भन्दा बैंक तथा वित्तीय संस्थाहरुले अलिकता जिम्मवार साथ काम गर्नुपर्छ।

अहिले विशेषगरी साना तथा मझौला उद्यमी व्यापारीहरुलाई कित्ताको कुरा छोड्दिऊँ ब्याज तिर्न पनि गाह्रो भइरहेको छ। त्यसैले ऋण रिसेड्युल हुनु अत्यन्त आवश्यक छ। यसले बैंकहरुले अलिकति अप्ठ्यारो पर्छ, त्यो म बुझ्छु। तर, बैंकहरुले हाम्रो अनुरोधलाई के बुझ्दिनु पर्छ भन्दा हामी छौं त बैंक छ, बैंक छ त हामी छौं। यदि हामीले बैंकबाट ऋण लिएनौं भने उनीहरु पनि सिद्धिन्छन्, हामी पनि सिद्धिन्छौं। 

त्यसैले उद्योगी र बैंक एउटा समझदारीमा आउनुपर्छ। यसरी नै अगाडि बढ्नुपर्छ। अब दोस्रो एजेन्डा भनेको सर्ट टर्म नै हो। कृषिमा नेपालले खासै ध्यान दिएकै छैन। ५० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिन (१५ हजार वर्गकिलोमिटर) मा खेती भएकै छैन। प्रयोग नै भएको छैन। केही फलाएकै छैन। त्यो प्रयोग कसरी गर्ने? त्यो प्रयोग गर्न विशेष कार्यक्रमहरु ल्याउनुपर्छ। 

सरकारले एउटा कृषि कर्जा ल्यायो। तर, अन्तिममा त्यसले के परिणाम ल्यायो त। केही पनि ल्याएन ‘नत्थिङ’। किनभने त्यो ऋण उत्पादनमा आधारित थिएन र छैन। १२ प्रतिशत ब्याज छ भने ५ प्रतिशत कटौती गरेर ७ प्रतिशतमा ऋण। यसैका लागि मात्रै कृषि कर्जा भनियो। त्यो केमा उपयोग भयो घरजग्गामा भयो कि, खेतमा भयो कि। बिउ त्यहाँ छरियो, त्यहाँबाट उत्पादन आयो तर मैले गत वर्ष सन् २०२१/२२ को तथ्यांक हेर्दै थिएँ हामीले ४ अर्बभन्दा बढीको कृषिजन्य पदार्थ आयात गरेछौं।

यसले के देखाउँछ भने कृषि कर्जाको कार्यक्रम ‘फेलियर’ हो। त्यसैले सरकारले यो कार्यक्रम समीक्षा गर्नुपर्छ र ऋण लगानीलाई फिर्ता गराउनुपर्छ। यदि यो कर्जा अनुपयोगी क्षेत्रमा लगानी भइरहेको छ भने त्यसलाई फिर्ता ल्याउनुपर्छ। 

अर्को कुरा भनेको हाम्रो मनसुनमा आधारिक कृषि शैली फरिनुपर्छ। जलस्रोतको धनी नेपाल तर, हाम्रो कृषि भने मनसुनमा परनिर्भर छ। राम्रो मनसुन भयो भने राम्रो कृषि उत्पदन, नराम्रो मनसुन भए नराम्रो उत्पादन। त्यसैले हामीले सिंचाइमा ठूलो लगानी गर्नैपर्छ। जस्तो अहिले सुनकोसी मरिन डाइभर्सन परियोजना बनिरहेको त्यो राम्रोसँग अघि बढिरहेको छ। अब त्यतिले मात्रै पुग्दैन। 

अर्को भनेको मल समयमा पुग्यो भनेर कहिल्यै सुन्नु भएको छ? यो कृषि सामग्री कम्पनी लिमिटेड मल समयमा पुर्‍याउन कि नपुर्‍याउनलाई? यसमा जोडिएका कुराहरु अरु पनि होलान्, मल उद्योग नै खोल्ने कुरा होलान्। २०औं वर्षदेखि सुन्या छ खुल्या छैन। त्योबेला बिजुली पर्याप्त थिएन, अहिले छ। मल उद्योगलाई मुख्यगरी बिजुली र हावा चाहिन्छ। अरु केही चाहिँदैन। अब त्यो तिर सोच्ने मात्रै होइन कि सोचेर ४-५ वर्षमा कार्यान्यवन गर्न सकिन्छ। 

दीर्घकालीन नीति भनेको नीतिगत सुधार गर्ने हो। कानून परिवर्तन गर्नुपर्छ। हामी अझै पनि भन्सारमा आधारित बजार अर्थतन्त्र हौं। यदि हामीले आयात गरेनौं भने सरकार असफल हुन्छ। अहिले हेर्नुस् ८ खर्ब रुपैयाँ सामान्य खर्च भयो तर ६ खर्ब रुपैयाँ मात्रै उठेको छ। सरकारले तलब दिनलाई मात्रै २२/२४ अर्ब रुपैयाँ हाराहारी ऋण खोज्दै छ। सरकारले त ऋण खोज्दै छ भने हामी उद्योगी व्यवसायीले कहाँबाट पाउनु ! 

सरकारले अब तुरुन्तै यस विषयमा सोच्नुपर्छ। नयाँ अर्थमन्त्रीज्यु डाइनामिक हुनुहुन्छ जस्तो लाग्छ। अहिलेको तत्काल समाधान भनेको विदेशबाट पैसा ल्याएर इन्जेक्ट गर्ने हो। बैंकहरुले हुनत अहिले पनि विदेशबाट सस्तोमा पैसा ल्याइरहेका छन्। तर, यही नै अहिलेको समाधान हो। 

हाम्रो नीतिहरु सुधार गर्न एकदमै आवश्यक छ। नीतिगत पनि र अर्को भनेको हाम्रो काम गर्ने शैलीलाई जबसम्म परिवर्तन गर्दैनौं नि केही हुँदैन। म त जहिल्यै हाम्रा नेताजीहरुलाई भन्ने गर्छु एउटा काम त गरेर हेर्नुस् तपाईंहरु कति गाह्रो छ। एउटा नियम खराब अर्को नियत पनि खराब। नियत पनि राम्रो छैन। यसलाई परिवर्तन गर्नै पर्छ। यसलाई परिवर्तन गर्न समय पक्कै लाग्छ। त्यसैले मैले यसलाई दीर्घकालीन त होइन तर मिड लङ टर्म एजेन्डाको रुपमा अघि सारेको छु। 

अब यो काम गर्नका लागि हामीले झगडा गर्ने होइन, लडाईं गर्ने होइन, मुर्दावाद जिन्दावाद गर्ने होइन, कालोपट्टी लाउने होइन कहिलेकाहीँ गरिन्छ साह्रै चोट पर्‍यो भने मात्रै। तर, हामीले गर्ने भनेको टेबल टक नै हो। लबिङ नै हो। ‘वी ह्‍याब टु फिनिस द वर्क’।

सरकारले नबुझेको होइन बुझेको छ। तर, यहाँ सत्ताको खेल पनि धेरै हुन्छ। छोटो छोटो अवधिमा सरकार परिवर्तन हुन्छ। यदि हामीले काम समयमा सकेनौं भने हामी टाइटानिक हुन्छौं। विस्तारै डुब्छौं।

चुनाव एक रणनीतिक प्रतिस्पर्धा पनि हो। तपाईंको नजरमा तपाईंले जित्ने आधार के के हुन्?

मेरो डेडिकेसन, मेरा मित्रहरु र म सानो क्षेत्रबाट आएको मान्छे हुँ। म धेरै ठूलो मान्छे होइन। म साना तथा मझौला क्षेत्रको कुराहरु धेरै बुझ्छु। मेरो अर्थ अरुले बुझ्दैनन् भन्न खोजेको होइन। म धेरै बुझ्छु। र मेरो परिपक्वपता अलिकति मेरो निडरपन। म हत्तपत्त कोहीसँग डराउँदिन। म कुनै पनि व्यक्तिसँग कुरा गर्नलाई फेस टु फेस कुरा गर्न डराउँदिन। र मेरो व्यवसायिक सफलता पनि एउटा आधार हो।