‘म शतप्रतिशत ढुक्क छु, पहिलो चरणमै नतिजा आउँछ,’ उद्योगी रामचन्द्र संघईको अन्तर्वार्ता

बिजमाण्डू
२०७९ चैत्र २४ गते ०९:०६ | Apr 7, 2023
‘म शतप्रतिशत ढुक्क छु, पहिलो चरणमै नतिजा आउँछ,’ उद्योगी रामचन्द्र संघईको अन्तर्वार्ता


रामचन्द्र संघई नेपाल उद्योग वाणिज्य महासंघका एशोसिएट उपाध्यक्ष एवं त्रिवेणी समूहका निर्देशक हुन्। संघई ५७औं वार्षिक साधारणसभामा वरिष्ठ उपाध्यक्षका उम्मेदवार हुन्। चैत २८ र २९ गते काठमाडौंमा हुने साधारणसभामा संघई प्यानल नै बनाएर चुनावी मैदानमा छन्। चुनावी जोडघटाउमा व्यस्त रहेका  संघईलाई बिजमाण्डूका वसन्तराज उप्रेतीले सोधे- वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सर्वसम्मत नेतृत्व चयनका लागि पहल गरिरहनुभएको छ। तपाईँहरु बुधबार तीनै जना प्रतिस्पर्धी पनि छलफलमा बस्नुभयो। उहाँले कार्यकाल छोट्याएर तीनै जनाले समेट्ने प्रस्ताव पनि गर्नुभयो। त्यो प्रस्तावमा तपाईँको धारणा के हो ?

Tata
GBIME
NLIC

हो, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हामीहरुसँग बैठक राख्नुभएको थियो। धेरै विषयमा छलफल पनि भएको हो। उहाँले कार्यकाल छोट्याएर तीनै जनालाई समेट्ने प्रस्ताव पनि गर्नुभएको थियो। त्यो कुरा सान्दर्भिक पनि छ। तर हामीले हेर्ने एफएनसीसीआइलाई हो। एफएनसीसीआई एउटा छाता संगठन हो। मुलुकभर संचालित कलकारखाना, व्यवसायीको आस्थाको केन्द्र हो।

मैले उहाँलाई कार्यकाल छोट्याउनु भनेको तीनजनालाई अटाउनलाई हो भनेर सोधेँ। यसमा अहिले हामी वरिष्ठ उपाध्यक्षमा आउँदा तपाईँ नेतृत्वमा आउनुहुन्छ। र, मलाई यस्तो लाग्छ की हामी तीनजना मध्ये जो सुकै आएपनि तीन वर्षसम्म सिक्ने मौका पाइन्छ। जब खारिएर कुनैपनि वरिष्ठ उपाध्यक्ष अध्यक्षमा जाँदा नेतृत्व गर्न सक्षम हुन्छ भन्ने मेरो धारणा छ।

म यसमा  अलिकति रिजिड छु। यो कार्यकाल छोट्याएर तीनजनालाई मौका दिनुभन्दा स्वस्थ प्रतिस्पर्धाबाट आउने नेतृत्वलाई स्वीकार्छु।         

यो पटकको चुनाव अनप्रेडिक्टेबल देखिएको छ। एउटा प्यानलबाट उठेको व्यक्ति अर्को प्यानलमा पुगेर सर्वसम्मत भनिरहेको छ। एउटा प्यानलको उपाध्यक्षको उम्मेद्वार अर्को प्यानलमा गएको छ। तपाइँहरुलाई चुनावसम्म आफ्नै टीम जोगाउन पनि मुस्किल छ होइन ?

मलाई त्यस्तो लाग्दैन। तपाईँले भन्नुभयो की एउटा प्यानलको मान्छे अर्को प्यानलमा गएको छ। सबै साथीले आफ्नो उम्मेदवारी दिएका छन्। सबै साथीको नेतृत्व सम्हालेसँगै केही न केही गर्छु भन्ने आकांक्षा हुन्छ। जीत सुनिश्चितताका लागि एउटा प्यानल बनेको हुन्छ। अब कोही व्यक्तिले प्यानल चेन्ज गर्छ भने त्यो प्यानलमा केही न केही राम्रो पक्ष हेरेको हुनसक्छ। त्यो कारणले परिवर्तन गरेको हुन सक्छ। यो कुरालाई अन्यथा लिन हुँदैन।

यही कारणले प्रतिस्पर्धी प्यानलमा हुनुभएको ज्योत्स्ना श्रेष्ठ आश्चर्य शैलीमा तपाईँको टीममा प्रवेश गर्नुभएको हो?

यसमा मेरो खासै भूमिका थिएन। हामीले सन्दीप अग्रवाललाई आफ्नो प्यानलमा राखेका थियौं। सन्दीपजी र ज्योत्स्नाजीबीच आपसी छलफल गरेर यता आउनुभएको हो। अब दुवै पक्ष एक अर्कासँग सहज हुन चाहन्छ। सन्दीपजी र ज्योत्स्नाजी बीच भित्री केही कमिटमेन्ट थियो की। त्यही कारणले उहाँ मेरो पक्षमा आउनुभएको हो।       

तीन जना प्रतिस्पर्धी भएकाले पहिलो चरणमा नतिजा आउने सम्भावना छैन। दोस्रो चरणमा जाँदा चुनावी नतिजा आफ्नो पक्षमा पार्न साम, दाम, दण्ड, भेदकै (राजनीतिक,पैसा) नीति अख्तियार गर्नुपर्छ होला होइन ?

पहिलो चरणमा नतिजा आउँदैन भन्ने कुरा म मान्दिन। मलाई लाग्छ की पहिलो  चरणमै नतिजा आउँछ। दोस्रो चरणको बारेमा मैले सोचेकै छैन। म शत प्रतिशत ढुक्क छु। अर्को भनेको साम, दाम, दण्ड, भेदको विषयमा म त्यति अनुभवी छैन। दोस्रो चरणमा आएमा त्यसपछिको अवस्था जीवनमै पहिलो पटक हेर्नेछु। म त आफूमा कन्फिडेन्ट छु कि यो नतिजा पहिलो चरणमै आउनेछ।       

पछिल्लो साधारण सभापछि महासंघ आन्तरिक व्यवस्थापनमा नै बढी केन्द्रित भयो, खासगरी चुनाव केन्द्रित भएर। मुद्दा हेर्दा  तपाइँहरुको देश बनाउने स्तरको देखिन्छ, तर महासंघभन्दा बाहिर निस्कन सक्नु हुन्न नि होइन?

त्यस्तो म मान्दिन। पछिल्लो साधारण सभापछि जुन तपाईँले भन्नुभयो की महासंघ चुनावी एजेण्डामै लागेको छ। मलाई लाग्छ यो पटकको चुनावमा अहिलेसम्म रौनक नै छैन। अब चार दिन बाँकी छ। एकसाता अगाडि भनेको अलगै कुरा हो। तर यो भन्दा अगाडि चुनावको चहलपहल थिएन। जुन हामीले एक महिना अगाडी प्रदेश चुनाव गरायौं। हाम्रो चुनावी रौनक जिल्ला-जिल्ला भ्रमणमै भयो। यतिखेर सबैले आ-आफ्नो उम्मेदवारी र प्यानल घोषणा मात्र गरेका छन्। जिल्लाका साथीहरु आउनुभएपछि चुनावी रौनक सुरु हुने देखिएको छ।     

कुनै समय यस्तो थियो की सरकार या विपक्षी दलले सुल्झाउन नसकेका मुद्दा समेत महासंघको ‘लिड’ मा समाधान हुन्थे, अहिले महासंघ माग गर्ने, धम्क्याउने भूमिकामा मात्र केन्द्रित भएजस्तो लाग्दैन?

मलाई लाग्छ की महासंघ अनावश्यक माग, धम्क्याउनेमा छैन। मैले पनि महासंघमा नेतृत्व गरिरहेको छु। मलाई आजसम्म यस्तो महसुस भएको छैन। हाम्रा जायज माग छन् भने हाम्रो नेतृत्व नै सम्बन्धित ठाउँमा गएर समाधानतर्फ लाग्छौं। मलाइ लाग्दैन की हामीले धम्क्याउने वातावरण बनाएका छौं। हामी सौहार्दरूपमा आफ्ना मागहरु सरकार समक्ष राखेका छौं। र, ती कुराहरुको सुनुवाइ भइरहेको पनि छ र कतिपय माग सुनुवाइ हुने चरणमा छ।

आगामी दिनमा मैले पनि यो नेतृत्व पाएँ भने आएका समस्या समाधानका लागि राज्यसँग सौहार्द वातावरणमा संवाद गर्दै अगाडि बढ्नेछौँ। सरकार पनि निजी क्षेत्रको सहकार्यमा मुलुकको आर्थिक समृद्ध हुने कुरामा विश्वस्त छ। मलाई विश्वास छ की विश्वास गराउन सकेमा सरकारले समस्या सुन्नेछ र सम्बोधन गर्नेछ।            

व्यवसायीको चुनाव आर्थिक एजेण्डामा आधारित हुनुपर्ने हो, तर राजनीतिक दलको प्रत्यक्ष हस्ताक्षेपमा हुँदैछ। तपाइँहरुलाई आफ्नो एजेण्डामा, भिजनमा होइन राजनीतिक दलको तागतमा बढी विश्वास भयो है?

यो बाहिर अफवाह आएर हामीलाई फील भयो होला। मलाई लाग्छ महासंघको चुनावमा राजनीतिक हस्तक्षेप छैन। अब अरु ठाउँमा प्रभावित गर्न खोजिएको छ भने मलाई थाहा छैन। मेरो मुख्य उद्देश्य भनेकै जबसम्म उत्पादनमूलक उद्योग खुल्दैन तबसम्म मुलुक समृद्धितर्फ जान सक्दैन। अहिले हामी आयातमुखी भइरहेका छौँ। त्यसलाई उत्पादनमूखी कसरी बनाउने भन्ने कुरामै मेरो ध्यान केन्द्रित छ। यसैमा म रमाएको छु। मेरा जति पनि उद्योग छन्, सबै उत्पादनमूलक, रोजगारमूलक उद्योग छन्। सिमेन्ट, चिया, तेल, टेक्सटाइल, दाना, चामल लगायत विभिन्न उद्योगमै रमाएको छु। मेरो उद्देश्य भनेकै मुलुकको आर्थिक समृद्धिका लागि रोजगार सिर्जना गर्नु हो।  

तपाईं अहिले निर्वाचित हुनु भयो भने पनि तीन वर्षपछि मात्र कार्यकारी नेतृत्वमा पुग्नु हुन्छ। त्यस अनुरुप आगामी ६ वर्षका लागि तपाईंले महासंघमा देख्नु भएका सपना के हुन्?

यदि म निर्वाचित भएँ भने मेरो मुख्य उद्देश्य भनेकै देशमा उत्पादनमूलक उद्योग र रोजगारी कसरी विस्तार स्थापना गर्न सकिन्छ भन्नेमा ध्यान केन्द्रित गर्छु। अब यसका चाहिने पूर्वाधार निर्माणमा ध्यान दिन्छु। एउटा उत्पादनमूलक उद्योग चलाइरहेको नाताले पूर्वाधारका काम धेरै गर्न बाँकी छ। विद्युत हामीसँग सरप्लस छ। म यही सोध्न चाहन्छु की उद्योगहरुमा विद्युत आपूर्ति २४सै घण्टा भइरहेको छ त ? त्यसप्रति सरकारको ध्यान गएको छ ? म यो प्रश्‍न सरकारलाई उठाउँछु। यसमा सरकार जवाफदेही हुनुपर्छ।

सरकार भन्छ की उत्पादनमूलक उद्योग, निर्यातमूलक उद्योग ल्याउनुपर्छ। यस्तो हालतमा कुन आधारमा उत्पादन र निर्यात मुलुक उद्योग आउँछ? कुनै पनि उद्योग ल्याउनका लागि बिजुली हाम्रो पहिलो प्राथमिकता हो। दोस्रोमा श्रम ऐन हो। यो ऐन उद्योग र श्रमिक मैत्री छ कि छैन। यो दुई वटा विषयलाई प्राथमिकतामा राखेर समाधानको प्रयास गर्छु।

तेस्रो र चौथो कुरा लगानीकर्ता आफै‌ंले व्यवस्था गर्ने कुरा हो। कच्चा पदार्थ, निर्यातका लागि बजार सर्वेक्षण लगायत कुरा लगानीकर्ताको बाटोमा हुन्छ। बिजुली र श्रम समस्या समाधान गर्ने विषय सरकारको हातमा छ।

निर्यातमूलक उद्योगका लागि सरकारले ८ प्रतिशत अनुदान दिएको छ। त्यसका लागि कार्यविधि पनि तयार गरिएको थियो। कार्यविधि अनुसार कतिले अनुदान पाए। त्यसको सरकारले अनुगमन भएको छैन। अनुदान पाए/नपाएको सरकारले ध्यान दिनुपर्छ।           

चुनाव एक रणनीतिक प्रतिस्पर्धा पनि हो। तपाईंको नजरमा तपाईंले जित्ने आधार के के हुन्?

मेरो सिम्पल थ्योरी के हो भने म मेरो इथिक्समा मात्रै लडिरहेको छु। म एउटा उद्योगी हो। व्यवसाय पनि गर्छु, उद्योग पनि छ । आफ्नै समूहमा करिब २० हजार श्रमिक आबद्ध छन्। विभिन्न किसिमका उद्योग लगाएको छु। म के भन्न चाहन्छु भने  मेरो जित्ने आधार भनेकै म उद्योगी हो र म इमान्दारीका साथ नेतृत्व लिएर समस्या हल गर्न सक्छु।

महासंघसँग आबद्ध जति पनि उद्योग वाणिज्य र वस्तुगत संघ छन्, उहाँहरुसँग म केही न केही व्यवसायमा आबद्ध छु। उहाँहरुको समस्या मेरो पनि समस्या हो र मेरो समस्या उहाँहरुको पनि समस्या हो। मेरो रणनीति यति मात्रै हो। यदि मलाई सबै उद्योग व्यवसायी साथीले विश्वासका साथ अमूल्य भोट दिएर विजय गराइदिनुभएमा उहाँहरुलाई के प्रतिबद्धता गर्न चाहन्छु भने म तपाईँहरुको साथ रहनेछु। कुनै  किसिमको समस्या आएमा सरकारसँग समन्वय गर्नेछु। यति भन्दै साथीहरुसँग आफ्नो मत मागिरहेको छु। म मेरो इमान्दारितामा कहीँ कतै आँच आउन दिन्न। म साथीहरुलाई यही विश्वास दिलाउन चाहन्छु।