५० करोड रुपैयाँ लागतमा युनाइटेडको लुब्रिकेन्ट्स तयार, वैशाखदेखि बजारमा उत्पादन



२०७९ चैत्र ६ गते १७:५८
५० करोड रुपैयाँ लागतमा युनाइटेडको लुब्रिकेन्ट्स तयार, वैशाखदेखि बजारमा उत्पादन


काठमाडौं। युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिजले ५० करोडको लगानीमा नेपालमै लुब्रिकेन्ट्स उत्पादन गर्ने भएका छन्।

Tata
GBIME

अटोमोबाइल पार्ट्स र अन्य व्यवसायको क्षेत्रमा प्रतिष्ठित सत्यदीप ग्रुपले खाद्य उद्योग तथा अक्सिजन ग्यास उत्पादनमा संलग्न एसबी ग्रुपसँग मिलेर ‘नेपाल गोल्ड’ ब्रान्डको लुब्रिकेन्ट र ग्रीज उत्पादन गर्न लागेको हो।

यी दुई समूहको लगानीमा सञ्चालित युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिजले धनुषाको ढल्केवर-३ लालभित्ती चोकमा ल्युब आयल ब्लेन्डिङ प्लान्ट सञ्चालन गर्ने अन्तिम तयारी गरिरहेको बताएको छ।

वैशाखदेखि नै ‘नेपाल गोल्ड’ ब्रान्डको लुब्रिकेन्ट र ग्रीज नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ। सत्यदीप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दीपेन्द्र मिश्रका अनुसार उद्योगको पूर्वाधार तयार भइसकेको र प्लान्टका मेसिनरी पनि जडान भइसकेको छ।

‘वैशाखदेखि नयाँ नेपाली लुब्रिकेन्टको उत्पादन हुनेछ। हामी नेपाल गोल्ड लुब्रिकेन्ट उत्पादनको प्रतीक्षामा छौ,’ उनले भने।

युनाइटेडले २ बिघा ५ कठ्ठा क्षेत्रफलमा फैलिएको ल्युब आयल ब्लेन्डिङ प्लान्ट र अन्य संरचना निर्माण गरेको छ। सो क्षेत्रमा ६ वटा स्टोरेज ट्यांकी रहनेछन् र २ हजार केएल लुब्रिकेन्ट स्टोरेज गर्न सकिने उनले बताए।

दैनिक रुपमा १५ हजार लिटर लुब्रिकेन्ट र १० हजार किलोग्राम ग्रीज उत्पादन गर्ने लक्ष्य रहेको मिश्र बताउँछन्। त्यसैगरी, तयारी उत्पादन राख्नका लागि २० हजार वर्गफिट क्षमताका दुई वटा स्टोर रहने छन्।

बहुराष्ट्रिय कम्पनीहरुको उत्पादन भन्दा आफ्नो लुब्रिकेन्ट र ग्रिजको गुणस्तरमा कमी नहुने मिश्रको दावी छ। अन्तर्राष्ट्रिय रुपमा उपलब्ध हुने एपीआई लगायतका विभिन्न गुणस्तर प्रमाण चिन्ह पाए बराबरको गुणस्तर हुने उनको जिकिर छ।

लुब्रिकेन्ट र ग्रीज उत्पादनका लागि आवश्यक उपकरण अन्तर्राष्ट्रिय स्तरकै हुने र कच्चा पदार्थमा पनि कुनै सम्झौता नगर्ने मिश्रको दाबी छ। उद्योग स्थापनाका लागि करिव ५० करोड रुपैयाँ लगानी भएको एसबी ग्रुपका संचालक बर्दन सर्राफले जानकारी दिए।

उनका अनुसार लुब्रिकेन्ट र ग्रीज प्याकिङको बकेट र अन्य सामग्री समेत कम्पनी आफैले उत्पादन गर्नेछ। बजारमा २५० एमएलदेखि २१० लिटरसम्मको प्याकिङमा लुब्रिकेन्ट र ग्रीज उपलब्ध हुने उनले बताए। यो उद्योगमा पहिलो चरणमा ५० जनाले रोजगारी पाउने सर्राफले बताए।