काठमाडौंका यी रेस्टुरेन्ट, जहाँ लिन सकिन्छ थरी-थरीका पिज्जाको मज्जा

बिजमाण्डू
२०७९ चैत्र ३ गते १२:२७ | Mar 17, 2023
काठमाडौंका यी रेस्टुरेन्ट, जहाँ लिन सकिन्छ थरी-थरीका पिज्जाको मज्जा

काठमाडौं। इटालीको दक्षिणपश्चिमी क्षेत्र क्याम्पानियामा विकसित भएको पिज्जा नचिन्ने विश्वबजारमा अहिले सायदै कोही होलान्। रेस्टुरेन्ट गएर विभिन्न परिकार खान रुचाउने वर्गले पिज्जा मात्रै चिन्दैनन्, यसका थरी-थरीका स्वादको परख गर्छन्। नेपाली बजारको खाजा संस्कृतिमा पनि मम, चाउमिनपछि अधिकांशको रोजाइमा पर्ने खानेकुरा हुँदैछ पिज्जा। 

Tata
GBIME
Nepal Life

काठमाडौं, पोखरा, सौराहासँगै मुलुकका प्रमुख सहरहरु, जहाँ रेस्टुरेन्टहरु नयाँ परिकार पस्कन्छन्, सबैजसोका मेनुले पिज्जालाई समेटेकै हुन्छन्। क्रेज यसरी फैलिइसक्यो कि पिज्जाकै लागि भनेर खास प्रकारका रेस्टुरेन्ट पनि खुलेका छन्। यो इटालियन परिकारको स्वाद लिनका लागि यी रेस्टुरेन्टहरूमा पिज्जा मन पराउनेहरुको दैनिक भिड लाग्ने गर्छ।  

पिज्जाका पारखीहरू बीच लोकप्रिय रेस्टुरेन्टमध्ये एक हो, रोडहाउस क्याफे। सन् १९९२ मा सुरू भएको यस क्याफेले नेपाली तथा विदेशी पर्यटकलाई परम्परागत रूपमा रापिलो भट्टीमा सेकेर बनेको थरीथरीको पिज्जा चखाइरहेको छ। 

मोर्टेडेला ई पिस्ताचियो, क्लासिक हवाईयन, चिकेन तन्दुरी, फार्महाउस, मार्गेरिटा, ग्रीक, मेक्सिको र रोडहाउस ब्लुज  रोडहाउस क्याफेले पस्कने केही स्वादिष्ट पिज्जाहरू हुन्। आठ सय ७० रूपैयाँदेखि १३ सय ६० रूपैयाँसम्म पर्ने यी पिज्जा ग्राहकले आफ्नो स्वादको हिसाबले मोज्जरेला, चिकेन, प्याज, ओलिभ लगायतका सामान्य टपिंगदेखि रकेट लिफ्स, भूइकटहर, पूल्ड पोर्क लगायतका अनौठो टपिंगहरूमा पनि रोज्न सक्नेछन्। 

हरेक दिन बिहान ११ बजेदेखि बेलुका ७ बजेसम्म खुल्ने यस क्याफेले पिज्जाको लागि भनेर नै ‘रोडहाउस पिज्जा’ आउटलेटहरू पनि सुरू गरेको छ।

फायर एण्ड आइस पिज्जेरिया अथेन्टिक इटालियन परिकार, विशेष गरी पिज्जाकै लागि प्रसिद्ध नाम हो। ठमेलको मुखैमा रहेको यस रेस्टुरेन्ट नेपालीदेखि विदेशी पर्यटक तथा ट्रेकर्सहरूको माझ चिरपरिचित नाम हो। पिज्जाको उद्गमस्थल इटालीको नेपल्सकै सेफले सन् १९९५ मा सुरू गरेको यस ठाउँको पिज्जा मन नपराउने सायदै कोहि भेटिएलान्। धेरैजसो रेस्टुरेन्टले नेपाली स्वाद अनुसार नै इटालियन पिज्जालाई परिमार्जन गर्छन् र ग्राहकहरूलाई पस्कने गर्छन्। तर काठमाडौंमा नै रहेर अथेन्टिक इटालियन पिज्जाको स्वाद लिने हो भने फायर एण्ड आइस पिज्जेरिया मै पुग्नुपर्ने पारखीहरु बताउँछन्।

यहाँको चिजी अथेन्टिक पिज्जालाई सबैले अत्यधिक रुचाएको पाइन्छ। विशेषगरी यो रेस्टुरेन्ट हवाईना पिज्जाको लागि निकै नाम चलेको छ। टमाटर, मोजारेला चिज, ह्याम, भुइँकटहर, अदुवा र ओरेगानो राखेर बनाइएको यो पिज्जाको स्वाद धेरै पारखीका जिब्रोले रुचाएको छ।

यहाँ ९१५ रूपैयाँदेखि १ हजार ३ सय ८० रूपैयाँसम्म पर्ने परिगीना पिज्जा, यसको सिग्नेचर फायर एण्ड आइस पिज्जा, एट्टोर पिज्जा, रोमपिपल्ले पिज्जा, इन्सालाता मिस्टा, क्यालजोन्स लगायतका विभिन्न प्रकारका पिज्जा पाइन्छ। विहान ११ देखि बेलुका १०:३० सम्म खुल्ने रेस्टुरेन्टमा ग्राहकहरूले आफ्नो रोजाइअनुसार विभिन्न साइज (हाफ पिज्जा) र विभिन्न टपिंगहरू छान्न सक्छन्।

पिज्जा पारखीहरूको बीच अर्को चर्चित नाम हो, मार्कोपोलो पिज्जेरिया। ठमेलस्थित छायाँ सेन्टरमा रहेको यो  रेस्टुरेन्ट खानाका पारखीहरूका माझ  इटालियन परिकारका लागि प्रसिद्ध नाम हो। इटालीका सेफ तथा लेखक रूबिओलो बटिस्टाले सन् १९८७ मा सञ्चालन गरेका यस रेस्टुरेन्ट विशेषगरी इटालियन र मेडिटेरियन कुजिनका लागि प्रख्यात छ। यहाँको  स्वादिष्ट  पिज्जा र पास्ताको जोकोही पनि फ्यान छन्। फायर एण्ड आइस जस्तै यहाँको पिज्जामा अथेन्टिक इटालियन स्वाद पाइन्छ। 

दिउँसो ११ बजेदेखि बेलुकी ९ बजेसम्म खुल्ने यस रेस्टुरेन्टले विभिन्न प्रकारका फ्रेस तथा अथेन्टिक पिज्जा सर्भ गर्दै आएको छ। पिज्जाका पारखीले सिसीलियाना, मार्गेरिटा, भेजिटेरियन आला भेनिस, डायभोला, यहाँको सिग्नेचर मार्कोपोलो पिज्जा, नेपालीताना पिज्जा, मिट लबर्स ड्रिम, पेस्टो पिज्जाजस्ता विभिन्न विकल्पहरू पाउँछन्।

यस रेस्टुरेन्टमा पिज्जाको आठ सय ७५ रूपैयाँदेखि १६ सय ९५ रूपैयाँसम्म पर्छ। ग्राहकले पिज्जामा आफ्नो हिसाबले एक्स्ट्रा टपिंग पनि राख्न सक्छन्। 

ह्यालोपिनो, च्याउ, जैतुन, फेटा चीज, रोस्टेड भेजिटेबल, सन ड्रायड टमाटर, चिकन ब्रेस्ट, सलामी, बेकन, टुना, पेस्टो ह्याम, प्रोसिउटो क्रुडो, पेपरोनी, मोर्टाडेला मोडेना, पारमेसन चीज लगायतबाट ग्राहकले आफ्नो लागि टपिङहरु रोज्न सक्छन्।

पिज्जाका लागि अर्को प्रख्यात ठाउँ भेरा पिज्जा पनि हो। केही समय अगाडि मात्रै सञ्चालनमा आएको भेरा पिज्जाको स्वादले भने धेरैलाई आकर्षित गरिसकेको छ। ठमेलको मण्डला स्ट्रिटमा सन् २०१९मा सुरू भएको भेरा पिज्जाले इटालियन पिज्जाको फ्युजन उपलब्ध गर्दछ। छोटो समयमा नै यो रेस्टुरेन्टको पिज्जाले धेरै ग्राहकको मन जित्न सफल भएको छ। बिहान ११ बजेदेखि राति ९:३० बजेसम्म खुल्ने यस रेस्टुरेन्टले फ्रेस बेक गरिएको चिजी नेपोलिटन पिज्जा पस्कदै आएको छ। 

पिज्जा लबरको लागि यहाँ विभिन्न भेराइटी छ। उनीहरूले यहाँ भिगन पिज्जादेखि मार्गेरिटा पिज्जा, मार्गेरिटा मसरूम पिज्जा, बेलिनी पिज्जा, सिसिलियाना पिज्जा चिकन सॉसेज पिज्जा, स्मोक्ड चिकन पिज्जा, डायभोला पिज्जा, मोन्टे बाल्डो पिज्जा लगायतका पिज्जाको स्वाद पाउन सक्छन्। यस रेस्टुरेन्टमा पिज्जाको ६५९ रूपैयाँदेखि १ हजार ३ सय १९ रूपैयाँसम्म पर्छ। भेरा पिज्जाले दरबारमार्गस्थित शेर्पा मलमा पनि आफ्नो आउटलेट खोलेको छ।

देशभरमा फैलिएको भाटभटेनी सुपरमार्केटमा रहेको पेपे पिज्जा सबैभन्दा राम्रो पिज्जा प्लेसमध्ये एक मानिन्छ। सन् २०१६ मा सुरू भएको पेपेको पातलो क्रस्ट भएको जुसी पिज्जा निकै स्वादिष्ट छन्।  बेकन पिज्जा, चीज पिज्जा, चिकन पिज्जा, बीबीक्यु पिज्जा,तन्दुरी पिज्जालगायतका पिज्जा किफायती दाममा नै पाइन्छ। 

पिज्जा पारखीहरुलाई माझ सस्तो र मीठो पाइने थलोको रुपमा यो ठाउँ विकास भइरहेको छ। यस रेस्टुरेन्टमा पिज्जाको  २९५ रूपैयाँदेखि ४९५ रूपैयाँसम्म पर्छ। विश्वविख्यात पिज्जा हटको चेन पनि नेपाली बजारमा छ। यसले पस्किने पिज्जाको स्वाद पनि नेपाली जिब्रोमा झुण्डिएको छ।

पिज्जा पस्किनेमा आन्तरिक बजारमै पनि नौला रेस्टुरेन्टहरु छन्। जसले विभिन्न प्रयोगका साथ पिज्जा पस्किरहेका छन्।