
काठमाडौं। चााइना काउन्सिल फर द प्रोमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआइटी)का भाइस प्रेसिडेन्स चाङ साओगाङले नेपालमा लगानीका क्षेत्र बिस्तार गर्ने बताएका छन्। उनले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पनि स्थापित गर्न पनि सहयोग गर्ने बताए।
नेपाल र चीन छिमेकी हुनुका साथै समान व्यवसायिक उद्देश्य लिएर अघि बढ्ने मुलुकहरु रहेको भनाइ उनले राखे।
नेपाल-चाइना इन्भेष्टमेन्ट एण्ड बिजनेस फोरम २०२३ मा बोल्दै साओगाङले चीनबाट नेपालले दोस्रो ठूलो आयात गर्नुका साथै सर्वाधिक निर्यात गर्ने गरेको बताए। ‘फोरमले नेपाल चीन अन्तर्देशीय सम्बन्ध वृद्धि गर्नेछ। लगानीका क्षेत्रलाई बिस्तार गर्न मद्दत पुग्नेछ,’ उनले भने।
उनले चीनसँगको कूटनीतिक सम्बन्धको परिणाम नेपालले विकासका विभिन्न क्षेत्रमा फराकिलो फड्को मार्न मद्दत मिलेको उल्लेख गरे। नेपाललाई चिनियाँ मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा पनि स्थापित गर्न सहयोग गर्ने उनले बताए।
सीसीपीआइटीले आयोजना गर्ने विभिन्न कार्यक्रममा नेपाली उत्पादनलाई प्रोत्साहन गर्नुका साथै बजार बिस्तार गर्न मद्दत गर्ने साओगाङले बताए।