साधारण तरलता अभावमा पनि अन्तिम ऋणदाता सुविधा माग्नुपर्ने, गलत सन्देश दिँदै राष्ट्र बैंक

बिजमाण्डू
२०७९ फागुन २८ गते २०:५७ | Mar 12, 2023
साधारण तरलता अभावमा पनि अन्तिम ऋणदाता सुविधा माग्नुपर्ने, गलत सन्देश दिँदै राष्ट्र बैंक

काठमाडौं। बैंक टाट उल्टिन लाग्दा उसलाई जोगाउने उपकरणका रुपमा रहेको ‘अन्तिम ऋणदाता सुविधा’ लाई नेपाल राष्ट्र बैंकले नियमित मौद्रिक औजारजस्तै लागु गर्ने गरी आइतबारबाट प्रयोगमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

मौद्रिक नीतिमा भएको व्यवस्थालाई टेकेर राष्ट्र बैंकले आइतबार साँझ ‘अन्तिम ऋणदाता सुविधा’ कार्यविधि लागू गरेको हो।

बैंकहरुले अन्तर बैंक बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोबार र स्थायी तरलता सुविधाको माध्यमबाट आवश्यक तरलता जोहो गर्न सकेनन् भने अन्तिम ऋणदाता सुविधा लिनुपर्ने हुन्छ। जबकि यो भनेको बैंक टाट पल्टन लाग्दा लिइने सुविधाअन्तर्गत पर्छ।

अन्तर बैंक सापटीको ब्याज महँगो पर्‍यो वा पाइएन भने बैंकहरुले दैनिक तरलता सुविधा वा स्थायी तरलता सुविधा लिन्छन्। यसमा पनि राष्ट्र बैंकले कतिसम्म लिन पाउने भनेर सीमा तोकिदिएको छ। खुला बजार कारोबार बैंकहरुले चाहेका बेला सजिलै उपलब्ध हुने मौद्रिक औजार होइन। त्यसो हुँदा बैंकहरु अलिकति तरलतामा दबाब पर्ने वित्तिकै अन्तिम ऋणदाता सुविधा लिन जानुपर्ने हुन्छ।

‘अन्तिम ऋणदाता सुविधा लिनु भन्नुको अर्थ बैंकको स्वास्थ्य ठिक छैन है भनेर अन्तर्राष्ट्रिय रुपमा बुझिन्छ, ‘एक बैंकरले भने, ‘सामान्य तरलता अभाव हुँदा पनि अन्तिम ऋणदाता सुविधा लिनुपर्ने र त्यसको सन्देश एकदमै नकारात्मक लाग्ने छ। नेपालका बैंकहरुको विश्वासनीयतामाथि नै यसले प्रश्न उठाएको छ।’

राष्ट्र बैंकले मौद्रिक नीतिमा घोषणा गर्दा नै बैंकरको एक समूहले गभर्नर महाप्रसाद अधिकारीलगायतलाई भेटेर सम्भावित जोखिमको व्याख्या गरेका थिए। त्यसबेला गभर्नर अधिकारीले ‘बाहिर अनलाइनहरुमा हल्ला गरेर यहाँ सुझाव दिन आउने’ भन्दै थर्काएका थिए। यो व्यवस्था गलत छ भनेर बिजमाण्डूमा समाचार प्रकाशित भएको थियो, त्यसकै रिस गभर्नरले बैंकरमाथि पोखेका थिए।

‘नेपाली बैंकहरु टिक्नै नसक्ने अवस्थामा छन् र दैनिक अन्तिम ऋणदाता सुविधा लिइरहेका छन् भन्ने सन्देश राष्ट्र बैंकले दिन खोजेको छ,’ अर्का एक बैंकरले भने, ‘त्यसपछि नेपालको प्रतितपत्र, बैंक ग्यारेन्टी कुन विदेशको बैंकले स्वीकार गर्छ ?’

अन्तिम ऋणदाता सुविधा बैंकहरुले नौवटा कारणमा पाउने छन्। एउटा त स्थायी तरलता सुविधालगायतबाट तरलता ब्यवस्थापन गर्न पुगेन भने लिनुपर्ने हुन्छ।

अर्को भनेको बजारयोग्य सम्पति नभएको कारणबाट आफ्नो तत्कालको दायित्व पुरा गर्न नसक्ने अवस्थामा लिन पाउँछन्। यसबाहेक ठूलो परिमाणको निक्षेप भुक्तानी भएर वा भुक्तान गर्नुपर्ने अवस्था आए तत्कालको दायित्व पुरा गर्न नसक्ने अवस्थामा लिन पाउँछन्। यो व्यवस्था भने निक्षेपकर्ताको हितमा छ। निक्षेपकर्ताहरु बैंकले तिर्दैन कि भन्ने चिन्तामा परिरहनु पर्दैन।

एउटा बैंकका कारण अरु बैंक धरासायी हुने गरी प्रणालीगत जोखिम सृजना भएमा पनि अन्तिम ऋणदाता सुविधा पाइन्छ। सर्वसाधारणको विश्वास गुम्ने अवस्था आएमा पनि अन्तिम ऋणदाता सुविधा उपलब्ध हुने छ।

अन्तिम ऋणदाता सुविधा सजिलै भने पाइँदैन। सम्बन्धित बैंकको सञ्चालक समितिले संस्था पुनरुत्थान गर्न पेस गरेको कार्ययोजना तथा संस्था दीर्घकालमा सहज ढंगले सञ्चालन हुनसक्ने विषयमा राष्ट्र बैंक विश्वस्त भएमात्र पाइन्छ। राष्ट्र बैंकले धितो नलिइ भने यो सुविधा उपलब्ध गराउँदैन।

अन्तिम ऋणदाता सुविधाअन्तर्गत लिएको पैसा ६ महिनाभित्र भुक्तानी गर्नुपर्छ। यसको लागत अलिकति महँगो पर्छ। प्रचलित बैंक दरमा दुई प्रतिशत बिन्दु बढी पेनाल लिएर मात्र उपलब्ध गराउँछ।