टोयोटा र होन्डाले कर्मचारी पारिश्रमिक बढाउँदै, दशक यताकै आकर्षक हुने



२०७९ फागुन १६ गते ०७:५५
टोयोटा र होन्डाले कर्मचारी पारिश्रमिक बढाउँदै, दशक यताकै आकर्षक हुने


काठमाडौं। जापानी अटोमोबाइल कम्पनीहरु टोयोटा र होन्डाले कामदार-कर्मचारीहरूलाई दशकयताकै सबैभन्दा ठूलो पारिश्रमिक दिने भएका छन्। बढ्दो महँगीको सामना गर्ने क्षमता बढाउन यस्तो निर्णय गरेका हुन्।

TATA
GBIME

जापानको मुद्रास्फीति दर ४१ वर्ष यताकै उच्चमा विन्दुमा पुगेको छ। जापानको केन्द्रीय बैंकको अपेक्षित २ प्रतिशतभन्दा माथि पुगेको छ। यसले गर्दा जापानीहरूको जीवनयापनको लागतमा व्यापक वृद्धि भएको छ। उनीहरूको खर्च गर्ने शक्ति घट्दै गएको छ।

यसलाई मध्यनजर गर्दै टोयोटा र होन्डाले कर्मचारीको पारिश्रमिक बढाउने निर्णय गरेका हुन्। विश्वको तेस्रो ठूलो अर्थतन्त्रमा मुद्रास्फीतिको मारमा झेलिरहेका सर्वसाधारणहरूलाई मद्दत गर्न व्यवसाय र अधिकारीहरूलाई दबाब दिएको छ।

प्रत्येक वर्ष जापानी फर्महरूले सामान्यतया मार्चको मध्यतिर आफ्नो निर्णयहरू घोषणा गर्नु अघि हप्तौंसम्म युनियनहरूसँग तलब वार्ता गर्छन्।

यस वर्ष भने टोयटा र होन्डाले एक महिना अघि नै यसको घोषणा गरेका छन्। दुवै कार निर्माताहरूले यस वर्षको घोषणाहरू किन पहिले नै गरे भन्ने कारण खुलाएका छैनन्।

गत बुधबार, टोयोटाले तलब र बोनसको लागि संघको माग पूरा गर्दै २० वर्ष यता कै सबैभन्दा बढी जसको तलब वृद्धि गर्ने बताएको छ।

टोयोटाका नवनिर्वाचित अध्यक्ष कोजी सातोले यो कदमले जापानको मोटर उद्योगमा सकारात्मक प्रभाव पार्ने र ‘प्रत्येक कम्पनीमा कामदार र व्यवस्थापनबीच खुला छलफल हुने’ आशा व्यक्त गरेका छन्।

यस बारेमा कम्पनीले थप विवरण दिन भने अस्वीकार गरेको बीबीसीले जनाएको छ। यसैबीच, प्रतिद्वन्द्वी कार निर्माता होन्डाले तलब वृद्धि र बोनसका लागि युनियनको अनुरोधलाई ‘पूर्ण जवाफ’ दिएको छ।

कम्पनीले तलबमा ५ प्रतिशत बढाउने भएको छ, जुन सन् १९९० यता सबैभन्दा धेरै हो। यो जापानको मुद्रास्फीति दरभन्दा पनि माथि हो।

होन्डाका प्रवक्ताले थप रकम युवा कर्मचारीहरूलाई वितरण गरिने पनि बताए।

प्रवक्ताले भने, ‘व्यवसायको गम्भीर वातावरणको बाबजुद पनि, सबै कर्मचारीहरूले आफ्नो कामलाई तीव्रताका साथ अगाडि बढाउन सक्ने वातावरण सिर्जना गर्ने हाम्रो चाहना हो।’

यस वर्षको सुरुमा, जापानका प्रधानमन्त्री फुमियो किशिदाले बढ्दो मूल्यसँग संघर्ष गरिरहेका सर्वसाधारणहरूलाई मद्दत गर्न फर्महरूलाई ज्याला वृद्धि गर्न आह्‍वान गरेका थिए। टोयटा र होन्डा बाहेक जनवरीमा, फेसन चेन युनिक्लोको होल्डिङ कम्पनी, फास्ट रिटेलिङले आफ्नो देशमा कर्मचारीहरूको तलब ४० प्रतिशतसम्म बढाउने भएको छ।

कम्पनीले नयाँ पारिश्रमिक नीति यसको हेडक्वाटर र कम्पनी स्टोरहरूमा मार्चको सुरुदेखि फूल-टाइम कर्मचारीहरूलाई लागू हुने जनाएको छ।

दशकौंसम्म जापानमा मूल्य र ज्याला वृद्धि दुवै स्थिर थियो। (बीबीसीबाट)


Sunrise Bank