
काठमाडौं। चोभार सुख्खा बन्दरगाह संचालनमा आएको तीनसय २३ दिनमा एकसय ९ वटा कन्टेनर बन्दरगाहमा भित्रिएका छन्।
आइतबार मिडियासँगको अन्तर्क्रिया कार्यक्रममा नेपाल इन्टरमोडल यातायात विकास समितिका अपरेटर अधिकृत शान्तिला कार्कीले सञ्चालनमा आएदेखि आजको दिनसम्म जम्मा १०९ वटा कन्टेर यस बन्दरगाहामा भित्रिएको जानकारी दिइन्।
उनले यसमध्ये पनि चारवटा निर्यात गर्ने सामानको कन्टेनरहरु भित्रिएको बताइन्। कार्कीका अनुसार अन्य १०५ वटा भने तेस्रो मुलुकबाट आयात भएर आउने सामान बोकेका कन्टेनरहरु छन्।
सरकारले केही वस्तुको आयात प्रतिबन्ध लगाउँदासम्म यस बन्दरगाहमा सामान आउन सकेको थिएन। तर सरकारले आयात प्रतिबन्द खोलेको दुई महिनामा यो बन्दरगाहमा पनि तेस्रो मुलुकबाट आयात भएर आउने सामान बोकेका कन्टेनरहरु भित्रिन थालेको हो।
सरकारले आयात प्रतिबन्ध लगाएको समयमा कुनै पनि वस्तुहरुको राम्रोसँग आयात हुन सकेको थिएन। त्यसैले यस बन्दरगाहलाई पनि प्रभावित बनाएको हो। बन्दरगाह गत चैतदेखि संचालनमा आएको थियो।