२० वर्ष पुगेका सवारीसाधनलाई यान्त्रिक परीक्षण गरेर चल्न दिनुपर्ने माग



२०७९ माघ १९ गते ०९:३२
२० वर्ष पुगेका सवारीसाधनलाई यान्त्रिक परीक्षण गरेर चल्न दिनुपर्ने माग


काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले २० वर्ष पुगेका सवारीसाधनलाई यान्त्रिक परीक्षण गरेर सञ्चालन गर्न दिनुपर्ने माग गरेको छ।

Tata
GBIME

महासंघका निवर्तमान अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यको टोलीले उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर २० वर्ष पुगेका सवारीसाधनलाई यान्त्रिक परीक्षण गरेर सञ्चालन गर्न दिनुपर्ने माग गरेको हो।

बीस वर्ष सञ्चालन भएका सबै सवारीसाधन पुरानो नहुने भएकाले यान्त्रिक परीक्षण गरेर सञ्चालन गर्न मिल्ने सवारीसाधनलाई सञ्चालनका लागि आवश्यक प्रक्रिया पुर्‍याउन मन्त्रीसमक्ष माग गरिएको महासंघका महासचिव डेकनाथ गौतमले जानकारी दिए।

महासंघले यातायात क्षेत्रलाई व्यवस्थितरूपमा सञ्चालन गर्नका लागि सरोकारवाला निकायको सहभागिता रहने गरि ‘राष्ट्रिय यातायात प्राधिकरण’ गठन गर्नसमेत माग गरेको छ।

देशभर तीन सय ६५ संघसंस्था आबद्ध रहेको महासंघमा तीन लाख ८० हजार सवारीसाधन आबद्ध रहेका छन्। विसं २०३६ मा स्थापना भएको महासंघमा हाल प्रत्यक्ष ११ लाख र अप्रत्यक्षयरूपमा ४० लाख श्रमिक आबद्ध छन्। महासंघअन्तर्गत देशका न्यून तथा मध्यमवर्गीय व्यवसायीको १० खर्ब रुपैयाँ लगानी रहेको छ।

भेटमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्रेष्ठले यातायात क्षेत्रको समस्या तत्काल समाधान गर्ने बताएका थिए।

‘यातायात व्यवसायी र यातायात क्षेत्रका श्रमिकले राखेको राष्ट्रिय यातायात प्राधिकरण निर्माण गर्नका लागि मन्त्रालयले कार्यदल निर्माण गरेको छ। उक्त कार्यदलले दिएको प्रतिवेदनका आधारमा सरकार अगाडि बढ्छ’, श्रेष्ठले भने।


Sunrise Bank