
काठमाडौं। नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल मंसिर ४ को संसदीय चुनावमा आएको नतिजापछि ढुक्क थिए। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्ने भएका कारण आफूले लिएको रणनीतिअनुसार काम हुनेमा आश्वस्त थिए।
तर एकाएक राजनीतिक परिवर्तन भएर नेकपा एमाले-नेकपा माओवादी केन्द्रको सरकार बन्यो। अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल आए।
पौडेल आएपछि सुरुवातमा अन्योल भएपनि पछि उनी आत्मविश्वासी नै देखिएका थिए। पूर्व अर्थमन्त्री जनार्दन शर्माका पालामा जस्तै आफ्ना काम फत्ते गर्न सकिनेमा उनी विश्वस्त थिए।
तर, यो पटक अर्थमन्त्री पौडेलले भने हमाललाई सहज रुपमा लिएनन्। अर्थमन्त्री पौडेललाई औपचारिक रुपमा उनले भेट्नै पाएनन्। राजनीतिक व्यस्थता देखाउँदै अर्थमन्त्री पौडेलले हमाललाई औपचारिक भेट्ने समय दिएका थिएनन्।
पौडेल र हमालको घर नजिक-नजिक छ। औपचारिक भेट नभएपनि उनले छिमेकीका हिसाबले पौडेललाई अनौपचारिक रुपमा भने भेटेका थिए। पौडेलसँगको सम्बन्ध उच्चस्तरको रहेको भन्दै हमालले बोर्डको स्वीकृति माग्दै आवेदन दिएकासँग ‘बार्गेनिङ’ भने निरन्तर गरिरहे।
हमालले अर्थमन्त्री पौडेल र आफ्नो घर नजिकै रहेको भन्दै आफू शक्तिशाली रहेको र नयाँ सरकारबाट पनि पूर्ण साथ रहेको जिकिर गर्थे।
अर्थमन्त्री पौडेलको घर भैसेपाटीस्थित सैंबु आवास क्षेत्रभित्र छ। त्यही आवास क्षेत्रभित्र हमालको बंगला छ। केही महिनाअघि मात्रै हमाल त्यो घरमा सरेका हुन्।
उनले अर्थमन्त्री पौडेलसँग पनि सुमधुर सम्बन्ध रहेको दाबी गर्दै आएका छन्। स्रोतका अनुसार त्यही सम्बन्ध देखाउँदै उनले बोर्डमा आइपीओ, प्रिमियम, ऋणपत्र, बुक बिल्डिङका लागि जाने कम्पनीसँग बिचौलियामार्फत रकम उठाउन पठाउने गरेका थिए।
‘नयाँ अर्थमन्त्री आएपछि हमालको एक्स्टोर्सन रोकिने आशामा थियौं। तर त्यो रोकिएन,’ एक इन्स्योरेन्स कम्पनीका संचालकले भने, ‘हामीले सुधार हुने आशा मारिसकेका छौं।’
उनका अनुसार प्रिमियममा आइपीओ निष्काशन गर्ने अनुमति मागेको केही समयपछि बिचौलियाले रकम माग्न थालेका थिए। उनीहरुले पैसा दिने भए काम हुन्छ नभए ‘सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ’ जस्तै हालत हुनसक्छ भनेर लगानीकर्तासँग बार्गेनिङ गर्थे।
‘हामीले आइपीओको अनुमति किन पाएनौं भनेर सोध्ने बित्तिकै बिचौलियाले फोन गरेर भेट्न आग्रह गरे,’ ती संचालकले भने, ‘त्यसपछि करोडौंको माग भयो। आइपीओ अनुमतिमा अतिरिक्त पैसा दिनुपर्ने अवस्था आउनु दुर्भाग्य हो। यदि अहिलेको अर्थमन्त्रीले सुधार चाहने हो भने तत्कालै बोर्ड अध्यक्षलाई कारबाही गर्नुपर्छ।’
यसअघि बोर्डबाट सामान्य प्रक्रिया अन्तर्गत हुने काम पनि पैसा बिना हुन छाडेको छ। अर्थमन्त्रीलगायतलाई पनि दिनुपर्छ भनेर पैसाको बार्गेनिङ हुने गरेको स्रोतको दाबी छ।
केही व्यवसायीले ‘अर्थमन्त्री त मैले पनि चिनेको छु, मेरो पनि राम्रो सम्बन्ध छ, म पनि कुरा गर्छु’ भनेका थिए। तर बिचौलियाहरुले ‘अर्थमन्त्रीले आफूले कुरा गर्नु हुन्न, हामीलाई नै जिम्मा दिनु भएको छ’ भनेर पन्छाउने गरेका थिए।
पछिल्लो समय एक होटलले आइपीओ निष्काशन अनुमति लिन जाँदा पनि पैसा मागिएको थियो। प्रिमियममा होइन अंकित मूल्य १०० रुपैयाँमा नै सेयर निष्काशन गर्न दिनुस् भनेर जाँदा हमालले कर्मचारी ‘फिल्ड भिजिट’ मा पठाएका थिए। तर, बोर्डले स्वीकृतिको प्रक्रिया भने रोकेको छ।
त्यस्तै समस्या बुक बिल्डिङमा आएको छ। बुक बिल्डिङका लागि केही कम्पनी बोर्ड पुगेका छन्। उनीहरुसँग असारको विवरण मागिन्छ। असारको विवरण बुझाएपछि अध्ययन गर्ने भनेर बोर्डले असोज पुर्याउँछ। कात्तिक लागेपछि पहिलो त्रैमास अर्थात् असोजसम्मको चाहिन्छ भनेर फेरि मागिन्छ। यो सिलसिला पुसमा पनि रोकिएको छैन। हरेक त्रैमासमा यसरी अल्झन झिकेर पैसा माग्ने काम गरिएको स्रोतको भनाइ छ।
निजी क्षेत्रबाट आएका हमालले समग्र पुँजी बजार विकासमा काम गर्छन् भन्ने सिफारिस समितिको समेत विश्वास थियो। इन्भेष्टमेन्ट म्यानेजमेन्टमा राम्रो दख्खल राख्ने भनेर हमाललाई लिइन्थ्यो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हस्पिटालिटी, रियल इस्टेटलगायत विभिन्न क्षेत्रमा २९ वर्ष काम गरेको अनुभव उनीसँग थियो।
थाइल्याण्डको एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट (एआइटी) बाट एमबीए गरेका हमालले यसअघिको नेतृत्वबाट सुरु भएको बेथिति अन्त्य गर्छन् भन्ने निजी क्षेत्रका संगठनहरुलाई समेत लागेको थियो।
‘बातैपिच्छे उहाँ त पैसाको बाहेक कुरा गर्न छाड्नु भयो,’ पैसा माग गरिएका एक उद्यमीले भने, ‘निजी क्षेत्रबाट गएको मान्छे भन्न पनि लाज मान्नु पर्ने भयो।’
यो हो हमालको कार्यालय
ललितपुर सानेपा हाइटको किरण भवन नजिकै एउटा दुई तल्ले घर छ। वरिपरी केही रोपनी खाली छाडेर निर्माण भएको घरमा ओमस्टोन गार्डेन नामको कार्यालय छ।
बिहान र बेलुका यही कार्यालयमा हुन्छन् नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल। हमाल बोर्डमा नियुक्त हुनभन्दा अघि यही कार्यालयमा काम गर्थे।
थाइल्याण्डमा घरजग्गा व्यवसाय गर्ने कम्पनी ओमस्टोन एसियाले नेपालमा लगानी गरिरहेको छ।
नेपालमा लगानी गरिरहेको ओमस्टोनको नेपालको व्यवस्थापन साझेदार हुन् हमाल। हमालको सम्पूर्ण कामको हिसाबकिताब नवीन थामीले गर्दै आएका छन्। उनीलगायतले पैसाको बार्गेनिङ गर्ने गरेको पीडितहरु बताउँछन्।
हमालले लिड गरेर दुसित थानी हिमालयन रिसोर्ट एण्ड स्पा बनाइरहेका छन्। अहिले पनि यो कम्पनीको काम बाहिर रहेर पनि हेरिरहेका छन्। त्यही भएर ओमस्टोन गार्डेनमा गइरहन्छन्। धितोपत्र बोर्डका कर्मचारी हमाललाई ब्रिफिङ गर्नुपर्यो भने किरण भवन पुग्ने गरेका छन्।