घरजग्गा व्यवसायी संकटमा पर्दा पैरवी गर्ने एनएलएचडीए आफैं अस्तित्वहीन, समयमा एजीएमसम्म पनि गर्न सकेन

बिजमाण्डू
२०७९ माघ १२ गते १४:४१ | Jan 26, 2023
घरजग्गा व्यवसायी संकटमा पर्दा पैरवी गर्ने एनएलएचडीए आफैं अस्तित्वहीन, समयमा एजीएमसम्म पनि गर्न सकेन


काठमाडौं। घरजग्गा क्षेत्र चौतर्फी समस्याले चेपुवामा पर्दा पनि घरजग्गा व्यवसायीहरुकै पहलमा खोलिएको नेपाल जग्गा तथा आवास विकास संघ (एनएलएचडीए) अस्तित्वहीन बनेको छ।

Tata
GBIME
Nepal Life

घरजग्गा क्षेत्रमा आइपर्ने समस्या तथा समाधानका साथै अन्य विषयहरुमा सरकारलाई सुझाउन सक्ने क्षमता भएको एनएलएचडीए अहिले वार्षिक साधारण सभासमेत समयमा गर्न नसकेर थलिएको छ।

कुनै समय हरेक वर्ष प्रोपर्टी एक्स्पो गरेर बजारमा बनेका तथा नयाँ बन्ने रियल इस्टेट परियोजना (हाउजिङ, अपार्टमेन्ट तथा टाउनसीप विकास) बारे जानकारी दिने सामर्थ्य यही एनएलएचडीएको थियो। यही मेला हेर्न घरको सपना देखेका लाखौं नेपाली लालायित हुन्थे। देशकै राष्ट्र प्रमुख डाकेर प्रोपर्टी एक्स्पोको उद्घाटन हुने गर्थ्यो।

नीति निर्मातादेखि घरजग्गासँग सम्बन्धित सरोकारवालाहरुको सहभागितामा संघले हाउजिङ समिट पनि गर्थ्यो।

घरजग्गा क्षेत्रमा व्यवसायीहरुले भोग्दै आएका कानूनी अड्चन, नीतिगत अस्पष्टता, व्यवहारिक कठिनाइबारे राज्य संयन्त्रसँग एनएलएचडीए नेतृत्व कुनै बेला दबाब दिने गर्थ्यो। देशभरका घरजग्गा व्यवसायीहरुको भावना र मुद्दा बुझ्न वृहत् भेला आयोजना गर्थ्यो। जसका कारण कानूनमा सुधारदेखि आफूहरुले उठाउँदै आएका मुद्दाहरु सरकारको वार्षिक बजेटदेखि नीति तथा कार्यक्रममा समेटिन्थ्यो। केही वर्षयता यस्ता कार्यक्रम संघले गर्नै छोडेको छ।

२०७७ पुस २२ गते भएको एनएलएचडीएको १४औं साधारण सभाबाट अध्यक्षमा इच्छाबहादुर वाग्लेसहित १४ जना निर्विरोध निर्वाचित भएका थिए। दुई वर्षका लागि चुनिएको यो कार्यसमितिको कार्यकाल अघिल्लो महिना पुसमै सकिसकेको छ। तर, न त संघले आफ्नो साधारणसभा समयमै गर्न सकेको छ न त घरजग्गा क्षेत्रले भोगिरहेको समस्यालाई राज्यका संयन्त्रसम्म लबिङ गर्न सकेको छ।

इतिहासकै ठूलोमध्येकै एक संकट घरजग्गा क्षेत्रले विगत एक वर्षयता भोगिरहेको छ। तर घरजग्गा व्यवसायीको हितमा काम गर्ने भन्दै स्थापित व्यवसायीहरुकै संस्थाको भने नामोनिसान छैन।

कार्यसमितिमै रहका पदाधिकारीहरु पनि २ वर्षमा खासै उल्लेख्य काम गर्न नसकेको स्वीकार्छन्।

‘अध्यक्षज्यूसहित हामी सबै कार्यसमितिमा रहेका साथीहरु कार्यव्यस्थताका कारण काम गर्न सकिरहेका छैनौं। कोरोना महामारीका कारण काम गर्न सकेनौं। त्यसपछि तरलता अभावदेखि ब्याजदरमा निरन्तर वृद्धिले हामी व्यवसायी थला पर्‍यौं। जसका कारण नयाँ कुनै रियल इस्टेट परियोजना आउन सकेका छैनन्। बजार खराब बन्यो। हामीले पनि केही गर्न सक्ने अवस्था बनेन। अब नयाँ कार्यसमिति आएपछि संस्था सक्रिय हुन्छ,’ नाम बताउन नचाहने सर्तमा एक पदाधिकारीले भने।

त्यसैगरी, संघका एक सदस्यले अध्यक्ष इच्छाबहादुर वाग्लेले नै संस्था चुस्त ढंगले चलाउन नसकेको आरोप लगाएका छन्। लामो समय आफ्नो कार्यव्यस्थता देखाउँदै कार्यवहाक अध्यक्षको भरमा संस्था छोड्दा आफूहरुको मुद्दाका साथै संस्था नै लथालिंग बनेको उनको भनाइ छ।

‘पुस २१ गते एजीएम गर्नुपर्ने, गरेनन्। संस्थाको कुनै पदमा बसिसकेपछि त आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ नि। किनभने त्यो संस्थामा बस्ने व्यक्तिले बोलेको कुरा नै पुरै इन्डस्ट्रीले बोलेको मानिन्छ, केही नबोले पनि त्यसले अर्थ बोक्छ। हामी सदस्यलाई नै दु:खको विषय हो यो। आफूहरुले मेहेनत गरेर विकास गरेको संस्थाले यत्रो संकटमा पनि साथ दिने हैसियत राखेन,’ ती सदस्यले बिजमाण्डूसँग भने।

अध्यक्ष वाग्ले बारा क्षेत्र नं ४ बाट गत प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्रबाट प्रतिस्पर्धा गरेका थिए। जसका कारण उनी निर्वाचनको तयारीमा लाग्दा यता एनएलएचडीए भने कार्यवहाकको भरमा चल्न बाध्य बनेको छ।