काठमाडौं। बलिया स्टकको मूल्य बढेपछि करिब २६ अंकभन्दा बढी ओर्लिएको सेयर सूचक अन्तत: हरियो भएर बन्द भएको छ। प्रमुख सूचक तीव्र रुपले घटे पनि प्रभावशाली कम्पनीको माग एकाएक बढ्न थालेपछि बजारको लय मोडिएको हो।
मंगलबार सुरुवातदेखि रातो रहेको सेयर बजारले पुनरागमन गर्दै बन्द हुँदा ८ अंकको वृद्धि लिएको छ। विशेषगरी नेपाल टेलिकम र पुनर्बीमा कम्पनीका सेयरमा माग ह्वात्तै बढेको छ। यस्तै नबिल बैंकको सेयर मूल्य पनि बढेको छ।
प्रमुख सूचकलाई नै प्रभाव पार्न सक्ने यी स्टकको मूल्य नियन्त्रणले समग्र बजारको माग तथा आपूर्तिलाई सन्तुलनमा ल्याउन सकिन्छ। कुल बजार पुँजीकरणको ६.५ प्रतिशत नबिल बैंक र ६ प्रतिशतभन्दा धेरै हिस्सा एनटीसीको छ। नेपाल पुनर्बीमा कम्पनीको पनि ५.५ प्रतिशत माथि छ।
आज एनटीसीको सेयर मूल्य मात्रै ३.५ प्रतिशत उक्लिएको हो। शीर्ष कारोबारको स्थापमा पनि एनटीसी नै छ। कुल ३ अर्ब कारोबार भएकोमा झन्डै १३ करोड एनटीसीको सेयर किनबेच भएको हो।
त्यस्तै नेपाल पुनर्बीमाको एक प्रतिशतभन्दा बढी बढेको छ। बैंकिङ उपसूचक घटे पनि नबिल बैंकको सेयर मूल्यमा वृद्धि देखिन्छ।
यी स्टकको मूल्य उतारचढावले आज बजारको स्थिति तय गरेका छन्। अत्यधिक उतारचढावका बाबजुद कम्पनीहरुको सेयर मूल्य बढेको हो। जसले समग्र बजारको कृत्रिम माग बढेको देखाउन सकिन्छ। कारोबारीहरुले यस्ता स्टकको प्रयोग गरी उनीहरुको मूल्यसँगै प्रमुख सूचकलाई तल-माथि गर्ने गर्छन्।
अर्कोपट्टि खराब वित्तीय प्रदर्शनका बाबजुद फाइनान्सका सेयर खरिद गर्नेहरु पनि बाक्लै छन्। कारोबारमा आएका अधिकांश फाइनान्सका सेयर बढ्दा उपसूचक स्वयमं ३.५ प्रतिशत बढेको हो। जलविद्युतका सेयर पनि आकर्षणमा छन्। कारोबार पनि उल्लेख्य रुपमा भएको छ।