पोखरा भाइब्स काठमाडौंमा दिने बीजी बीको तयारी, वैशाखदेखि ठमेलमा पनि खुल्दै

वसन्तराज उप्रेती
२०७९ माघ ७ गते ११:३६ | Jan 21, 2023
पोखरा भाइब्स काठमाडौंमा दिने बीजी बीको तयारी, वैशाखदेखि ठमेलमा पनि खुल्दै

काठमाडौं। पोखरा घुम्न जाने तन्नेरीहरु घुमघाम, खानपान र नाचगानमा रमाउँछन्। यसका लागि लेकसाइडमा अधिकांशले पस्न नछुटाउने क्याफे हो बीजी बी। यो प्रख्यात क्याफे ‘पोखरा भाइब्स’ काठमाडौंमै दिने तयारीमा छ।

Tata
GBIME
Nepal Life

स्थापनाको तीन दशकपछि काठमाडौंमा शाखा खोल्ने तयारी गरेको हो। ठमेल चाक्सीबारीमा बिजी बीको क्याफे निर्माणाधीन छ। यो क्याफेले पोखरा जस्तै रमाइलो वातावरण ठमेलमा दिने सञ्चालक बताउँछन्।

सुरुवातमा करिब ७ करोड रुपैयाँको लगानीमा तयार गर्न लागिएको रेष्टुरेण्ट आगामी वैशाखदेखि सञ्चालनमा आउने सञ्चालक योगेश भट्टराईले बताए। उनले भने ‘ठमेलमा शाखा ल्याउन हामी उत्साहित छौं।’

अहिले निर्माणको काम चलिरहेको उनले बताए। ‘हामी आउँदो वैशाख १ गतेलाई टार्गेट गरेर काम गरिरहेका छौं। कन्स्ट्रक्सन र डेकोरेसन हामीले भनेकै समयमा पुरा भए ओपनिङ डेट तल-माथि हुँदैन,’ उनले भने। पोखरा आउने ग्राहकहरुले काठमाडौंमा पनि बीजीबी देख्न चाहेको भन्ने गरेका थिए। त्यसैले चेन विस्तार गर्ने योजना बनेको हो।

‘डेढ महिनादेखि काम थालेका हौं, अहिलेसम्म तयारी ३५ प्रतिशत पुगेको छ। मनिटरिङको काम आफैं गर्छौं,’उनले भने।

आन्तरिक र बाह्य पर्यटकलाई पोखरामा दिँदै आएको गुणस्तरीय सेवालाई बीजी बीले काठमाडौंमा पनि दिने उनले जानकारी दिए। यो रेष्टुरेण्ट आफ्नो स्वामित्वमा लिएको १६ वर्षपछि चेन विस्तार गरिएको उनले बताए।  

ठमेलको चाक्सीबारीमा करिब दुई रोपनी क्षेत्रफलमा तयार भइरहेको रेष्टुरेन्ट २ सयजना भन्दा बढी ग्राहकलाई सेवा दिने क्षमता हुने डिजाइन छ। उनका अनुसार रेष्टुरेण्टले पार्किङका लागि छेउमै रहेको व्यवसायिक भवनमा अण्डरग्राउण्ड सशुल्क पार्किङको व्यवस्था गर्दैछ ।

गार्डेन स्पेसमा निर्माण भइरहेको ठमेलको बिजी बीको अधिकांश एम्वियन्स पोखराकै अवधारणामा रहेको बताउँदै उनले भने,’हामीले थोरै कोर्टयार्ड बनाएका छौं। यहाँ रहेको बार ‘एन्टिक’ खालको रहनेछ। ठमेलमा आउने ग्राहकले पोखराकै भाइब्समा आनन्द लिन सक्नुहुनेछ। फरक भनेको हामीले यहाँ पारिवारिक जमघटलाई पनि प्राथमिकता दिएका छौं।’

उनका अनुसार यतिखेर रेष्टुरेण्‍टको फ्रेमवर्कको काम सकिइसकेको छ भने ढलान र इन्टेरियरको काम बाँकी छ। रेष्टुरेण्ट संचालनमा आएसँगै ७० जनाले रोजगारी पाउने छन्।  

हाल पोखरामा संचालित बिजी बी तीन रोपनी क्षेत्रफलमा छ। पाँच सय जना क्षमताको उक्त रेष्टुरेण्टमा एक सय जना जनशक्ति  कार्यरत छन्। बीजीबीले बुटवल, सौराहा, विराटनगर लगायत मुलुकका प्रमुख सहरमा चेन विस्तार गर्ने योजना पनि बनाएको छ। काठमाडौंको प्रोजेक्ट सञ्चालनमा आएपछि अन्य ठाउँ चेन विस्तारले गति लिनेछ।

‘अहिले हामीले काठमाडौंलाई टार्गेट गरेका छौं। यहाँको सेवा संचालनमा आएसँगै हामी देशका अरु सहरमा आफ्नो चेन विस्तार गर्छौं,’ उनले भने।