
विराटनगर। मोरङका दुई व्यावसायिक संस्थाले अर्थमन्त्री विष्णु पौडेलसहितका सरकारी पदाधिकारीसँग भारतबाट ५० हजार टन गहुँ तत्काल ल्याउन माग गरेका छन्।
मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल र सिएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेसहितका व्यवसायीको टोलीले तत्काल गहुँ ल्याउन माग गरेका हुन्।
व्यापार संघका अध्यक्ष रिजालले भारत सरकारले नेपाललाई ५० हजार टन गहुँको कोटा निर्धारण गरेपनि नेपाल सरकारले नेपाली उद्योगीलाई कोटा बाँडफाँड गर्न नसकेको बताए ।
अध्यक्ष रिजालले यसका कारण गहुँमा आश्रित अधिकांश नेपाली उद्योगहरू बन्द भइसकेको जानकारी गराए। रिजालले तत्काल उद्योगलाई कोटा बाँडेर गहुँको आयात सुचारु गराउन र उद्योग खुल्ने वातावरण बनाउन आग्रह गरे।
व्यवसायीले मन्त्री पौडेलसहित अर्थसचिव तोयम राया, राजस्वसचिव डा.रामप्रसाद घिमिरे, पर्यटनसचिव सुरेश अधिकारी लगायतका सरकारी अधिकारीसित आफ्ना समस्याको अवगत गराएका हुन्।
अध्यक्ष रिजालका अनुसार अर्थसचिव रायाले नेपालले भारतसँग पाएको ५० हजार टन गहुँको कोटा सरकारले तुरुन्त उद्योगलाई वितरण गर्ने बताए।
रिजालले भेटघाटमा व्यवसायीले चर्को बैंक व्याजदर, प्रतिकूल बैङ्किङ नीति, लोडसेडिङ, आयात तथा भन्सारसम्बन्धी जटिलता लगायतका विषयमा सरकारी पक्षलाई अवगत गराएको उल्लेख गरे।