रेडबुलले हाल्यो नेपालविरुद्ध डब्लुटीओमा मुद्दा, पत्र आएपछि वाणिज्य मन्त्रालय छलफलमा



बिजमाण्डू
२०७९ पुष ५ गते १३:१४ | Dec 20, 2022
रेडबुलले हाल्यो नेपालविरुद्ध डब्लुटीओमा मुद्दा, पत्र आएपछि वाणिज्य मन्त्रालय छलफलमा

काठमाडौं। नेपालमा सिन्थेटिक जुस आयात प्रतिबन्ध सम्बन्धि विश्व व्यापार संगठन (डब्लुटीओ) मा मुद्दा परेको छ। रेडबुल उत्पादक कम्पनीले नेपालविरुद्ध मुद्दा दायर गरेको हो। 

Tata
GBIME
Zonsen

रेड बुलले मुद्दा दायर गरेपछि डब्लुटीओले नेपाललाई पत्राचार गरेको छ। डब्लुटीओको नियम अनुसार कुनै पनि वस्तु आयात प्रतिबन्ध लगाउन पाइदैन ।

उसको सदस्य भइसकेपछि तोकेको न्युनतम र अधिकतम भन्सार महसुल दरबीच रहेर काम गर्नुपर्ने हुन्छ। जसअनुसार अधिकतम भन्सार महसुल लगाएर आयात निरुत्साहित बनाउनु पर्छ।

डब्लुटीओले जुस प्रतिबन्धको विषयमा पटक पटक स्पष्टीकरण सोध्ने गरेको छ। नेपालले भने वैदेशिक मुद्रा सञ्चितिमा दबाब परेकाले प्रतिबन्ध लगाउनु परेको जवाफ दिँदै आएका छन्। 

मन्त्रालय स्रोतका अनुसार डब्लुटीओले अहिले आयात खुलाउनका लागि पत्राचार गरेको छ। सो पत्रमा के गर्ने भन्ने विषयमा मन्त्रालयले छलफल समेत गरिरहेको छ। नेपालमा रेडबुलको अधिकृत बिक्रेता गोर्खा ब्रुअरी हो।

नेपालले विदेशी मुद्रा सञ्चितिको लागि भन्दै गाडी मोबाइल, टेलिभिजन, मदिरा लगायतका वस्तुमा आयात प्रतिबन्ध लगाएको थियो। यो प्रतिबन्ध अहिले हटाइसकेको छ। 

तीन वर्षअघि तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले सबैखाले सिन्थेटिक जुस आयातमा प्रतिबन्ध लगाएका थिए। खतिवडाले क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थ(जुस) आयातमा रोक लगाएका हुन्।

सरकारले ३ वर्षअघि राजपत्रमा सूचना प्रकाशित गरी विदेशबाट आयात हुने इनर्जी ड्रिंक्समा प्रतिबन्धको घोषणा गरेको थियो। व्यापार घाटा न्यूनीकरण राष्ट्रिय कार्ययोजना अनुसार सरकारले २०७६ असार २ मा राजपत्रमा सूचना जारी गर्दै आयात प्रतिबन्ध लगाएको थियो।

०७६ जेठ १० को मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थ र अन्य यस्तै किसिमका वस्तु आयातमा प्रतिबन्ध लागेको थियो।

आयात प्रतिबन्ध लागेसँगै विश्व प्रसिद्ध शक्तिवर्द्धक पेय पदार्थ कम्पनी रेड बुलले नेपालमा आफ्ना उत्पादन बिक्री गर्न पाएको छैन। यस्तै प्रतिबन्ध घोषणाताका नेपालमा अत्यधिक बजार लिनेमा बंगलादेशी जुस थियो।

नेपाल सरकारको उक्त निर्णयले बंगलादेशबाट हुने आयातमा गम्भीर धक्का लागेको थियो। वार्षिक २ अर्बभन्दा बढीको जुस आयात भइरहेको अवस्थामा सरकारको निर्णयले यसलाई रोक लगाएको थियो। यो विषयलाई बंगलादेशले प्रत्येक व्यापार वार्तामा उठाउने गरेका छन्।

बंगलादेशी प्रान कम्पनीको जुस, लिच्ची नेपाली बजारमा निकै चलेका थिए। 

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ मा ७ देशबाट ५३ करोड बराबरको इनर्जी ड्रिंक्स आयात भएको थियो। यो २२०२९९१० भन्सार शीर्षकमा आयात भएको थियो। यो शीर्षकमा प्रतिलिटर ७५ रुपैयाँ भन्सार महसुल र अन्तःशुल्क ३० रुपैयाँ लाग्दै आएको थियो। यो वापतको सरकारले उक्त आव ४७ करोड ९६ लाख राजस्व संकलन गरेको थियो।  
 
यस्तै सोही आर्थिक वर्ष अन्य भन्सार शीर्षकमध्ये नम्बर २२०२९९९० मा ६ देशबाट ३० करोड ८३ लाख मूल्य बराबरको जुस आयात भएको तथ्यांक छ। यो शीर्षकमा ४० रुपैयाँ भन्सार महसुल र ११ रुपैयाँ अन्तःशुल्क महसुल थियो। सो शीर्षकमा गतवर्ष १९ करोड ८२ लाख राजस्व संकलन भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थ(जुस) आयातमा सरकारले गरेको कडाइलाई स्वदेशी उद्योगले अवसरका रूपमा लिएका छन्। लगानी बढाउनुका साथै प्लान्ट थपेका छन्। 

प्रतिबन्धभन्दा अघि आर्थिक वर्ष २०७५/७६ मा इनर्जी ड्रिंक्स विभिन्न देशबाट १७ करोड २९ लाख लिटर आयात हुने गरेको थियो। यो २ अर्ब ३९ करोड मूल्य बराबरको हो। यस्तै जसबाट १ अर्ब ६७ करोड राजस्व संकलन हुने गरेको थियो।

नेपालमा प्रतिबन्ध लागेसँगै नेपालमै जुस उत्पादन गर्ने उद्योगहरु थपिएका छन्। प्रतिबन्ध लागेको ३ वर्षमा मात्रै १० अर्ब भन्दा बढी जुस उद्योगमा लगानी थपिएको छ।