
काठमाडौं। भारतले आफ्नो भूमिबाट भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न दिन आलटाल गरेको छ। नेपाल वायुसेवा निगमले काठमाडौं-दिल्ली-गौतम बुद्ध हुँदै काठमाडौं उडानको प्रस्ताव गरेको थियो।
एक साता अघि नेपाल नागरिक उड्डयन प्राधिकरणमा उडान स्वीकृतिका लागि निगमले प्रस्ताव पठाएको थियो। यो प्रस्तावसँगै प्राधिकरणले भारतको उड्डयन प्राधिकरणलाई स्वीकृतिका लागि अनुरोध गरेको थियो।
तर भारतले उडानका लागि स्वीकृति नदिएपछि यो रुटमा उडान अन्योलमा परेको छ। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सनकको भरमा निगमको काठमाडौं-दिल्ली उडान कटौती गरेका थिए। गौतम बुद्धबाट उडान नगरेको भन्दै प्राधिकरणले उडान कटौती गरेपछि निगमले भारत उडानका लागि प्रस्ताव गरेको थियो।
भारतले अनुमति नदिएपछि प्राधिकरणले अन्य गन्तब्यमा उडानका लागि निगमलाई आग्रह गरेको छ। तर निगमले अरु गन्तव्यमा उडान गर्न नसक्ने जनाउ प्राधिकरणलाई दिएको छ।
'तत्काल हामीले दिल्ली उडान मात्रै गर्न सक्छौं। लामो सेक्टरमा उडान गर्दा होटल, क्रु मेम्बर, रि-रुटिङको व्यवस्थापन गर्नुपर्ने हुन्छ। यो सबै गर्न सम्भव छैन,' निगमका एक कर्मचारीले बिजमाण्डूसँग भने। स्रोतका अनुसार महानिर्देशक अधिकारीले गौतम बुद्ध विमानस्थलको ग्राउण्ड ह्यान्डलिङको जिम्मा हिमालय एयरलाईन्सलाई दिने निर्णयप्रति भारत असन्तुष्ट छ।
त्यही भएर निगमलाई दिल्ली-गौतम बुद्ध उडानका लागि अनुमति नदिएको हो। प्राधिकरणका एक कर्मचारीका अनुसार उडान कटौती र गौतम बुद्धको जिम्मा हिमालयलाई दिने निर्णयपछि महानिर्देशक अधिकारी ट्रयापमा परेका छन्।