विश्व पौडेललाई प्रश्न- स्वर्णिम वाग्लेलाई टिकट पाउनबाट तपाइँले ‘ब्लक’ गरेको हो?

बिजमाण्डू
२०७९ कात्तिक २० गते १८:४१ | Nov 6, 2022
विश्व पौडेललाई प्रश्न- स्वर्णिम वाग्लेलाई टिकट पाउनबाट तपाइँले ‘ब्लक’ गरेको हो?

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारको टिकट पाउनुभन्दा दुई दिन अघिमात्र राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा गरेका अर्थशास्त्री डा. विश्व पौडेल यतिखेर चितवन क्षेत्र नम्बर १ को चुनावी अभियानमा जुटेका छन्। राजनीतिमा डेब्यु गरेका पौडेल नेकपा एमालेका भेट्रान उम्मेदवार सुरेन्द्र पाण्डेसँग चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछन्। एकातिर कांग्रेसभित्र उनको उम्मेदवारीलाई लिएर असन्तुष्टि छ। असन्तुष्ट व्यक्ति र समूहलाई पौडेलले साथमा लिन नसक्दा चुनावी परिणाम उनको पोल्टोबाट फुत्किने सम्भावना पनि उत्तिकै छ। अर्थशास्त्रको क्षेत्रमा राम्रो छवि बनाएका पौडेलले यिनै चुनौतीका बिच आफूलाई कसरी प्रस्तुत गर्लान्? चुनाव जित्नका लागि उनले कस्तो रणनीति बनाएका छन्? यिनै विषयमा गत बुधवार चुनावी प्रचारमा भेटिएका पौडेलसँग गरिएको कुराकानीको सार :

Tata
GBIME
Nepal Life

धेरै आकांक्षीलाई पछि पार्दै टिकट पाउनु भयो। चुनावी अभियान कस्तो हुँदो रहेछ?

चुनाव म्याराथन पनि रहेछ। पार्टीको टिकट पाउनदेखि चुनाव लड्नसम्म धेरै मेहनत गर्नुपर्ने। धेरै मानिसलाई भेट्नुपर्ने। आफ्नो राजनीति मुद्दादेखि आइडोलोजी स्पष्ट गर्नुपर्ने। मेरो विचारमा चुनाव भनेको एउटा कम्प्लिकेटेड प्रोसेस हो।

तपाईँ राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र अर्थशास्त्रीका रुपमा चिनिएको नाम। अहिले चुनावको समयमा त्यो पहिचानले कत्तिको मद्दत गरेको पाउनुभयो?

त्यसरी मलाई चिन्ने एउटा सर्कल छ। मेरो विचारमा काठमाडौंको एउटा सर्कल हो त्यो। विद्यार्थी र एकेडेमिनेसनहरुको सर्कल। तर यो (चुनावी क्षेत्र) एकदमै लोकलहरूको सर्कल हो जहाँ म चुनाव लडिरहेको छु। मैले हात जोडेर मत मागिरहेको मान्छे र मेरो लेखे पढ्ने वा मैले पढाएका मान्छे एकै होइनन्। त्यसले गर्दा फरक सर्कलमा म आइपुगेको छु। मेरो उल्लेखित पहिचान यहाँ रिफ्लेक्ट हुन्छ भन्ने छैन। तर पनि म यहीँ हुर्के बढेको। जन्मेको ठाउँ। मसँग प्रत्यक्ष रुपमा सम्पर्क रहनका लागि सजिलो छ।

तपाईँ अहिले पहिलो पटक चुनावी मैदानमा यसरी हिँडिरहनु भएको छ। तपाईँका प्रतिस्पर्धी यही ठाउँमा तपाईँभन्दा भिजेका छन्। मन्त्रीसम्म भएका व्यक्ति छन्। त्यसैले तपाईँलाई आफ्ना प्रतिस्पर्धी कति 'हेभी वेट' भएको अनुभूति हुन्छ?

मलाई एकरति पनि फिल हुँदैन। सुरेन्द्रजी (सुरेन्द्र पाण्डे)का बारेमा भन्दा उहाँप्रति व्यापक असन्तुष्टि छ। त्यसको मैले प्रतिनिधित्व गरिरहेको छु। उहाँले जनताको आकांक्षाहरु राम्रोसँग सम्बोधन गर्न सक्नुभएन। उहाँले राजनीतिमा एउटा अवसरवादको प्रतिनिधित्व गर्नुभयो। विकासमा पूर्व चितवनमा विकासको पछौटेपनको बिम्बका रुपमा बस्नु भयो। पश्चिम कता भएको छ, हेटौँडा कता पुग्दै छ, रुपन्देही कता पुग्दै छ, नवलपरासी नै कता पुग्दै छ। यिनीहरूको तुलनामा हामी कहाँ छौँ? भन्ने कुरा जनताले देखेका छन्।

यस अघिका सांसद सुरेन्द्र पाण्डेले थालेको चेपाङ बस्ती वा तटबन्धलाई तपाईँले आफैँले ल्याएको दावी गर्नुभएको छ। तपाईँको दावीलाई उहाँले 'नकचरोपन' कै रुपमा व्याख्या गर्नु भएको छ। एमालेका सुरेन्द्र पाण्डेले हालेको बजेटमा तपाईँले आफूले गरेको दावी गर्न मिल्छ?

मैले त्यस्तो भनेको छैन। उहाँले चेपाङ मार्गको १० वर्षमा बनाउँछु भनेर हिँड्नु भयो। २०६४ देखि बनेको त सात किलोमिटरमात्र छ। यस्तो तरिकाले कहाँ पुगिन्छ? अर्को पाँच वर्षमा तीन किलोमिटर बनाउनु हुन्छ उहाँले। वा दुई किलोमिटर बनाउनुहुन्छ। त्यसले हाम्रो सपना पूरा हुन्छ? मैले भनेको यही हो।

मैले चेपाङ मार्गमा बजेट पारेको छु यस वर्ष। त्यसमा उहाँको कुनै योगदान छैन। उहाँ योजना आयोगमा एक दिन पनि आउनु भएन। नेकपा एमालेका कति सांसदहरू मसित आउनु भयो, गफ गर्नु भयो। आफ्नो क्षेत्र प्रतिनिधित्व गर्ने त्यसरी हो। उहाँले कहिल्यै आएर मसँग सहकार्य वा केही पनि गर्नु भएन। नम्बर दुई उहाँले जुन भन्नु भएको छ, चेपाङ मार्गको कार्यक्षमता त्यहीँ देखिन्छ। २०६४ सालदेखि गरे भन्नु भयो १५ वर्षमा ७ किलोमिटर गर्नु भयो। के त्यसले हाम्रो विकासको सपना पूरा हुन्छ?

तपाईँ योजना आयोगमा रहँदा सुरेन्द्र पाण्डे सांसदका हिसाबले बजेटको पहल गर्न एकपटक पनि भेट्न नआएको बताउनुभयो। सुरेन्द्र पाण्डेको कुरा थियो – बजेट पार्न योजना आयोगमा जानै पर्दैन। त्यो त मन्त्रालयबाटै हुने हो। बजेट निर्माणको सामान्य प्रकृया तपाईँलाई थाहै नभएको उहाँको आरोप छ। तपाईँले नकचरोपन देखाएर झुटको खेती गरेको भन्नुहुन्छ त उहाँ?

राष्ट्रिय योजना आयोगको बजेटमा कुनै भूमिका हुँदैन भनेर उहाँले जे भन्नु भएको छ त्यसको साधारण जवाफ म दिन्छु। जुन दिन बजेट बनेर आउँछ त्यस दिन मैले (योजना आयोगका उपाध्यक्ष) प्रमाणीकरण नगरी, अप्रुभ नगरी बजेट पास नै हुँदैन। राष्ट्रिय योजना आयोगले स्रोत आङ्कलनदेखि बजेट रेयर मार्किङका विषयलाई लिएर हरेक कार्यक्रममाथि छलफल गर्छ। उहाँ (सुरेन्द्र पाण्डे)लाई बजेट प्रोसेसको कुरा नै थाहा छैन। उहाँले यस ठाउँका लागि नै लडिरहनु भएको छैन। त्यसो भए उहाँको भूमिका कहाँ हुन्छ त? त्यसो भए सांसदको भूमिका बजेट बनाइसकेपछि हात उठाउन मात्र हो? विकास भनेको छलफलबाट जनतालाई प्रतिनिधित्व गरेर हुन्छ। जहाँ सिलिङ हुन्छ त्यहाँ छलफल गरेर बन्ने त होला। नत्र म सांसद भएर यो ल्याएँ त्यो ल्याएँ भन्ने के हैसियत होला? उहाँ मन्त्री नभएको १५ वर्ष भयो। उहाँको भूमिका कहाँ छ त?

एमाले उम्मेदवारको सन्दर्भ छोडौं, तपाईँले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई टिकट पाउनबाट 'ब्लक' गरेको गम्भीर आरोप छ। त्यसको असर तपाईँ क्षेत्रमा देखिएको छ भनिन्छ। आखिर भएको के हो? तपाईँले उहाँलाई आफ्नो क्षेत्रको चुनावी सभामा ल्याउन सक्नुहुन्छ?

स्वर्णिमजी र मेरो लामो सम्बन्ध हो। तपाईँहरू सबैलाई थाहा छ १५/२० वर्षदेखिको सम्बन्ध। तपाईँहरूले पनि पत्रकारिता गर्दादेखि कहिले काहीँ एसोसिएसनमा प्रतिस्पर्धा गर्नुहुन्छ। तपाईँ केहीमा सभापति बन्नु होला। त्यसको मतलब सम्बन्ध बिग्रिएको होइन। साथी साथीमा पनि प्रतिस्पर्धा गरिन्छ। म यहाँ जन्मिएको हुर्किएको हो। यदि राम्रोसित कम्युनिकेसन भएको भए मैले प्रतिस्पर्धा गर्थेँ वा गर्दिन थिएँ होला। मैले पहिले थाहा पाउँदा उहाँ गोरखा, काठमाडौं वा कता लड्ने भन्ने कुरा थियो। यहाँ सुरेन्द्रजीको टिमले पूर्व चितवनलाई ट्रान्सफर्म गर्न सकेन भन्नेमा उहाँ र म दुवै विश्वस्त थियौँ। परिवर्तन चाहिन्छ भन्ने थियो। मलाई लाग्छ उहाँ अन्तिम सातासम्म पनि कहाँबाट लड्ने भन्ने प्रष्ट थिएन। त्यस्तै तपाईँले काठमाडौंको कुरा गर्नु भयो – म कुनै पनि टिकट रोक्नसक्ने हैसियतको मान्छे होइन। गगनजी (महामन्त्री गगन थापा) संसदीय समितिमा हुनुहुन्छ।

उहाँहरू आफै बसेर निर्णय गरेको हो। के भयो के भएन मलाई थाहा भएन। टिकट पाउने कुरा एकदमै 'कम्प्लिकेटड' छ। यहाँ आएपछि साथीहरूलाई मैले क्षेत्रीय कमिटीको बैठकमा के भनेको थिएँ स्वर्णिमजीलाई थाहा छ। हामीहरू अमेरिकाको प्राइमरी प्रक्रिया जस्तै भोटिङ गरौँ भनेको थिएँ। जो 'नम्बर वान' हुन्छ उसैको सिफारिस पठाइदिम्, जो हुनहुन्छ उहाँलाई सपोर्ट गर्छौँ भनेको हो। सबै साथीहरूलाई थाहा छ। मैले राजनीतिक प्रतिस्पर्धालाई व्यक्तिगत रुपमा लिएको छैन।

त्यसो भए तपाईँको चुनावी अभियानको कार्यक्रममा स्वर्णिम वाग्ले सहभागी हुनुहुन्छ त?

यस्तो छ, हामीले 'अप्रोज' गरेका छौं। प्रोगामहरु डिजाइन गरिरहेका छौँ। उहाँ घोषणापत्र लेखेको मान्छे हो। नेपाली कांग्रेसलाई जिताउने अभिभारा छ उहाँमा। मैले हिजो पनि आफैँले दुई पटक फोन गरेको थिएँ। उहाँको केही कार्य व्यस्थताले हुनुपर्छ कुरा हुन पाएन। पहिले पनि फोन गरेको थिएँ।

भनेपछि तपाईँको उहाँसँग कम्युनिकेसन भएन? टिकट पाएपछि कति पटक सम्पर्क भयो?

कम्युनिकेसन भएन। यस्तो छ हेर्नुहोस् – व्यक्तिगत रुपमा नजाऊँ। धेरै प्रतिस्पर्धीहरुसँग व्यक्तिगत रुपमा संवाद भएको छ। मलाइ लाग्छ हामीहरू सबैले यसलाई 'नर्मल' रुपमा लिनुपर्छ। प्रतिस्पर्धीलाई नर्मल्ली लिन नसक्ने हो भने हामी सबैलाई गाह्रै हुन्छ।

पहिले स्वर्णिम होइन विश्व हो भनेर हिँड्ने मान्छेहरू अहिले विश्वलाई असहयोग गर्नु पर्छ भनेर हिँडिरहेको सुनिएको छ। यसमा कतिको सत्यता छ?

मलाई त्यस्तो लाग्दैन। यस क्षेत्रभित्र सबैले मलाई सहयोग गर्नु भएको छ। नेपाली कांग्रेसका, गठबन्धनका र एमालेका साथीहरू सबैले सहयोग गर्नुभएको छ। यहाँ परिवर्तनको चाहना तीव्र छ। त्यो मङ्सिर ४ को नतिजाले पनि देखाउनेछ। मुलुकभरि नै सबैले विकास चाहेका छन्। त्यसको रिफ्लेक्सन मेरो क्षेत्रमा पनि देखिन्छ।

चितवनवासीले तपाईँलाई भावी अर्थमन्त्रीका रुपमा हेरेका छन्। तर, तपाईँ आफैँले आफ्नो पोजिसनलाई लिएर अपिल गरेको भने देखिएको छैन। किन हो खासमा?

यो सांसदको चुनाव हो। सांसदको चुनावको बेला म प्रधानमन्त्री हुन्छु वा म अर्थमन्त्री हुन्छु भनेर आफूले भन्नु उपयुक्त हुँदैन। तपाईँहरूलाई थाहा छ ३/४ जना अर्थशास्त्रीहरू हुन्छौँ होला संसदमा। त्यहाँ गइसकेपछि अर्को दलले क्लेम गर्न सक्छ। अर्को पार्टीले क्लेम गर्ला। तर के हुन्छ भने सांसदको रुपमा अर्थतन्त्रको विभिन्न पक्षमा मेरो भूमिका सशक्त हुन्छ। त्यो कुरा 'क्लियर' छ। बाँकी कुराहरू साथीभाइहरूले हेर्ने दृष्टिकोण एउटा हुन्छ। आफैँले भन्ने कुरा फरक हुन्छ।

ऐतिहासिक रुपमा हेर्ने हो भने चितवन अन्तर्घातको केन्द्र नै हो। कांग्रेसको पकट भएको क्षेत्रमा त्यसै कारण हारेको रेकर्डहरु छन्। तपाईँले केहीलाई मिलाउन खोज्नु भयो जस्तै – राजेन्द्र बुर्लाकोटीलाई ल्याउनु भयो। अझै पनि समस्या बाँकी नै छन्। त्यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ?

एउटा कुरा स्पष्ट भन्छु यस पटक कांग्रेसले गठबन्धन बाहेक अन्त भोट हाल्दैन। अन्तर्घातको विषय रमाइलो गफ गर्ने कुरा मात्र हो। एउटा कांग्रेसले चितवनमा गठबन्धन बाहेक अन्त भोट हाल्दैन। मेरो हकमा त्यति कुरा चाहिँ स्पष्टसँग राख्न चाहन्छु। साथीहरू यो गुट वा त्यो गुट समातेर बसेका छैनन्। म भएको ठाउँमा सबैलाई पहुँच दिएको छु। सबै साथीहरूसँग बसेको छु। म हारेँ भने पनि मेरै कारणले हार्छु। जितेँ भने पार्टीको कारणले जित्छु। आजको दिनमा मैले अन्तर्घातका कारण हार्ने सम्भावना देखेको छैन।

तपाईँ अर्थशास्त्रीका रुपमा सफल तर राजनीतिमा कोरा। राजनीतिक व्यवस्थापन लगायतका पाटोमा हेर्दा पौडिन नजान्ने मान्छे खोलामा हामफालेको जस्तो देखिन्छ। प्रतिस्पर्धी तगडा छन्। त्यसले कतिको असर गर्छ?

हामीहरूले समूहको लडाई हो। समुह गठबन्धन छ। म एक्लैले हो भने तपाईँले भनेको कुरा ठीक हो। तर एक महिनाको 'क्याम्पियन'मा न मैले, न मेरो प्रतिस्पर्धीले नै सबै (मतदाता)लाई भेट्न सक्छन्। तर हाम्रो पार्टी, हाम्रो समूहको पङ्तिले सबैले मानिसलाई भेटेको छ। तपाईँले भनेको के कुरा सही हो भने राजनीतिज्ञमा म एक्पर्ट भने होइन। तर, त्यसको अर्थ समग्रमा असर पार्छ भन्ने होइन।

तपाईँका हिसाबले चुनाव कतिको खर्चिलो रहेछ त?

सबै साथी भाइ मिलेर गरेका छौँ। धेरै खर्च गरेका छैनौं। मितव्ययी तरिकाले गरेका छौँ। हाम्रो मुद्दामा चुनाव हो पैसामा होइन।