पोहोर दसैंयता मान्छेका हातहातमा पुगेका नोटमध्ये एक खर्ब १९ अर्ब रुपैयाँ प्रणालीमा फर्कियो

बिजमाण्डू
२०७९ असोज १३ गते ०८:४६ | Sep 29, 2022
पोहोर दसैंयता मान्छेका हातहातमा पुगेका नोटमध्ये एक खर्ब १९ अर्ब रुपैयाँ प्रणालीमा फर्कियो

काठमाडौं। सर्वसाधारणको हातबाट बिस्तारै नगद नोटहरु प्रणालीमा जान थालेको छ। राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको भदौको विवरण अनुसार, पोहोर दसैंयता मात्रै १ खर्ब १९ अर्ब ६७ करोड रुपैयाँ बराबरका नेपाली नोट प्रणालीमा फर्किएका छन्।

Tata
GBIME
NLIC

पछिल्ला दिन बैंक तथा वित्तीय संस्थासँग भएको पैसा झिकेर सहकारीले आफ्ना बचतकर्ताहरुलाई फिर्ता गरिरहेको बताइरहँदा भदौमा मात्रै ५ अर्ब ६७ करोड रुपैयाँ बराबरका नोट प्रणालीमा फर्किएका छन्।

साउन र भदौमा गरेर त २२ अर्ब ४ करोड रुपैयाँ बराबरका नोट प्रणालीमा फर्किएका छन्।

असोजमा दसैं परेका कारण अलिकति बढि नोट चलनचल्तिमा गएको  हुनसक्छ। पोहोर पनि दसैंमा ६८ अर्ब ५८ करोड रुपैयाँ बढि नोट चलनचल्तिमा गएको थियो। 

मिति रकम (रु. लाखमा)
२०७९ भदौ 5943015
२०७९ साउन 5999775
२०७९ असार 6163510
२०७९ जेठ 6092857
२०७९ बैशाख 6359094
२०७८ चैत 6196083
२०७८ फागुन 6308575
२०७८ माघ 6319978
२०७८ पुस 6306489
२०७८ मंसिर 6548817
२०७८ कात्तिक 6877730
२०७८ असोज 7139808
२०७८ भदौ 6453959

अहिले बजारमा ५ खर्ब ९४ अर्ब ३० करोड १५ लाख रुपैयाँ बराबरका नेपाली नोट चलन चल्तीमा छन्। बैंक तथा वित्तीय संस्थासँग भएको पैसालाई चलन चल्तीमा गणना गरिँदैन। बैंक तथा वित्तीय संस्थाबाहेक सर्वसाधारणको हातमा, सहकारी संस्थामा, अन्य निजी तथा सरकारी संस्थानमा रहेका पैसालाई चलन चल्तीमा भनेर गणना गरिन्छ।

गत असारसम्म ६ खर्ब १६ अर्ब ३५ करोड १० लाख रुपैयाँ बराबरका नेपाली रुपैयाँ चलन चल्तीमा थिए। साउनमा आउँदा १६ अर्ब ३७ करोड ३५ लाखले घटेको थियो। भदौमा अर्को  ५ अर्ब ६७ करोड बराबरका नोट प्रणालीमा फर्किएको हो। 

अझ पोहोर यतिबेला अर्थात भदौ मसान्तसँग तुलना गर्ने हो भने ५१ अर्ब ९ करोड रुपैयाँ फिर्ता आइसकेको छ। पोहोर दसैंताका अर्थात असोजमा सर्वाधिक नोट प्रणालीबाट चलन चल्तीमा गएको थियो। त्यो बेला ७ खर्ब १३ अर्ब ९८ करोड ८ लाख रुपैयाँ बाहिरिएको थियो। त्यसयता १ खर्ब १९ अर्ब ६७ करोड रुपैयाँ नोट फिर्ता आइसकेको छ।

पोहोर दसैंमा ७ खर्ब १३ अर्ब रुपैयाँ नोट चलन चल्तीमा हुँदा भदौमा अर्थात दसैंअघि ६ खर्ब ४५ अर्ब रुपैयाँ मात्र चलन चल्तीमा थियो। दसैंका कारण ६८ अर्ब ५८ करोड ४९ लाख रुपैयाँ बराबरका नोट चलन चल्तीमा गएको थियो। त्यसैले यसपालीको दसैंमा पोहोरको तुलनामा कम नोट चलन चल्तीमा जाने अनुमान राष्ट्र बैंकको छ। मानौं ७० अर्ब रुपैयाँले चलन चल्तीमा नोट बढेछ भने पनि ७ खर्ब रुपैयाँ नाघ्दैन।

कात्तिकपछि क्रमश: चलन चल्तीमा रहेको नोट फिर्ता भइरहेको थियो। तर गत वैशाखमा फेरि बढेको थियो। त्यसयता पुन: घट्न थालेको हो।

२०७७ भदौ महिनायताकै सबैभन्दा कम नोट बजारमा प्रयोगमा रहेको हो। २०७७ भदौमा ५ खर्ब ९२ अर्ब रुपैयाँ चलन चल्तीमा थियो। त्यसपछि बढ्दै गएर ७ खर्ब १३ अर्ब नाघेको थियो। 

पछिल्ला दिन सर्वसाधारणले नगद नोटभन्दा पनि मोबाइल वालेट र अनलाइन बैंकिङको प्रयोग बढाउँदै लगेका छन्। यसले पनि चलन चल्तीबाट नोटको प्रयोग कम हुँदै गएको हो। यता चलन चल्तीको नोट प्रयोग कम भए पनि बैंकको निक्षेप भने घटिरहेको छ।