काठमाडौं। नेपाल विद्युत प्राधिकरणले आन्तरिक प्रतियोगात्मक परीक्षाका लागि आवेदन खुलाएको छ। प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै आन्तरिक प्रतियोगात्मक परीक्षाबाट पदपूर्ति गर्न आवेदन खुला गरेको जनाएको हो।
प्राधिकरणले प्रबन्धक २, उपप्रबन्धक ४, सहायक निर्देशक एक जना लगायत, इन्जिनियर, अधिकृत गरी १ सय ११ पदका लागि आवेदन खुला गरेको छ। यसमा आवेदन दिने पदभन्दा एक तह मुनिको आफू बहाल रहेको सम्बन्धित सेवा/उपसमूह अन्तर्गतका पदमा रहेकाले आवेदन दिन पाउनेछन्।
यसमा उनीहरुले पदमा कर्मचारी सेवा, सर्त, विनियमावली २०७५ मा तोकिए अनुसारको सेवा अवधि पूरा गरेका र न्युनतम शैक्षिक योग्यता पुगेकाले आवेदन दिन सक्नेछन्।
यसमा आवेदन दिन आजबाट २१ दिनभित्र प्राधिकरणमा अनलाइन फाराम भर्न सकिन्छ। यसका लागि परीक्षा दस्तुर पद अनुसार ६ सयदेखि २ हजार रुपैयाँसम्म छ।
यस्तै प्राधिकरणले ७ सय २९ पदमा बढुवाका लागि पनि आवेदन खुलाएको छ। यसमा पनि प्रबन्धक, उपप्रबन्धक, सहायक निर्देशक, इन्जिनियर, अधिकृतलगायत अन्य पदमा बढुवाका लागि आवेदन खुला गरिएको प्राधिकरणले जनाएको छ।
साथै कार्यक्षमताबाट पनि मूल्यांकन अनुसार १ सय ४६ जनाको समेत बढुवा गर्न आवेदन खुला गरिएको छ।