
काठमाडौं। अग्नि ग्रुपले कुरिनटारमा महिन्द्राका गाडीहरुको अटो डिभिजन र फार्म डिभिजनको नयाँ बिक्री, सेवा र पार्टपुर्जा सहितको सुविधा सम्पन्न शोरूम स्थापना गरेको छ।
कम्पनीका अनुसार त्यस क्षेत्रका लागि सम्पूर्ण सुविधाले सुसज्जित आधिकारिक 'थ्री एस' शोरुम हो। थ्रीएस सुविधा भनेको सर्भिस, सेल्स र स्पेयर पार्ट्सको उपलब्धता हो।
महिन्द्रा अटोमोबाइल्सका सबै मोडलका सवारी साधनहरू सहितको थ्रीएस सेटअपयुक्त यो शोरुम इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अन्जनी पोखरेल, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले बिहीबार संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
प्रबन्ध निर्देशक श्रेष्ठले कम्पनीले उपभोक्ताको आवश्यकता अनुसार विभिन्न मोडलहरु तथा संस्करणहरुका उत्पादनहरू उपलब्ध गराउन केन्द्रित रहेको बताए।
उनका अनुसार थ्री एस सेटअप अन्तर्गत महिन्द्रा अटोमोबाइल्सका सबै उपयोगी सवारी साधनहरू, एसयूभीहरू, पिकअप सहितका सबै उत्पादनहरू बिक्रीका लागि राखिनेछ।
कम्पनीका अनुसार महिन्द्रा ट्रयाक्टर मोडलहरु आदिका बिक्री (सेल्स), उत्कृष्ट सेवा (सर्भिस) र सक्कली स्पेयर पार्ट्स उपलब्ध हुनेछ।
'महिन्द्रासँगको हाम्रो सम्बन्ध ३० वर्ष पुरा गरिरहँदा यसरी देशका विभिन्न स्थानहरुमा सुविधाले सुसज्जित आधिकारिक शोरुम खोल्नु अग्नि ग्रुपका लागि गर्वको क्षण पनि हो। जुन एक किसिमले हाम्रा ग्राहकहरुप्रति हाम्रो प्रतिबद्धता र जिम्मेवारी पनि हो,' उनले भने।