वीरगंजमा ननभेजतर्फ रेष्टुराको लहर, शाकाहारीबाट फेरियो स्वाद, खुल्दैछन् आधुनिक रेस्टुरेन्ट

बिजमाण्डू
२०७९ साउन २७ गते १०:२९ | Aug 12, 2022
वीरगंजमा ननभेजतर्फ रेष्टुराको लहर, शाकाहारीबाट फेरियो स्वाद, खुल्दैछन् आधुनिक रेस्टुरेन्ट


वीरगंज। एक दशकअगाडि मिठाइ पसलमा खूबै भीड लाग्थ्यो। मधेसी र मारवाडी समुदायको बढी बसोबासले शाकाहारी भोजनप्रति अधिकांशको ध्यान थियो। त्यतिबेला वीरगंजमा नाम चलेका मिठाइपसलहरूमा हिमाञ्चल केबिन, कान्छा स्वीट्स, पूजा, माखन, अनमोल, श्रीरामलगायत थिए।

Tata
GBIME
Nepal Life

अहिले वीरगंजका बासिन्दाको स्वादमा विविधता देखिएको छ। रेस्टुरेन्टहरुको संख्या शाकाहारीलाई मांसाहारी भोजनको परिकार पस्किनेले जितेका छन्। काठमाडौं, पोखरा र सौराहाका होटल रेस्टुरेन्टले पस्केका स्वाद खोज्नेले वीरगंजमा निराश हुनु पर्दैन।

सुविधासम्पन्न रेस्टुरेन्ट र क्याफेहरू धमाधम सञ्चालनमा आइरहेका छन्। वीरगंजमा पुराना रेस्टुरेन्ट नयाँ सज्जाका साथ सञ्चालनमा आएका छन्, थपिएका नयाँमा ग्राहकले खोज्ने परिकार सबैजसो पस्किने होडबाजी छ। व्यवसायमा नयाँ पुस्ता अगाडि आउँदा व्यवसायिक घरानाहरुले प्रयोग गरिरहेको देखिएको छ। केही नयाँ व्यवसायी पनि यो क्षेत्रमा देखिएका छन्।

भारतका बिभिन्न सहरसँगै काठमाडौं, पोखरा लगायत देशका ठुला सहरमा चलेको रेस्टुरेन्ट सञ्चालनको लहरलाई वीरगंजले पनि पछ्याएको छ। नयाँमा डग आउट, एस लन्ज, वन एलेभेन, माल्ट, डिलाइट गो, बीएनडी लगायतका रेस्टुरेन्ट सञ्चालनमा आइसकेका छन्।

वीरगंजमा पछिल्लो ६ महीनामा थप तीनवटा सुविधासम्पन्न रेस्टुरेन्ट सञ्चालनमा आएका छन्। आदर्शनगरको आरबी कम्प्लेक्समा चिकेन स्टेसन र किंस् लाउन्ज तथा लाठ गलीमा द बर्गर हाउस खुलेका छन्। आकर्षक साजसज्जामा सञ्चालनमा आएका ती रेस्टुरेन्टमा ग्राहकले गीत-संगीतको खुबै आनन्द लिन्छन्।

वीरगंजका ६ जना युवा उद्यमीले करीब दुई करोडको लगानीमा चिकेन स्टेसन खोलेका हुन्। गत असारदेखि सञ्चालनमा आएको सो रेस्टुरेन्टमा शाकाहारी र मांसाहारी गरी दुईवटा भान्सा रहेको सञ्चालक प्रकाश गुप्ताले बताए। आरबी कम्प्लेक्सको छैटौं तला र छत गरी महीनाको १ लाख २० हजार भाडा तिरेर उक्त रेस्टुरेन्ट सञ्चालनमा आएको हो।

अन्य दिन करिब दुई सय ग्राहकलाई सेवा दिइरहेको चिकेन हाउसले शुक्रबार, शनिबार र सार्वजनिक बिदाका दिन पाँच सय ग्राहकसम्मलाई सेवा दिने गरेको छ। रेस्टुरेन्टको आकर्षक लाइभ म्युजिक र ओपेन स्काइ डिनर छ।

यसैगरी, सोही भवनको पहिलो तलामा वीरगंजका व्यवसायी रोशन सर्राफले डेढ करोडको लगानीमा किङ्स लाउन्ज सञ्चालनमा ल्याएका छन्। १९ जना कर्मचारीलाई रोजगार दिएको उक्त रेस्टुरेन्ट दिउँसो १ देखि राति १० बजेसम्म सञ्चालन हुन्छ। रेस्टुरेन्टले दैनिक तीन सय ग्राहकलाई शाकाहारी र मांसाहारी परिकारबाट सेवा दिइरहेको छ।

लाठ गलीमा गत असारदेखि नै काठमाडौंको चेन रेस्टुरेन्ट द बर्गर हाउसः क्रन्ची फ्राइड चिकेन अत्याधुनिक डिजाइनमा सञ्चालनमा आएको छ। सर्लाहीकी रीताकुमारी ब्लोन (तामाङ) र वीरगंजका व्यवसायीहरु वीरेन्द्र पटेल, राजु साहको दुई करोड लगानीमा सञ्चालनमा आएको यो रेस्टुरेन्टमा २९ जनाले कर्मचारी छन्। उक्त रेस्टुरेन्टले बालबालिका र युवा पुस्तालाई आकर्षित गर्ने परिकारलाई महत्त्व दिएको छ।

रेस्टुरेन्टलाई विभिन्न आकर्षक पेन्टिङले सजाइएको छ। सो रेस्टुरेन्टमा पनि दैनिक दुई सय ग्राहक पुगिरहेको सञ्चालक वीरेन्द्र पटेलले बताए।
नयाँ नयाँ सज्जाका साथ रेस्टुरेन्टहरु सञ्चालनमा आउँदा पुराना साकाहारी रेस्टुरेन्टलाई चुनौती भएको छ।

व्यापार घट्न नदिन नयाँ सज्जाको शैलीलाई उणीहरुले पनि पछ्याएका छन्। रेस्टुरेन्टहरुले होम डेलिभरीको पनि सेवा दिने गरेकाले बसेर खाने र घर लिएर जाने ग्राहक मनग्य हुन्छन्।