छिट्टै नाफा कमाउन घरजग्गामा लगानी गर्दा डुब्न थाले सहकारी, निक्षेपकर्ताको अर्बौ जोखिममा

सविन ढकाल/बिजमाण्डू
२०७९ साउन १७ गते १२:३६ | Aug 2, 2022
छिट्टै नाफा कमाउन घरजग्गामा लगानी गर्दा डुब्न थाले सहकारी, निक्षेपकर्ताको अर्बौ जोखिममा

काठमाडौं। काठमाडौं महानगरपालिका-१४ कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको गौतम श्री बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक दुई सातादेखि फरार भएपछि बचतकर्ता चिन्तामा छन्। सञ्चालक सम्पर्कविहीन हुँदा बचतकर्ताको ७ अर्ब रुपैयाँभन्दा बढी रकम जोखिममा परेको छ।

Tata
GBIME
Nepal Life

सञ्चालक सदस्यदेखि सहकारी केही कर्मचारीसमेत सम्पर्कविहीन भएपछि बचतकर्ताले सहकारी विभागको ढोका ढकढकाएका छन्। आफ्नो बचत रकम लिएर सहकारीका सञ्चालक फरार रहेको भन्दै उनीहरूले नयाँ बानेश्वरस्थित सहकारी विभागमा उजुरी दिएका छन्। सोमबारसम्म १ हजार १ सय ४५ जनाले उजुरी दिएको सहकारी विभागका उपरजिस्ट्रार टोलराज उपाध्यायले बताए।

'सञ्चालक फरार रहेकाले आफ्नो लगानी डुबेको भन्दै उहाँले उजुरी दिनु भएको छ। त्यसको लागि हामीले कानुनी उपचारको बाटो खोजिसकेका छौं,' उपाध्यायले भने।

अहिले पनि विभागका उजुरी दिन आउने निक्षेपकर्ताको सङ्ख्या उतिकै छ। अहिलेसम्म सानोदेखि ठूलो रकम सहकारीमा राखेका बचतकर्ताले उजुरी दिएका छन्। एक जनाको १ लाखदेखि ५० लाख रुपैयाँसम्मको निक्षेप देखिएको छ। अहिलेसम्मको उजुरी परेको मात्र अध्ययन गर्दा डेढ अर्ब रुपैयाँ बराबरको डुबेको छ। सहकारीमा २५ सय भन्दाबढी निक्षेपकर्ता भएको पीडितहरूको भनाइ छ। त्यसको हिसाब गर्दा ७ अर्बभन्दा बढी रकम जोखिममा परेको छ।

सहकारीका अध्यक्ष रामबहादुर गौतम, उनकी श्रीमती (उपाध्यक्ष) निर्मला गौतम फरार छन्। गौतम परिवार भागेर भारत पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। कारोबार रोक्का भएपछि र सञ्चालक नै फरार भएपछि एभरेष्ट बैंकले शुक्रबार सहकारीको केन्द्रीय कार्यालयमा पुगेर सिलबन्दी गरेको छ। त्यस्तै सहकारी विभागले सहकारीको नाममा रहेको सम्पत्ति र अध्यक्षको सम्पत्ति समेत रोक्का गर्न सम्बन्धित निकायलाई पत्रकार गरिसकेको छ।

'हामीले संस्थान र व्यक्तिको नाममा रहेको सम्पत्ति रोक्का गर्नको लागि पत्राचार गरिसकेका छौं। त्यस्तै अन्य निकायलाई समेत जानकारी दिएका छौं,' उपरजिस्ट्रार उपाध्यायले भने।

सहकारी विभागले अध्यक्ष रामबहादुर गौतम, उपाध्यक्ष निर्मला गौतम, सचिव राम गौतम, प्रमुख व्यवस्थापक रवीन्द्र विष्ट लगायत केही कर्मचारीलाई खोजेर विभागमा जिम्मा लगाउन प्रहरी प्रधान कार्यालय नक्साललाई पत्राचार गरिसकेको छ। प्रहरीले सञ्चालकलाई खोजी गर्न थालेको छ।

बढ्दो सहकारी ठगी

गौतम श्री सहकारी ठगी प्रकरण यतिको चर्चामा आएको मात्र हो तर नौलो भने होइन। सहकारी ठगी प्रकरणमा प्रहरीदेखि सहकारी विभागले समय समयमा पक्राउ तथा कारबाही गरिरहेको छ।

पछिल्लो समय सबैभन्दा धेरै चर्चामा आएको सहकारी ठगी प्रकरण सिभिल सहकारी हो। सभासद् तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ अहिले अदालतको आदेशमा कारागारमा छन्। उनको मुद्दा जिल्ला अदालत काठमाडौंमा चलिरहेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तामाङसहित गत असोज १८ गते ठगी आरोपमा १२ जना पक्राउ गरेको थियो। तामाङ लगायत ४२ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो। जिल्ला अदालत काठमाडौंमा उनीहरूविरुद्ध ५ अर्ब ७७ करोड ८० लाख ९० हजार ९ सय २ रुपैयाँ बिगोसहित ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको थियो। अदालते तामाङलाई पुर्पक्षको लागि थुनामा पठाएको हो।

त्यस्तै उनकी श्रीमती सिर्जना शाक्यलाई पनि  केन्द्रीय अनुसन्धान ब्युरो( सीआइबी) को टोलीले साउन ३ गते पक्राउपछि सार्वजनिक गरेको छ। गत पुस २७ गते जिल्ला अदालत काठमाडौंद्वारा आफूविरुद्ध पुर्जी जारी भएपछि शाक्य फरार थिइन्। उनी सिभिल सहकारीमा लेखा समिति सदस्य रहेको खुलेको थियो।

सहकारी विभागमा अहिलेसम्म १२ वटा सहकारीले बचतकर्ताको रकम तिर्न नसकेर फरार भएका थिए। सहकारी विभागले यस्ता सहकारीलाई समस्याग्रस्त घोषणा गरेर कारबाही गरिरहेको उपरजिस्ट्रार उपाध्यायले बताए। गएको आर्थिक वर्षमा ३ सय सहकारीविरुद्ध विभिन्न उजुरी विभागमा परेको छ। सहकारी विभागको तथ्यांक अनुसार देशभर ३० हजार सहकारी संस्था दर्ता छन्।

त्यस्तै अहिले काठमाडौंको बलम्बुमा रहेको प्रज्ञान बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको १७ करोड ९५ लाख रुपैयाँ हिनामिना गरेको  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) टोलीले अनुसन्धान गरिरहेको छ। संस्थाका अध्यक्ष श्रीकृष्ण महर्जनसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

उनीहरूविरुद्ध अदालतबाट ठगी मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। काठमाडौंको चन्द्रागिरि-१२ को उक्त सहकारीले बचतकर्ताबाट उठाएको रकम अध्यक्ष लगायतले धितो जमानी नराखी, नक्कली मुद्दती बचत प्रमाण दिने, नक्कली कर्जा लगानी गर्ने र सेयर अपचलन गर्ने गरेको देखिएको हो।

प्रहरीले सहकारी अध्यक्ष सहर्जनसहित उपाध्यक्ष विरकृष्ण महर्जन, कोषाध्यक्ष धनकृष्ण महर्जन, सचिव धर्मरत्न महर्जन, तत्कालीन सचिव सुरज महर्जन, ऋण उपसमिति सदस्य अष्टकुमार महर्जन, लेखा परीक्षक हिमालयराज जोशी र दीपक रानामगरलाई नियन्त्रणमा लिएको हो।

सहकारीले बचतकर्ताको १७ करोड ९४ लाख ७६ हजार ५ सय १८ रुपैयाँ हिनामिना गरेको प्रहरीको अनुसन्धान खुलेको छ।

समस्यामा किन पुग्दैछन् सहकारी ?

सहकारीको नियमन फितलो हुँदा संचालकले आफूखुशी लगानी गरिरहेका छन्। उनीहरुले छोटो समयमा धेरै नाफा कमाउने क्षेत्रमा लगानी गर्दा सहकारी डुब्ने गरेको छ।

डुबेका अधिकांश सहकारी घरजग्गा र सेयरमा धेरै लगानी देखिएको छ। 'धेरै नाफा हुने क्षेत्र घरजग्गा नै हो। त्यही भएर अर्बौ कारोबार गर्ने सहकारीका अध्यक्ष र संचालकले आफूखुशी घरजग्गामा कारोबार गर्ने र कारोबारमा मन्दी आएपछि समस्यामा पर्ने गरेको देखिएको छ,' विभागका एक कर्मचारीले भने, 'कोभिडपछि धेरैले घरजग्गामा लगानी गरे। भाउ उकालो पनि लाग्यो। तर अहिले तरलता अभावसँगै कारोबार रोकिँदा सहकारीहरु समस्यामा परेका हुन्।'

ती कर्मचारीका अनुसार सहरी क्षेत्रका धेरै सहकारीले साना साना बचतकर्ताबाट उठाएको पैसा घरजग्गा कारोबारमा लगाएका छन्। ती सहकारी विस्तारै समस्यामा परेर निक्षेपकर्ताले रकम नपाउने अवस्था आउने उनी बताउँछन्। 'विभागले सहकारीको नियमन गर्न सक्ने अवस्था छैन। अर्बौ रुपैयाँ कारोबार गर्ने कम्पनीका अगाडि विभाग निरीह छ,' उनले भने, 'अहिलेको तरलता अभाव हेर्दा यो वर्ष धेरै सहकारी डुब्ने र लाखौं निक्षेपकर्ताले निक्षेप नपाउने अवस्था आउने देखिएको छ।'

 विगतमा घरजग्गाको कारोबारबाट ओरियन्टल सहकारी समेत डुबेको थियो। ओरियन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेत थिए। घरजग्गाको कारोबार चम्किएपछि उनले सहकारीको पैसा त्यतै लगाए। तर राष्ट्र बैंकले ऋणमा सीमा तोकिदिएपछि तासको पत्तिजस्तै उनको व्यवसायिक साम्राज्य ढल्यो।

उनले ओरियन्टल सहकारीबाट अर्बौ रुपैयाँ घरजग्गामा लगानी गरेका थिए। त्यहाँ पैसा राखेका धेरैले अहिलेसम्म पनि निक्षेप फिर्ता पाएका छैनन्। सिभिल सहकारी पनि घरजग्गाकै कारण डुबेको हो। ती कर्मचारीका अनुसार सरकारले नियमन नगर्ने हो भने धेरै जनता सहकारीबाट पीडित बन्नेछन्।