ड्राइपोर्ट भन्सारमा साढे सात करोडको हरियो केराउ वर्ष दिनदेखि रोकियो, छुटाउन आएनन् आयातकर्ता

बिजमाण्डू
२०७९ असार १५ गते ०९:१६ | Jun 29, 2022
ड्राइपोर्ट भन्सारमा साढे सात करोडको हरियो केराउ वर्ष दिनदेखि रोकियो, छुटाउन आएनन् आयातकर्ता


वीरगंज। वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयमा विगत एक वर्षदेखि करीब साढे सात करोड रुपैयाँ बराबरको केराउ थन्किएको छ। भन्सारका अनुसार, ३३ कन्टेनर हरियो केराउ थन्किएको हो।

Tata
GBIME
Nepal Life

कागजात नपुग्दा आयातकर्ताले ती सामग्री छुटाउन नसकेको भन्सार अधिकारीहरुले बताएका छन्। काठमाडौं महानगरपालिका–१४ कुलेश्वरको अरिहन्त ट्रेडर्स सप्लायर्सले यो केराउ आयात गरेको हो। 

२०७७ चैत ३१ गतेको पत्र अनुसार, वाणिज्य मन्त्रालयले आयातकर्तालाई २ हजार टन केराउ, २ सय टन छोकडा र ५ सय टन नधुलाएको मरिच आयात गर्ने अनुमति दिएको थियो। क्यानडाबाट हिँडेको मालसामान विशाखापट्टनम हुँदै रेलमार्गबाट वीरगंज आउन ढिलाइ हुँदा छुटाउन समस्या भएको बताइएको छ।

वाणिज्य मन्त्रालयको पत्रमा आव २०७७/०७८ अर्थात् २०७८ असार मसान्तभित्र जाँचपास गराइसक्नुपर्ने व्यवस्था थियो तर कोरोना महामारीको कारण सीपमेन्टमा ढिलाइ हुँदा सामान आव २०७८/०७९ मा वीरगंजको ड्राइपोर्ट भन्सारमा पुगेको थियो।

त्यतिबेला पनि आयातकर्ताले राजस्वको रकम बुझाएर छुटाउने प्रयास गरेका थिएनन्। पाँचवटा कन्साइनमेन्टमा गरी करीब ३३ कन्टेनर केराउ अड्केको हो।

एउटा कन्टेनरमा २२ लाख ५१ हजार ४ सय मूल्य बराबरको केराउ रहेको बुझिएको छ। केराउमा नेपाल सरकारले १० प्रतिशत भन्सार महशुल मात्र लिने नियम छ। यसरी ३३ कन्टेनरको हिसाब निकाल्ने हो भने सात करोड ४२ लाख ९६ हजार २ सय मूल्य बराबरको सामान अड्केको हो।

आयातकर्ताले पटक–पटक जाँचपासको लागि प्रयास गर्दा प्लान्ट क्वारेन्टाइनले वाणिज्य विभागबाट चालू आवमा जाँचपास गराउनुपर्ने पत्र ल्याए मात्र ती सामानको परीक्षण गरेर जाँचपास हुनसक्ने आश्वासन दिएको छ।

प्लान्ट क्वारेन्टाइन ड्राइपोर्ट शाखाका प्राविधिक सहायक रामनरेश साहका अनुसार विगत लामो समयदेखि थन्किएको खाद्य पदार्थ सद्धे छ कि कुहिएको छ, प्लान्ट र खाद्य क्वारेन्टाइनले चेक गर्छ। उपभोग योग्य छ भने मात्र लैजान पाइन्छ नत्र नियमानुसार नष्ट गर्नुपर्ने हुन्छ। बन्दरगाह भंसार कार्यालयका सूचना अधिकारी सन्तोष न्यौपानेले आयातकर्तालाई बोलाएर आवश्यक कारबाईको लागि पहल थाल्ने बताए।