
काठमाडौं। भारतीय गाडी उत्पादक कम्पनी महिन्द्रा एण्ड महिन्द्राले सोमबार एकैपटक तीन मुलुकमा एसयुभी नयाँ संस्करण 'स्कोर्पियो एन' सार्वजनिक गरेको छ।
यो एसयुभी सोमबार एकैदिन भारत, दक्षिण अफ्रिका र नेपाल गरि तीन मुलुअमा एकैपटक सार्वजनिक भएको हो।
नेपालका लागि आधिकारिक बिक्रेता अग्नि समूहले यो गाडी सार्वजनिक गरेको हो। नयाँ बडी-अन-फ्रेम प्लेटफर्ममा तयार गरिएको यो एसयुभीको बिक्री वितरण आउँदो दसैंबाट सुरु गर्ने योजना रहेको कम्पनीले जनाएको छ।
पेट्रोल र डिजेल गरि दुवै इन्जिन अप्सनमा रहेको यो गाडी ३ वर्षयता भारतका विभिन्न भौगोलिक क्षेत्रमा परीक्षणपछि सार्वजनिक गरिएको जनाइएको छ।
कम्पनीले आफ्नो ल्यान्डमार्क मोडलका रुपमा लिदै आएको स्कोर्पियोको पहिलो ठूलो बजार नै नेपाल रहेका कारण नयाँ संस्करणमा जडान गरिएका विशेषताले ग्राहकलाई थप नौलो अनुभव दिने कम्पनीले दाबी गरेको छ।
आकर्षक डिजाइन, रोमाञ्चक प्रदर्शन र अत्याधुनिक प्रविधियुक्त गाडीमार्फत महिन्द्रा विरासतलाई अगाडि बढाउने स्कोर्पियो-एन संस्करण सार्वजनिक गरिएको अग्निले जनाएको छ।
आधुनिक सुविधाहरू र प्रविधि जडान गरिएको गाडीमा क्रोम भर्टिकल स्ल्याट्ससहितको स्लेट गरिएको नयाँ ग्रिल, क्रमिक टर्न इन्डिकेटरसहितको डुअल प्रोजेक्टर हेडल्याम्प, नयाँ बम्पर र दुवै छेउमा नयाँ सी आकारको एलईडी डीआरएल लगायत समावेश गरिएको छ।
गाडीको पछाडिको भागमा भोल्भो जस्तो सिग्नेचर एलईडी टेललाइटहरूद्वारा हाइलाइट गरिएको छ। सनरुफ, मल्टी फङ्सन स्टेयरिङ ह्वील, डुअल जोन क्लाइमेट कन्ट्रोल र छालाको अपहोल्स्ट्री जडान गरिएको यो गाडीम भोल्युम, क्लाइमेट कन्ट्रोल र अन्य फङसनका लागि फिजिकल बटन उपलब्ध छ।
गाडीमा क्रुज कन्ट्रोल र माउन्टेड कन्ट्रोल जस्ता अन्य फिचरको साथ अपडेट गरिएको फ्ल्याट(बटम स्टेयरिङ ह्विल छ।
अटोमेटिक र म्यानुअल दुवै ट्रान्स्मिसनमा रहेको गाडीको आन्तरिक भागमा नयाँ अपहोल्स्ट्री, ड्युअल टोन थिम, ३६० डिग्री क्यामेरा, ड्युअल जोन क्लाइमेट कन्ट्रोल र कनेक्टेड कार टेक्नोलोजी लगायत विशेषता समावेश गरिएको छ।
यसैगरी यात्रु सुरक्षालाई मध्यनजर गर्दै गाडीमा ६ वटा एयरब्याग र स्टेरिङ कन्ट्रोल सिस्टम सुविधा समावेश गरिएको छ।
ठुलो क्याबिन स्पेस उपलब्ध रहेको यो गाडी २.० लिटर पेट्रोल र २.२ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
भारतमा यसको मूल्य भेरियन्ट अनुसार भारु १२ लाखदेखि १९ लाख ४९ हजारसम्म तोकिएको छ। तर यसको मूल्य नेपालमा भने तोक्न बाँकी नै रहेको कम्पनीले जनाएको छ।
सोमबार महिन्द्राले नयाँ लोगोसहितको एसयुभी सार्वजनिक गरेको हो। उक्त लोगोले महिद्रा ब्रान्ड के हो र आगामी दिनमा यसको उचाइ कहाँसम्मको हो भन्ने अवधारणा अन्तर्गत रहेको जनाइएको छ। नयाँ लोगोलाई ट्विन पिक भनिएको छ।
कम्पनीका अनुसार हाल नेपालमा महिन्द्रा गाडीको ७० हजार ग्राहक छन्।