काठमाडौं। नेपाल उद्योग परिसंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रबीच श्रम, रोजगार लगायतको विषयमा छलफल भएको छ। परिसंघको रोजगारदाता परिषद्ले केन्द्रको पाँचौं श्रम संसदबाट चयन भएका पदाधिकारीलाई बधाई समेत दिएको छ।
परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड १९ को विशेष परिस्थितीमा कर्मचारीहरुले समझदारी पूर्ण सहयोग गरेको बताए। केन्द्रको स्थापना भएदेखि राम्रो श्रम सम्बन्ध स्थापित हुँदै आएको भन्दै उनले ट्रेड युनियन, कर्मचारीहरुबाट राम्रो सहयोग पाइरहेको बताए।
मुलुकको अर्थतन्त्रको अहिलेको मुख्य चुनौती तरलता, शोधनान्तर घाटा, विदेशी मुद्रा संचितिमा परेको चाप रहेको उनले बताए। ‘तरलताको समस्या हुँदा उद्योगीहरुले बैंकबाट ऋण पाइरहेका छैनन्। नयाँ उद्योगहरु स्थापना हुन सकेका छैनन्। भएका उद्योगहरुले पनि लगानी विस्तार गर्न पाइरहेको अवस्था छैन’, उनले भने।
कार्यक्रममा संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रका अध्यक्ष प्रेमलकुमार खनालले श्रमिकको समस्या समाधान गर्न केन्द्र साझा थलो बनेको बताए।उनले न्यूनतम पारिश्रमिक लागू गर्ने विषय चुनौतीपूर्ण रहेको भन्दै योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा पनि थोरै मात्र कर्मचारी, श्रमिक आवद्ध भएको बताए। उनले श्रमिकहरुको सीप विकासमा रोजगारदातासहित राज्यले पनि दायित्व निर्वाह गर्नुपर्ने बताए।
कार्यक्रममा सहभागीहरुले श्रमिकका कारणले उद्योग व्यवसाय बन्द हुने अवस्था नभएको तर सरकारको राजश्व नीतिका कारण उद्योगीहरुले नै उद्योग बन्दगर्नुपर्ने अवस्था देखिएको बताए।
कार्यक्रममा परिसंघको रोजगारदाता परिषद्का संयोजक अमित बेगानी, परिसंघका महानिर्देशक दीपकराज जोशी, केन्द्रका महासचिव नवराज दाहाल, महिला समिति सचिव रिता पोखरेल, संयुक्त ट्रेड युनियन समन्वय केन्द्रमा आवद्द १० वटा राष्ट्रिय ट्रेड यूनियन महासंघका अध्यक्ष एवं पदाधिकारीहरु सहभागी थिए।