तरलता संकटले ‘एसेट ट्रयाप’मा बैंक तथा वित्तीय संस्था, ऋण नउठेपछि लिलामीको जग्गा बिक्री ठप्प

बिजमाण्डू
२०७९ जेठ २५ गते ०६:०९ | Jun 8, 2022
तरलता संकटले ‘एसेट ट्रयाप’मा बैंक तथा वित्तीय संस्था, ऋण नउठेपछि लिलामीको जग्गा बिक्री ठप्प


काठमाडौं। बैंकले ऋण दिन छाडेपछि लिलामीमा राखेका जग्गा समेत  विक्री हुन छाडेको छ। विस्तारै बैंक तथा वित्तीय संस्था पनि 'एसेट ट्रयाप'मा पर्न थालेका छन्।

Tata
GBIME
Nepal Life

लिलामीको जग्गा बिक्री हुन छाडेपछि बैंकको निस्क्रिय कर्जा समेत बढ्न थालेको छ।

बैंकको पैसाका कारण भुक्तानी प्रक्रिया सहज भइरहेका बेला बैंकले ऋण दिन छाडेपछि त्यो चक्र अबरुद्ध भएर ऋण उठ्तिमा समस्या भएको हो।

तरलता अभावका कारण चौतर्फी रुपमा आर्थिक गतिविधि रोकिएको छ। आर्थिक गतिविधि नहुँदा घरजग्गा कारोबारसमेत घटेको छ। सेयर बजारसमेत घटेका कारण मान्छेको सम्पतिको मुल्य दिनदिन तल आइरहेको छ। बजारको उधारो समेत उठ्न समस्या हुन थालेको छ।

बजारलाई चलायमान बनाउने बैंक ऋण भएकाले त्यो रोकिँदा समग्र प्रणालीमै असर गरेको हो। बैंकरका अनुसार, घरजग्गा बेचेर ऋण तिर्ने अवस्था पनि अहिले छैन। किन्न चाहनेले पनि बैंकबाटै पैसा ब्यवस्थापन गर्ने हो, बैंकले पैसा नदिएपछि खरीद गर्ने अवस्था छैन।

'यसले गर्दा रियलस्टेटमा मात्र होइन अन्य ब्यापार ब्यवसायको पनि पैसा असुलीमा विस्तारै दबाब देखिन थालेको छ' नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले भने, 'अहिले सबैतिर दबाबै अवस्था छ।'

बैंकहरुले ऋण उठ्न छाडेपछि ऋणीलाई कालोसूचीमा राख्ने क्रम पनि बढेको छ। कर्जा सूचना केन्द्रका अनुसार, पोहोरको तुलनामा अहिले दोब्बरले कालोसूचीमा पर्नेहरु बढेका छन्। 

ऋण लिने अधिकांस ग्राहकले धितोका रुपमा घरजग्गा तथा अन्य अचल सम्पतिहरु राख्ने गर्छन्। अहिले ब्यापार पनि मन्दीजस्तो देखिएको छ। नगद प्रवाह धेरै भएकाहरुको कारोबारमा समस्या नभएपनि उधारो कारोबारबाट ब्यापार गर्नेहरु अप्ठेरोमा परेका छन्। 

'घरजग्गा बेचेर ऋण तिर्छु भन्दा पनि सकिने अवस्था छैन। खरीदकर्ता भेटिन छाडेको छ। बैना हुन्छ तर नामसारी गर्न बाँकी पैसा नहुने समस्या धेरै देखिएको छ' पाण्डेले भने, 'यसले बैंकहरुको खराब ऋण बढाउने छ।'

लक्ष्मी बैंकका प्रमुख कार्यकारी अजयबिक्रम शाह ऋण रिपेमेन्टमा समस्या देखिन थालेको बताउँछन्। उनका अनुसार, प्रणालीमा तरलता नहुँदा त्यसको चक्रिय असर भुक्तानीमा देखिएको हो।

बैंक तथा वित्तीय संस्थाहरुका अनुसार, गत असोजयता बैंक तथा वित्तीय संस्थाहरुले लिलामीका सूचना बढी निकाल्न थालेका छन्। अधिकांस सुचना विकास बैंक र फाइनान्स कम्पनीका छन्। यसवाहेक सहकारीहरुले पनि ऋण तिर्न आउन सार्वजनिक आह्वान गरिरहेका छन्।

बैंकरका अनुसार, नेपाल राष्ट्र बैंकले बैंक तरलता अभावले अन्य क्षेत्रले ऋण नपाउने अवस्था आउने भन्दै घरजग्गा सेयरलगायतका क्षेत्रमा एक रत्ति पनि लगानी नगर्न उर्दी जारी गरिरहेको छ। केही साताअघि राष्ट्र बैंकका उपल्ला अधिकारीहरुलाघ भेटेर फर्किएका एक बैंकरले 'अलिकति पनि जग्गामा लगानी गरेको पाइए राम्रो हुँदैन' भनेको बताए। 

केही बर्षअघि पनि लिलामीको सम्पति बिक्री नहुने अवस्था आएको थियो। स्रोत देखाउनु पर्ने र महँगो ब्याजका कारण सम्पति बिक्री ठप्प भएको थियो। यसपालीको प्रवृति फरक छ। महँगो ब्याज तिर्छु भन्नेले समेत ऋण पाउने अवस्था छैन। ऋण पाउन छाडेपछि उद्यमीले तिर्नुपर्ने पैसा पनि बैंकलाई बुझाउन छाडेका छन्। मागेको बेला बैंकले दिन सक्दैन भनेर उनीहरुले बुझाउन छाडेका हुन्। यसले पनि बैंकको ऋण उठ्तीमा समस्या थपेको छ। 

एउटा क्षेत्रका लागि भनेर ऋण लिएर जग्गामा लगानी गरेकाहरु अहिले समस्यामा छन्। राष्ट्र बैंकले अहिले धमाधम बैंकहरुमा अनुगमन टोली पठाउन थालेको छ। उनीहरुले कैफियत देखेमा शतप्रतिशत नोक्सानी ब्यवस्थापन गर्नु पर्ने हुन्छ। यसले बैंकको वासलात बिग्रिन जान्छ। त्यसो हुँदा बैंकहरुले पनि अहिले जसरी हुन्छ पैसा तिर्न दबाब दिन थालेका छन्।

बैंकको दबाबमा परेकाहरुले बैंकरलाई नै ग्राहक खोजिदिन भन्न थालेका छन्। बैंकहरुलाई असार मसान्तभित्र कर्जा-निक्षेप अनुपात ९० प्रतिशतभित्र ल्याउनु पर्ने दबाब छ। यस्तोमा उनीहरुले घरजग्गामा गएको ऋणलाई कम गर्न खोजिरहेका छन्। त्यसो हुँदा धेरैले जग्गा बिक्रीमा राखेका छन्।

'एकै पटक धेरै जग्गा बिक्रीमा राख्दासमेत बिक्री हुन नसकेको हुन सक्छ' अर्का एक बैंकरले भने, 'मुख्य कुरा भने ऋण नै हो। ऋण उपलब्धता नहुँदा नै उनीहरु समस्यामा परेका हुन्। बैंक पनि समस्यामा परेको हो।'