राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक बन्न १२ जनाको आवेदन, को को छन् ?

बिजमाण्डू
२०७९ जेठ २४ गते १३:४६ | Jun 7, 2022

काठमाडौं। राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक बन्न १२ जनाको आवेदन परेको छ। रिक्त रहेको कार्यकारी निर्देशक पदका लागि सञ्चार मन्त्रालयले जेठ १२ गते आवेदन माग गरेको थियो। आवेदन दिने म्याद सोमबार सकिएको छ। 

Tata
GBIME
NLIC

आवेदन दिनेमा विनोद ढकाल, अनुप बाँस्कोटा, प्रदीप शर्मा पौडेल, रमेशप्रसाद जोशी, विश्वास खतिवडा, गुणानन्द पाठक छन्। 

यस्तै, आवेदकमा नरेन्द्रबहादुर बोहरा, रामेश्वर सुवेदी, महेशकुमार यादव, लक्ष्मीप्रसाद यादव, सुरेशकुमार कर्ण र प्रदीपकुमार श्रेष्ठ रहेको मन्त्रालय स्रोतले जनाएको छ। 

विनोद ढकाल कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) का पूर्व अध्यक्ष हुन् भने अनुप बाँस्कोटा लुम्बिनी प्रदेशको सञ्चार तथा सूचना प्रविधि प्रतिष्ठानको कार्यकारी निर्देशक हुन्। रमेशप्रसाद जोशी सर्वोच्च अदालतमा कार्यरत थिए। नरेद्रबहादुर बोहरा केन्द्रकै पूर्व बोर्ड सदस्य हुन्।  

रामेश्वर सुवेदी डीएभी इन्स्टिच्युट अफ आइटी कलेजका प्रिन्सिपल हुन्। महेशकुमार यादव पाटन क्याम्पसको कम्प्युटर विभागको विभागीय प्रमुख हुन्। लक्ष्मीप्रसाद यादव सूचना प्रविधि विभागको पूर्व महानिर्देशक र सुरेशकुमार कर्ण पनि कम्प्युटर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष हुन्।

अब सबै उम्मेदवारले पेस गर्ने व्यवसायिक कार्ययोजना, त्यसको प्रस्तुतीकरण र अन्तर्वार्ताको मूल्यांकनका आधारमा नियुक्तिका लागि सिफारिस गरिने मन्त्रालयले जनाएको छ। 

सरकारले केन्द्रको कार्यकारी निर्देशक सुनिल पौडेललाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक बनाएपछि उक्त पद रिक्त छ। पौडेल टेलिकम गएपछि केन्द्रको कामु कार्यकारी निर्देशकको जिम्मा सफल श्रेष्ठले सम्हाल्दै आएका छन्।