काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले बजेट किसान र निर्यातको रुपान्तरणका लागि नयाँ भिजनका साथ आएको बताएका छन्।
समाजका सबै पपक्षसँग छलफल गरी बनेको बजेट भएको भन्दै अर्थमन्त्री शर्माले सबैको साथ सहयोग पाएमा बजेट कार्यान्वयन हुने पनि उनले बताए।
'रौतहटका डुम, चमार, सतार, कर्णालीका जनतादेखि हरेक क्षेत्रका बिज्ञ र पक्षसँग छलफल गरी प्रश्नोत्तर गरी वहाँहरुको माग बजेटमा समेटिएको हो। आम जनताको स्वामित्व भएकाले यो कार्यान्वयन अवश्य हुन्छ।'- उनले भने।
बजेटमाथि उठेका प्रश्न र बहसले बजेटलाई कार्यान्वयनमा अझ बढी मद्दत पुग्ने उनको भनाई छ। '१०० प्रतिशत नै यही हो भनेको होइन। छुटेका कुरा समेट्दै जाउँला। हिजो संरचनामा ध्यान दिइएको थिएन। आजको बजेटमा संरचनासहित आएको छ । बिधिसहित आएको छ। संरचना, बिधि र कार्यक्रम छ। परिणाम यसरी ल्याउने भन्ने लक्ष्य पनि छ। त्यसैले यो बजेट कार्यान्वयनमा जानेमा म ढुक्क छु।'- उनले भने।
राज्यले किसानलाई सम्मान र उत्साहित बनाउने किसिमले बजेट ल्याइएको उनले बताए। कृषिलाई यान्त्रिकीकरण र व्यवसायीकरण गर्नेतर्फ सरकारले सुरुवाती काम थालेको उनको भनाई छ।
'सुरुवात यसरी नै हुने हो। संरचनागत रुपमा पनि कृषि क्षेत्रको रुपान्तरण गर्न चाहेको हो।'- उनले भने। पहाड पूजा गर्न मात्र हो प्रयोग गर्न होइन? हाम्रो बनजंगलमा रुख कुहाएर फाल्ने अनि मलेसिया, चीनबाट काठ ल्याउने हो? नदीमा पानी बगरिरहेको छ । त्यहीको ढुंगाले तटबन्ध बनाउन सकिन्न? विद्युत र सिमेन्टलाई लक्षित गरी बजेटले निर्यातलाई प्रोत्साहन गरिरहेको छ। बिदेशी मुद्रा ल्याउँछ भने अनुदान किन नदिने? अनुदान दिँदा अझ प्रतिस्पर्धी हुन्छ भने किन नदिने? जुत्ता स्टिल उद्योगलाई बिस्तार गर्ने हो। कृषिजन्य कुरालाई निर्यात गर्ने। के हाम्रो काम सुपारी ल्याउने र सुपारी निर्यात गर्ने मात्रै हो? त्यो त अब सकियो। इतिहास भयो।'
उनले बजेट सम्बोधन गर्ने किसिमको मौद्रिक नीति आउने अपेक्षा गरे। बजेटमा निर्यात गर्ने उद्योगलाई राज्यले सक्ने जति छुट दिएको बताए।
उनी भन्छन्- 'भारतले चिनी रोक्यो आत्तिनु पर्दैन । छ महिनामा उखु तयार हुन्छ। चिनी मिल हामीसंग छ कि आत्तिनु । धानको बीउ ल्याएर तत्काल सुरु गरौं भनेको नमिल्ने रैछ। यसको अध्यन हुँदैछ। सकेसम्म छिटो गर्ने प्रयास गरेका छौं।'
श्रमलाई उच्च उत्पादकत्वमा कसरी बदल्ने भन्ने तर्फ पनि सोच्नेबेला आएको उनले बताए। कुनै पनि विषयबारे छलफल गर्दा पर्याप्त अनुसन्धान हुने नगरेको भन्दै उनले अब अनुसन्धानहरु अघि बढाउनुपर्ने धारणा राखे। वस्तु र सेवाको निर्यातमा ध्यान दिन सरकार लागेको उनले बताए।
अर्थमन्त्रीले लघुवित्तमार्फत जनतालाई सस्तो ऋण उपलब्ध गराउनका लागि योजना अघि बढाइएको बताए। उनले भने-'पैसा जनताकै हो। जनताले आफ्नो योगदानको प्रतिफल पाउनुपर्छ।'
बजारमा तलताको अभावका बिषयमा उनले पुँजीको परिचालन भैरहको छ र कहाँ अड्किएको छ भनेर खोज्नुपर्ने बताए। बजारमा पैसा किन आइरहेको छैन केमा लगानी भएको छ भन्ने खोज्ने उनको भनाई छ।
'पुँजीबजारमा एनआरएन र श्रमिक हरुलाई निश्चित आरक्षण दिने कुरा सकारात्मक होइन र बजार बिस्तारका लागि आवश्यक होइन र? अब थप मौद्रिक नीतिले यसलाई समेट्नेछ।'- उनले भने -'कृषिमा सबैले संकल्प गरेर अघि बढेमा सफल भइन्छ। म मेरै देशको तरकारी खान्छु भन्ने प्रण सबैले गरौं आम स्तरमै गरौं । अर्थमन्त्री एकजनाले मात्र बोलेर हुने कुरा मात्र होइन नि!'