नेपाली घरः एक अर्ब लागतको प्रिमियम बुटिक होटल, जसले गराउँदैछ आतिथ्यमा फरक अनुभूति

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७९ जेठ ७ गते ०९:३९ | May 21, 2022
नेपाली घरः एक अर्ब लागतको प्रिमियम बुटिक होटल, जसले गराउँदैछ आतिथ्यमा फरक अनुभूति

काठमाडौं। जनजीवन सामान्यतर्फ फर्किएसँगै राजधानीको पर्यटकीय केन्द्र ठमेलमा भीडभाड छ। आन्तरिक र विदेशी पर्यटकको ओहरदोहर बढेको छ। दुई वर्षपछि पुनः बढेको चहलपहलले कोभिडकाल बिर्साएको छ। पर्यटकका लागि ठमेलमा फरक पहिचान बोकेको होटल सञ्चालनमा छ।

Tata
GBIME
Nepal Life

ठमेलको अमृत मार्ग प्रवेश गरेलगत्तै तीन सय मिटर पर दाहिनेतर्फ एउटा नेपाली परम्परा झल्कने घर देखिन्छ। मुख्य प्रवेशद्वारबाट भित्र पसेलगत्तै कता कता काठमाडौंको परम्परागत घरभित्र पुगेको आभाष धेरैलाई गराउने यो होटल हो – नेपाली घर। 

यो होटलले विशेषगरी सजावट र आतिथ्यको तरिकामा नेपाली संस्कृति परम्परालाई जोड दिएको छ। भित्र पसेपछि देखिन्छ एउटा चिया पसल। जसमा 'अल डे डाइनिङ' सेवा उपलब्ध छ। ठमेल आफैंमा विदेशी पर्यटकको हब भए पनि चियापसलमा आएर नेपाली रैथाने परिकारदेखि कन्टिनेन्टल खानाको स्वाद लिनकै लागि बाह्य र आन्तरिक पर्यटकको सहभागिता उल्लेख्य रहँदै आएको सञ्चालक राजु श्रेष्ठ बताउँछन्।

नेपाली घर चार वर्ष अघिदेखि सञ्चालनमा ल्याइएको हो। दुई वर्षअघि यो होटल नेपाली संस्कृतिमा आधारित पहिचानसहितको बनाउन विस्तार गरिएको थियो। कोभिडकाल सुरु हुनु दुई महिनाअघि होटल पछाडिको एक सय वर्ष पुरानो राणाकालीन भवन संरचना रेनोभेट सुरु गरिएको थियो। यो सेतो घर रेनोभेटको काम अहिले पनि भइरहेको छ।

नेपाली घर अन्तर्गत रेष्टुरेन्ट 'चियापसल'मा दुई सय जना क्षमता छ। यसअघि होटल माथिको ओपन टेरेसमा ४० जनाको क्षमता थियो भने चियापसलमा ६० जना क्षमता थियो। टेरेसमा रहेको लाउन्ज भने होटलमा बस्ने पाहुनाका लागि प्रयोग हुने उनले बताए।

लामो समयका लागि बस्न आउने पर्यटकका लागि उपयुक्त वातावरण दिनु नै होटलको मुख्य उद्देश्य रहेको उनले बताए। सुरुमा १८ आनामा सञ्चालित होटलले थप तीन रोपनी जग्गा लिजमा लिएर क्षमता विस्तार गरेको हो। होटलको डिजाइन सिद्धार्थ गोपालनले गरेका हुन्। पुरानै संरचनामा आवरण परिवर्तन गरिएको उनले जानकारी दिए।

'नेपालमा आउने पर्यटक जहाँ बस्यो त्यो नै नेपाली घर हो। यही अवधारणामा हामीले होटलको नाम राखेका हौं। हाम्रो देशको संस्कृति परम्पराको झल्को दिन होटलको इन्ट्रान्स गेटदेखि नै पुरातात्विक सामान राखेका छौं,' उनले भने।

उनका अनुसार होटलको अगाडि भागमा रहेको भवनमा ३५ र पछाडिपट्टि सेतो भवनमा २५ वटा कोठा छ। यस बाहेक होटलमा मेडिटेसनका लागि २० जना क्षमताको हल पनि छ।

होटलमा आउने पर्यटकलाई नेपालीपनाको आभाष दिनु नै मुख्य उद्देश्य रहेको बताउँदै उनले भने, 'अन्तर्राष्ट्रिय चेन होटलको अनुभव त विदेशी पर्यटकले आफ्नै मुलुकमा पनि लिइसकेका हुन्छन्। तर, नेपाल आइसकेपछि उनीहरुले चाहने भनेको त नेपालीपनाको महसुस हो नि। हामीले आफ्नो सेवा र आवरणमा नेपालीपना नै देखाएका छौं।'

हाल होटलले पछाडि पट्टिको ग्राउण्ड फ्लोर मात्र सञ्चालनमा ल्याएको छ। हाल सञ्चालनमा ल्याइएका ३५ वटा कोठामा ९० प्रतिशत अकुपेन्सी हुँदै आएको उनले जानकारी दिए।

परिकारमा नेपालीदेखि कन्टिनेटलसम्म 
होटलले नेपाली रैथाने परिकार र कन्टिनेन्टल गरी दुवै थरीको खाना पस्किँदै आएको छ। 'चिया पसल' मार्फत खानपिन सेवा दिँदै आएको होटलले परिकारमा 'स्पेसियलाइज' भने नगरेको उनले बताए। होटलले आफ्नो कर्मचारीका लागि नेपाली शैलीकै आवरणमा प्रस्तुत गर्दै आएको छ। 

पाहुनाका लागि सर्भिसमा कम्प्रमाइज नगरीकन स्वास्थ्य र सन्तुलित भोजन सेवा दिनु नै उद्देश्य रहेको उनले बताए। चिया पसलमार्फत विहान ६ देखि १० बजेसम्म ब्रेकफाष्ट, दिउँसो १२ देखि राती ९:३० बजेसम्म लन्च र डिनरको सेवा दिँदै आएको जानकारी उनले दिए।

होटलले नेपाली रैथाने परिकारअन्तर्गत साकाहारी आनन्द भोजन, स्वादिष्ट आनन्द भोजन, सिग्नेचर आनन्द भोजन, कुखुराको मासु लगायतको मेनु राखेको छ। यसैगरी इण्डियन परिकार अन्तर्गत बिर्यानी, आलु गोवी राइस, प्लेन राइस, चपाती, दाल तड्का, दाल मखानी, पालक पनिर, पनिर-बटर मसालालगायत समावेश गरिएको छ।

होटलले कन्टिनेन्टल अन्तर्गत सोडा वाटर फिस, प्यान ग्रिल्ड ट्राउट, तेरियाकी सालमोन फिलेट, स्लाइस चिकेन रिस्सोटो, मटन रिसोट्टो, ग्रिल्ड पोर्क चप्स, चिकेन स्किवर लगायत परिकार राखेको छ।

डेजर्टमा बास्किन रोविन्सको आइसक्रिम, फ्रुट सलाद, इङलिस केक विथ फ्रट, बनाना फोस्टर्स लगायत राखिएको छ। उनका अनुसार पाहुनाले ब्रेकफास्ट अन्तर्गत एग बेनेडिक्ट, बेक्ड विन्स, प्याकेक, ह्वाइट/ब्राउन ब्रेड, फ्रेन्च टोष्ट, फ्रेस फ्रुट लिन सक्नेछन्। यसैगरी अल डे डाइनिङ अन्तर्गत स्टार्टरमा प्राउनसहितको ब्रोकाउली, प्राउन टेम्पुरा, चिकेन विङ्स, मःमः, छोयला लगायत परिकारको सेवा लन सक्नेछन्। सलाद अन्तर्गत गार्डेन, पेस्तो पास्ता, ग्रिल्ड चिकेन राखिएको छ।

सुपमा पाहुनाले तोमयोम, मिक्स फीस सुप, टोमाटो सुप, ब्रोकाउली सुपको स्वाद लिन सक्नेछन्। पास्ता अन्तर्गत बुलोनिज, कार्बोनारा, स्पागेटी आग्लिओ ओलिओको स्वाद लिन सक्ने जनाइएको छ।

'एम्वियन्स अनुसार बिजनेससहित गुणस्तरीय सेवा दिने उद्देश्य हो, ' उनले भने, 'क्वान्टिटी भन्दा पनि क्वालिटीमा सेल गर्ने योजना हो। विदेशी पर्यटक जोसँग ठोक्किए पनि उसले राम्रो व्यवहार पायो भने फर्कि फर्कि आउँछ नि।'

होटलमा एकपटक आएका ग्राहक दोहोर्‍याएर आउने गरेको उनले बताए। होटलको सज्जाका लागि प्रयोग गरिएका काष्ठ कला थाइल्याण्ड, बाली, फ्रान्स लगायत मुलुकबाट ल्याइएको छ। आर्किटेक्ट गोपालानको परामर्श अनुसारको सामाग्री डिजाइनमा प्रयोग गरिएको उनले जानकारी दिए। 'हामी एम्बियन्समा कुनै पनि कम्प्रमाइज गर्दैनौं,' उनले भने।

अबको दुई महिनामा होटलले पछिल्लो समय विस्तार गरेको २५ वटा कोठा सञ्चालनमा ल्याउने योजना छ। 

फ्रेटको माग कम भएसँगै स्विच भएको बिजनेस
दुई दशक अघिदेखि फ्रेटमा आबद्ध श्रेष्ठ माग कम र प्रतिस्पर्धा धेरै हुन थालेसँगै होटल व्यवसायतर्फ लागेको बताउँछन्। 'हामीले २५ वर्ष अगाडि नै क्रु थाइ रेष्टुरेन्ट सञ्चालनमा ल्याएका थियौं,' उनले भने, 'पहिलैदेखि हस्पिटालिटी क्षेत्रमा आउने इच्छा थियो।'

व्यवस्थापनका लागि विदेशी स्वयंसेवी
होटलको व्यवस्थापन सेटअप लागि थाइल्याण्डको प्रि-ओपनिङ कन्सल्टेन्टले गरिदिएको हो। होटल व्यवस्थापनका लागि स्विस कन्ट्रयाक्टले सहयोग गर्दै आएको उनले जानकारी दिए। यो संस्थाले स्विस र जर्मनीबाट होटल व्यवस्थापनको अनुभव सम्हालेका ६० वर्ष माथिका अनुभवी तर अवकाशप्राप्त भोलुन्टियर पठाउँदै आएको छ। 

'ती अवकाश प्राप्त व्यक्तिहरु यहाँ आएर भोलुन्टियर गर्नुहुन्छ। घरबाट टाढा गएर केही समय व्यतीत गर्ने चाहना भएकालाई सहयोग गर्नुहुन्छ। खाने-बस्ने सुविधा हामीले नै दिएका हुन्छौं। अहिले हल्याण्डका एक अनुभवीले व्यवस्थापन हेरिरहनु भएको छ,' उनले सुनाए।

होटलको कोठाहरुको एम्बियन्स र प्रयोग गरिएका सामाग्री पाँचतारे होटलको भन्दा कम नरहेको उनको दाबी छ। होटलमा एउटा अपार्टमेन्ट र दुईवटा सुइट रुम छ। बाँकी कोठाहरु डिलक्स छ। होटलमा २० वटा गाडी पार्किङ क्षमता छ। बैठक-सभा सञ्चालनका लागि होटलमा सेमिनार हल पनि छ। 

होटलको पछाडिपट्टि रहेको खुल्ला ठाउँमा लाइभ म्युजिक र लाइभ पिजा ओभन राख्नका लागि सत्तल शैलीको कक्ष बनाइएको छ। उनका अनुसार होटलले सुरुवाती रुम रेट ८० डलर प्लस निर्धारण गरेको छ।