‘बुक बिल्डिङले ‘ब्रान्ड भ्यालु’लाई न्याय, वास्तविक क्षेत्रको वृद्धि फैलिन्छ,’ विष्णु अग्रवाल

बिजमाण्डू
२०७९ बैशाख ९ गते ०६:५६ | Apr 22, 2022
‘बुक बिल्डिङले ‘ब्रान्ड भ्यालु’लाई न्याय, वास्तविक क्षेत्रको वृद्धि फैलिन्छ,’ विष्णु अग्रवाल

काठमाडौं। नेपालको स्टक एक्सचेन्जमा बैंकिङ, बीमा लगायतका विशिष्ट केही क्षेत्रहरुको मात्र प्रभुत्व छ। अहिले जलविद्युत कम्पनीहरुको उपस्थिति पनि बजारमा उत्तिकै भेटिन्छ। यसका बाबजुद लगानीको आवश्यक विविधिकरणका दृष्टिकोणले यो त्यति राम्रो अवस्था होइन।
लगानी विविधिकरण गर्न लगानीकर्ता असक्षम हुँदा जोखिम अत्यधिक हुने अवस्था अझै पनि देखिन्छ।

Tata
GBIME
Nepal Life

अर्कोतर्फ, विश्व बजारको स्टक एक्सचेन्जहरुलाई विश्लेषण गर्दा उत्पादन तथा प्रशोधनको प्रभुत्व ती सेयर बजारमा हामी भेट्न सक्छौं। सूचना प्रविधि क्षेत्रका (आईटी) कम्पनीहरुको बाहुल्यता पनि ती स्टक एक्सचेन्जहरुमा उल्लेख्यरूपमा पाउने गरिन्छ।

नेपालको स्टक एक्सचेन्ज (नेप्से) मा यो निकै नगन्य छ, अथवा छैन भन्दा पनि हुने स्थिति छ। नेपाल स्टक एक्सचेन्जले यसतर्फ ध्यान दिन जरूरी छ। 

कुनै पनि उद्योगीले दुई दशकभन्दा लामो समय लगाएर संचालन गरिरहेको उद्योगमा इक्विटीबाहेक जगेडा तथा अन्य कोषहरुलाई विशाल आकार दिन सफल भएका छन्। साथसाथै आफ्नो अथक प्रयासबाट आफ्नो ‘ब्रान्ड’ लाई पनि बजारमा स्थापना गर्न सफल रहेका छन्। उक्त ब्राण्डको ‘गुडविल’ पनि सृजना गरेका छन्। यस्ता उद्योगहरु उचित मूल्य नपाएको अवस्थामा जस्तोसुकै परिस्थतिका बाबजुद स्टक एक्सचेन्जमा सूचीकृत हुँदैनन्। 

वास्तविक क्षेत्रका कम्पनीहरु पुँजी बजारमा समावेश नहुनुको मुख्य कारण यो पनि हो। 

‘बुक बिल्डिङ’को अभ्यासले उक्त समस्याको निकास दिनेमा म विश्वस्त छु। 

बुक बिल्डिङ आफैंमा एउटा वैज्ञानिक प्रक्रिया हो। बजार र लगानीकर्ताको जिज्ञासालाई बुक बिल्डिङका वैज्ञानिक प्रक्रियाले सम्मान गर्ने मेरो बुझाइ छ। यस प्रक्रियाका सर्तहरुले लगानीकर्तामा व्यवसायको सुनिश्चितता पनि प्रदान गर्छ भन्ने मलाई लाग्छ। यसका साथसाथ, वास्तविक क्षेत्रलाई सेयर बजारमा समावेश गराउने बुक बिल्डिङ्ग अन्तर्राष्ट्रिय मान्यताको प्रक्रिया पनि हो। 

अब हाम्रो चुनौती सेयर बजारमा कसरी बुक बिल्डिङ प्रक्रिया चाँडोभन्दा चाँडो लागु गर्न सकिन्छ भन्ने मात्र हो। नियमकीय निकायले यस प्रक्रियालाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याओस्।

लगानीकर्ताले उपलब्ध पुँजीको सही उपयोग वास्तविक क्षेत्रका कम्पनीहरुमा गरी लाभ आर्जन गर्न सक्नेछन्। बुक बिल्डिङले वास्तविक क्षेत्रका सुदृढ व्यवसाय वा कम्पनीहरुलाई पनि राम्रो निकास दिनेछ जहाँ लगानीकर्ताले निर्धक्क भएर लगनी गर्न सक्नेछन्। वास्तविक क्षेत्रका कम्पनीहरुले पनि सर्वसाधारणबाट सञ्चित रकमको उचित सदुपयोग गर्न बुक बिल्डिङले उत्तम विकल्प देखाएको छ भन्ने मलाई लाग्छ।

तरलता अभावको वर्तमान परिप्रेक्ष्यमा उद्योगीहरुले भोग्नु परेको पुँजीको समस्यालाई सही समाधान बुक बिल्डिङले दिने देखिन्छ। हामी ग्रोथमा लक्षित छौं। तर गहिरिँदो तरलता अभावले उक्त लक्ष्य हासिल गर्न कठिन देखिन्छ। बैंक तथा वित्तीय संस्थाहरु आफैंसँग लगानीयोग्य रकमको अभाव छ। 

यसका साथै वास्तविक क्षेत्रका कम्पनीहरुमा लगानीको चाहना र अवसर खोज्ने लगानीकर्ताको आवश्यकतालाई पनि बुक बिल्डिङले सम्मान गर्ने देखिन्छ। यो विधिबाट लगानीकर्तालाई लगानी विविधिकरणको उचित विकल्प पनि वास्तविक क्षेत्रले प्रदान गर्नेछ। ‘ब्रोड स्पेक्ट्रम’ मा लगानी फैलाउने अवसर लगानीकर्ताले पाउनेछन्। 

वास्तविक क्षेत्रलाई पुँजी बजारमा भित्र्याउने औजारका रुपमा हेरिएको 'बुक बिल्डिङ' बारे भएका विभिन्न छलफलहरुमा व्यक्तिगत तथा संस्थागत लगानीकर्ता, उद्योगी-व्यवसायी, मार्केट मेकर, बजार विश्लेषक लगायत विभिन्न सरोकारवालाहरुले यसबारे उठेका समस्या तथा त्यसको निराकरणबारे निकै रचनात्मक बहसको उठान गरेका छन्। यो सकारात्मक कुरा हो।

उनीहरुबाट आएका धारणाहरुलाई नियामक निकायले ध्यानमा राख्दै बुक बिल्डिङलाई चाँडैभन्दा चाडै ‘रि-स्टार्ट’ गर्न सक्यौं भने अहिलेको तरलताको कठिनाइलाई त यसले समाधान गर्ने नै थियो, यसका साथै वास्तविक क्षेत्रको सीमित वृद्धिलाई समेत थप विस्तार गर्न टेवा पुर्‍याउनेछ।

नयाँ कुरा केही गर्दा हाम्रो डराउने प्रवृत्ति छ। यो जोकोहीबाट पनि आउने सामान्य व्यवहार हो। नयाँ प्रक्रियाहरुमा अवश्य पनि केही त्रुटि हुन सक्लान्। तर यही त्रुटिहरुलाई पहिचान गर्न र त्यसको सही समाधान निकाल्न पनि हामी निडर भएर उक्त प्रक्रियालाई अघि बढाउनुपर्ने हुन्छ। जबसम्म हामी अघि बढ्ने सोच राख्दैनौं, हामीले सिक्ने मौका पनि पाउँदैनौं। र, जबसम्म उक्त कुरा सिक्दैनौं, हामी परिपक्क भएर उक्त कुरा गर्न पनि असफल हुन्छौं। 

त्यसकारण पनि बुक बिल्डिङबारे उठेका जिज्ञासा र विचारहरुलाई मूल्यांकन गर्दै यस प्रक्रियामा अघि बढाउनका लागि म नेपाल धितोपत्र बोर्डलाई अनुरोध गर्छु। 

बोर्डले अहिले लागू गरेको बुक बिल्डिङ निर्देशिकामा पनि आवश्यक परिमार्जन र संसोधन गर्नुपर्ने विषयहरु छन् भने पनि तिनलाई तत्काल समाधान गर्दै अघि बढौं। यसका साथै, यस विधिलाई समय अनुकूल समीक्षा गर्दै अघि बढाउनु पर्छ। समीक्षापश्चात् यस विधिको स्तर पनि वृद्धि गर्दै लैजानु पनि उत्तिकै महत्त्वपूर्ण छ।
(अग्रवाल नेपाल उद्योग परिसंघका अध्यक्ष हुन्।)