सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलको बयान, ‘टिकटबाट उठेको रकम ल्याएको हो’



बिजमाण्डू
२०७८ पुष २३ गते ११:१९ | Jan 7, 2022
सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलको बयान, ‘टिकटबाट उठेको रकम ल्याएको हो’


विराटनगर। सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले विराटनगरबाट ल्याइएको ५० लाख रुपैयाँ कम्पनीको भएको जिकिर गरेका छन्। बिहीबार राजस्व अनुसन्धान विभागमा बयानमा उनले टिकट कलेक्सन भएको ५० लाख रुपैयाँ सौर्य एयरलाइन्सबाट ल्याएको बताएका थिए।

Vigo
GBIME
Tata

'एयरलाइन्सको टिकटबाट उठेको पैसा ल्याइएको हो। यो कम्पनीको पैसा हो,' उनले अनुसन्धान अधिकृतसँग भनेका थिए।

अनुसन्धान अधिकृतले टिकटबाट उठेको रकम बैंकिङ च्यानलबाट नपठाएर किन नगद नै किन ल्याइयो ? कम्पनीको पैसा भए चाउचाउको कार्टुनमा किन आयो ? लगायतका प्रश्न गरेका थिए।

यो प्रश्नको उत्तर उनले राम्रोसँग दिन सकेनन्। पोखरेलले त्यसपछि भने बुबा/आमालाई लिएर १५ दिनका लागि भारत जान लागेको जानकारी दिँदै त्यसपछि फेरि आउने प्रतिबद्धता जनाएका थिए। कम्पनीले धरौटी राखिसकेकालेे विभागलेे त्यही आधारमा अनुसन्धान अघि बढाउनेछ। 

प्रहरीले गत शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट एयरलाइन्सकी कर्मचारी विराटनगर-४ की ३३ वर्षीया रेशा शाक्य पोखरेललाई ५० लाख रुपैयाँसहित पक्राउ गरेको थियो।

पक्राउपछि थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागको जिम्मा प्रहरीले लगाएको थियो। विभागले शाक्यसहित तीनजना कर्मचारी नियन्त्रणमा लिएपछि दीपकले सौर्य एयरलाइन्सकै लेटरप्याडमा ५० लाख रुपैयाँ आफ्नो भएको जिकिर गर्दै कर्मचारीलाई रिहा गरिदिन अनुरोध गरेका थिए।