कर तिर्न बेवास्ता गर्नेमाथि कारबाही तयारी, आन्तरिक राजस्व जनकपुरले बनायो करदाताको सूची

बिजमाण्डू
२०७८ मंसिर ११ गते १४:४० | Nov 27, 2021
कर तिर्न बेवास्ता गर्नेमाथि कारबाही तयारी, आन्तरिक राजस्व जनकपुरले बनायो करदाताको सूची


जनकपुर। लामो समयदेखि कर नबुझाउने करदातामाथि आन्तरिक राजस्व कार्यालयले कारबाही अघि बढाउने भएको छ। त्यस्ता करदाताको सूची तयार पारेर कारबाही अघि बढाइएको कार्यालय प्रमुख गजेन्द्रप्रसाद यादवले बताए।

Vigo
GBIME
Tata

'सूची तयार पारेर पहिलो चरणमा फोनमार्फत कर बुझाउन आग्रह गर्न थालेका छौं,' उनले भने, 'दोस्रो चरणमा पत्राचार गरिने र अन्तिममा सूचना प्रकाशन गरी बैंक खाता रोक्का गर्नेलगायत कारबाही गर्छौं।' अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा कर नबुझाउने ५० करदातामाथि कारबाही गरिएकामा यस वर्ष पनि कारबाही अघि बढाएको प्रमुख यादवले बताए।

उक्त कार्यालयले चालु आव ०७८/७९ को चार महिनामा एक अर्ब ७३ लाख २८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यो लक्ष्यभन्दा २०८ प्रतिशत बढी हो। यो अवधिमा राजस्व संकलनको लक्ष्य भने ८३ करोड १८ लाख ४० हजार लक्ष्य थियो।

चालु आव ०७८/७९ मा तीन अर्ब ८९ करोड ७२ लाख संकलन लक्ष्य छ। चार महिनामै लक्ष्यको ५५ प्रतिशत राजस्व संकलन भइसकेको प्रमुख यादवले जानकारी दिए।

आयकरतर्फ ३१ हजार ९००, व्यक्तिगततर्फ ५७ हजार ३३७६ र अन्तःशुल्कतर्फ एक हजार ३४८ गरी ९८ हजार ९४ करदाता रहेको कार्यालयले जनाएको छ।

आराका जनकपुरले यसपटक चार जिल्लाका चार उत्कृष्ट करदातालाई सम्मान गरेको छ। राष्ट्रिय कर सप्ताहअन्तर्गत धनुषाको क्षीरेश्वर डिष्टीलरी, महोत्तरीको अल्का वाइर प्रालि, सिन्धुलीको सिद्धबाबा कन्ट्रक्सन र सर्लाहीको नेपाल भेनियर उद्योगलाई सम्मान गरेको हो। रासस