दुईतर्फी पर्यटन प्रवर्द्धनका लागि बंगलादेश पाटा च्याप्टरको टोली नेपालमा, बिटुबी सम्झौता हुने

बिजमाण्डू
२०७८ मंसिर १ गते ०९:०७ | Nov 17, 2021
दुईतर्फी पर्यटन प्रवर्द्धनका लागि बंगलादेश पाटा च्याप्टरको टोली नेपालमा, बिटुबी सम्झौता हुने

काठमाडौं। नेपाल-बंगलादेश दुईतर्फी पर्यटन प्रवर्द्धनका लागि पाटा (प्यासिफिक एसिया ट्राभल एशोसिएसन) च्याप्टर बंगलादेशका अध्यक्षसहितको टोली नेपाल आइपुगेको छ। 

Tata
GBIME
Nepal Life

सोमबार पाटा च्याप्टर बंगलादेशका अध्यक्ष साहिद हमीद, महासचिव तफिक रेहेमान सहित पर्यटन उद्यमी नेपाल आइपुगेका हन्। पाटा च्याप्टर नेपालले आयोजना गरेको क्षेत्रीय पर्यटन प्रवर्द्धन अन्तर्गत हुन लागेको बिटुबी (बिजनेश टु विजनेश) सम्झौताका लागि यो टोली नेपाल आइपुगेका हो।

कोभिड-१९का कारण तत्काल लङ हल रुट अन्तर्गतको गन्तब्यमा पर्यटन प्रवर्द्धन हुन कठिन देखिएपछि क्षेत्रीय पर्यटन प्रवर्द्धनको आवश्यकता रहेको बंगलादेश पाटा च्याप्टरका अध्यक्ष साहिद हमीदले बताए। १९ महिना यता समग्र विश्व पर्यटनमा गुज्रिएको विकराल अवस्थालाई बिर्सिएर नयाँ सोच र अवधारणा अन्तर्गत क्षेत्रीय पर्यटन प्रवर्द्धनमा जोड दिइएको उनले जानकारी दिए।

दक्षिण एसियाबाट युरोप, अमेरिकालगायतका बजारमा लागू हुँदै आएको महंगो भाडादर र जटिल स्वास्थ्य सुरक्षा मापदण्डका कारण लङ हल रुटमा रहेको पर्यटकीय गन्तब्यमा आउजाउ गर्नै गाह्रो रहेको उनले बताए।

'अब दक्षिण एसियाको पर्यटन प्रवर्द्धनका लागि क्षेत्रीय  गन्तब्यलाई प्राथमिकता दिनैपर्ने छ। अब बंगलादेशले भारत, नेपाल, श्रीलंका, लगायत मुलुकसँग सहकार्य गर्दै अगाडि बढ्नेछ।' अध्यक्ष हमीदले बिजमाण्डूसँग भने,'अब नेपाल, मालदिभ्स, श्रीलंका, भारत लगायत प्रकृतिले धनी मुलुकको सम्भावना धेरै देखिएको छ। किनभने अब मान्छेहरु प्रकृति प्रेमी हुन थालिसकेका छन्। र यी गन्तब्यसँग खानपिन, संस्कृति, आतिथ्यता करिब करिब मिल्न आउँछ।'

नेपालको हिमाल, झरना, पखेरो, खोला, नाला, मौसम लगायत प्राकृतिक उपहार सँगै क्यासिनो बंगलादेशी नागरिकका लागि मनोरञ्जनको आकर्षक केन्द्र रहने उनी बताउँछन्।

बंगलादेशका लागि नेपाल अति नजिक, सस्तो, मिल्दो रहनसहन भएको मुलुक  भन्दै उनले थपे- 'बंगलादेश र नेपालसँग आ-आफ्नै विशेषता रहेको छ। यो समय म्याचमेकिङको हो। विनविन मोडलमा अगाडि बढ्नु नै हाम्रो उद्देश्य हो। अहिले संसारभर मान्छेहरु घुमघाम गर्नका लागि व्यग्र प्रतिक्षामा छन्। बंगलादेशी पनि उत्तिकै तयार अवस्थतामा छन्। र नेपाल यस्तो गन्तब्य हो जुन बंगलादेशका नागरिकका लागि नजिक, अति सुन्दर र सस्तो पर्यटकिय गन्तब्य हो'

कोभिड-१९ यता मुलुकको पर्यटन प्रवर्द्धनका लागि पाटाको संयोजगत्वमा यो नै पहिलो रिजनल कोल्याबरेशन रहेको पाटा च्याप्टर नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडालले बताए। अन्तराष्ट्रिय बजारमा नेपालको अवस्था दर्शाउने उद्देश्यले बिटुबी एग्रिमेन्टका नेपालमै गर्न लागिएको उनले जानकारी दिए।

मुलुको पर्यटन प्रवर्द्धनका लागि आन्तरिकसँगै क्षेत्रीय पर्यटन प्रवर्द्धनलाई मुख्य जोड दिएको बताउँदै सिइओ बुडालले भने ,' सन् २०२२का लागि पाटाको मुख्य उद्देश्य भनेकै रिजनल कोलाबरेशन गर्ने हो। आन्तरिक पर्यटन मुलुकको पर्यटनको मेरुदण्ड हो। यो सँगै अब विदेशी पर्यटकलाई पनि आकर्षक गर्ने बेला आइसकेको छ। युएस, युरोप लगायत मुलुकबाट पर्यटक भिथ्र्याउन अझै पनि गाह्रै देखिन्छ। अहिलेको प्राथमिकता भनेको सर्ट हल फ्लाइट हुने अन्तर्राष्ट्रिय बजार नै हो।'

पाटा नेपालले निकट भविष्यमा भारत, श्रीलंका, भुटान, म्यानमार लगायत मुलुकसँग दुईतर्फी क्षेत्रीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य रहेको उनले जानकारी दिए।

'यो हाम्रो पहिलो सुरुवात हो। पर्यटन एक्सपेरियन्ससँग जोडिएको उद्योग हो। त्यसैकारण हामीले उहाँहरुलाई नेपालमै बोलाएर बिटुबी एग्रिमेन्ट गर्न लागेका हौँ।'

सोमबार हिमालय एयरलाइन्सको जहाजमार्फत ढाका-काठमाडौं अध्यक्षसहित १६ जना प्रतिनिधि नेपाल आएका हुन्।