कसरी ढल्यो इच्छाराज तामाङको साम्राज्य? दुई दशक लगाएर बनाएको रवाफिलो लिगेसी यसरी मिल्यो धुलोमा




काठमाडौं। नेपालमा हाउजिङ-अपार्टमेन्टको 'अर्गनाइज्ड लिभिङ' प्रति आम धारणा बदल्ने बिम्ब नै बन्यो एउटा निजी कम्पनीको स्लोगन - 'घर भनेकै सिभिल होम्स् !'



सिभिल होम्स् अर्थात् इच्छाराज तामाङ। इच्छाराज तामाङ अनि नेपाली रियल इस्टेट क्षेत्र। यी सन्दर्भ र अनुक्रमहरु लगभग पछिल्लो दुई दशकभर एक अर्काका परिपूरकजस्तै भए। 

यसबीच तामाङको सानसौकत र ऐश्वर्यको ग्राफ पनि उकालो मात्र चढेको थियो। सभासद नहुँदै डेढ दशकअघि नै पीएसओ लिएर ठाँटका साथ हिँड्ने एकाध व्यवसायीमध्ये उनी पनि थिए। कीर्तिपुरको ट्याङ्लाफाँटमा रहेको उनको घरलाई व्यवसायीहरु 'ट्याङ्लाफाँट दरबार' समेत भन्छन्। नभनुन् पनि कसरी, लगभग १० रोपनीको कम्पाउण्डमा २६ हजार वर्गफिटको आलिशान बङ्ग्लोको राजसी बसाई जो थियो उनको। 

घर मात्र नभएर अफिसमा समेत तामाङको रवाफ कम थिएन। सीटीसी मलमा रहेको आफ्नो अफिस रुमसम्म उक्लिन उनको पर्सनल 'लिफ्ट' छ। उनीबाहेक अरुले प्रयोग नै गर्न नमिल्ने गरी अरुबेला लिफ्टमा साँचो लाग्छ, जुन उनका पीएसओले सँगै लिएर हिँड्छन्। 

रसियाबाट सिभिल इन्जिनियरिङ गरेर फर्किएपछि पुल्चोक इन्जिनियरिङ कलेजमा पढाउँदाका साथीहरुसँग  मिलेर २०५७ सालमा सिभिल सहकारी स्थापनाबाट व्यवसायिक दुनियाँमा छिरेका तामाङले केही वर्षको अन्तरालमै आफ्नै बलबुतामा हासिल गरेको यो रवाफिलो मुकाम कुनै पनि नेपाली व्यवसायीका लागि लोभलाग्दो हो। उनको नेतृत्वमा सिभिल समूहका नौ कम्पनी अर्बौंको कारोबार र स्थिर सम्पत्ति (जग्गा तथा भवनसहित) को स्वामित्व होल्ड गर्ने अवस्थामा पुगे।

उपल्लो राजनीतिक पहुँच समेतका कारण नीतिगत तहसम्म बलियो लबी गर्दै रियल इस्टेट व्यवसाय अनुकूल हुने नीतिहरु ल्याउन पहलका साथै यो क्षेत्रलाई नै नेतृत्व दिन वर्षौंसम्म निर्विकल्प भूमिका उनले खेलेको अहिलेका स्थापित डेभलपरहरु समेत बताउँछन्। आफ्नो डोमेनको व्यावसायमा 'सबैतिर मिलाउन सक्ने' चतुर खेलाडीका रूपमा समेत कहलिएका तामाङको व्यवस्थापकीय र नेतृत्व कौशलको तारिफ गर्नेहरु पनि कम छैनन्। सँगै, पावर र पैसाको उन्मादले मैमत्त भएर कसैलाई नगन्ने चरम अटोक्रेटिक स्वाभाव चुलिएको भनि उनको आलोचना गर्ने साथी-सर्कलदेखि आफ्नै कम्पनीभित्रका कर्मचारी पनि उत्तिकै छन्। 

यसो हुँदै गर्दा, तामाङले वर्षौ खर्चिएर आर्जन गरेको प्रतिष्ठा र लिगेसी भने यतिखेर नराम्ररी हल्लिएको छ। गत असोज १८ मा प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले ठगी आरोपमा पक्राउ गरेपछि भने तामाङको त्यो सबै शक्तिको राप-ताप निमेषभरमै सेलाएको छ।

तर यो अवस्था रातारात बनेको होइन। केही वर्षअघिबाटै तामाङले सिभिल सहकारीको निक्षेप सदस्‍यका हैसियतमा एक व्यक्तिले लिन पाउने कर्जाको अधिकतम सीमालाई लत्याएर मुख्यगरी आफ्‍ना चार रियल इस्टेट कम्पनी (सिभिल होम्स, सिभिल इस्टेट, सिभिल अपार्टमेन्ट र सिभिल बिजनेस कम्प्लेक्स) मार्फत घरजग्गामा हाल्न र बैंक ऋणको किस्ता तिर्न प्रयोग गर्न थालेका थिए। त्यहीँबाट उनले आफ्नो दुर्दिनको बिउ आफैं रोप्न सुरु गरेका हुन्। 

७५ जनाको ठगी उजुरी परेपछि पक्राउ परेका तामाङविरुद्ध अहिले ११ सयभन्दा धेरैजनाको चार अर्ब ६१ करोड २५ लाख रुपैयाँभन्दा बढीको बिगो दाबी परिसकेको छ। पक्राउ परेयता पनि तामाङविरुद्ध दैनिक ४० भन्दा धेरै उजुरी थपिँदै गएको छ, जसको बिगो रकम दिनकै १० करोड हाराहारी छ।

उनले सिभिल सहकारीका निक्षेपकर्ताको सात अर्ब रुपैयाँभन्दा बढी रकम नियमविपरित कर्जाका रूपमा लिएर संगठित रूपमा ठगी गरेको आरोप लागेको छ। विभिन्न बैंक र सिभिल सहकारी समेतको गरी कुल ८ अर्ब ६७ करोड रुपैयाँमाथि उनले दुरुपयोग गरेको अनुमान छ।

महत्त्वाकांक्षाको उडानले अवसान 
नेपालका ठुलामध्येको ठगी तथा संगठित अपराधको अनुसन्धानका लागि अहिले प्रहरी हिरासतमा रहेका इच्छाराज तामाङलाई उनकै 'ओभर एम्बिसन'ले सिध्याएको उनलाई नजिकबाट चिने-बुझेकाहरुको भनाइ छ। तर यसको लहरो भने सिभिल समूहका दर्जन हाराहारी व्यवसायहरुमध्येको 'रियल इस्टेट' सँग जोडिएको छ।

तामाङको त्यो महत्त्वाकांक्षाको उडान र यतिबेलाको अवसानको शिलान्यास सिभिल होम्सको चौथो फेजको हाउजिङ परियोजना सुरुआत सँगसँगै भयो, जतिबेला उनका परियोजनालाई पैसा दिन बैंकहरु पनि लाइन लाग्थे। 

तामाङ नेतृत्वको व्यावसायिक समूह सिभिल ग्रुपअन्तर्गतको सिभिल होम्सले ललितपुरको भैंसेपाटीमा २०५८ सालमा पहिलो परियोजना लञ्च गर्‍यो। नेपालमा व्यवस्थित हाउजिङ सँगसँगैजसो सुरु गर्ने तीन कम्पनीमध्ये एक थियो सिभिल होम्स्। 'अर्गनाइज्ड लिभिङ' को अवधारणा त्यतिबेला नेपालमा बिल्कुलै नौलो थियो, तैपनि घरको नक्सा मात्र कोरेर बुकिङ खोल्ने अभ्यास भएको त्यो बेला निर्माण नथाल्दै सिभिलका घरहरु अपेक्षाभन्दा राम्रोसँग बिक्री भए। त्यसबाट हौसिएका तामाङले काठमाडौंको कलंकीमा दोस्रो र त्यसपछि ललितपुरको सुनाकोठीमा तेस्रो परियोजना पनि ल्याए। 

त्‍यतिबेलासम्म तामाङले कम्पनी र आफ्नो वित्तीय क्षमता नाघेर कुनै पनि परियोजना गरेका थिएनन्। तर परियोजनामा प्रतिबद्धता जनाएका सामुदायिक सुविधाका संरचनाहरु निर्माण गर्नुपर्ने ठाउँ र ओपन स्पेसका लागि छुट्याइएका प्लट पनि पछि बैंकमा धितो राखेर पैसा चलाएको भनेर परियोजनाका घरधनीहरु आन्दोलनमा उत्रिए। फेज ३ परियोजनाको कम्युनिटी स्पेसको जग्गा धितो राखेर तामाङले राष्ट्रिय सहकारी बैंकबाट सिभिल होम्सको नाममा १६ करोड कर्जा निकालेका थिए।

उक्त कुरा बाहिरिएपछि तामाङ नेतृत्वको सिभिल ग्रुपले बनाएका परियोजनाप्रति ग्राहकको विश्वसनीयतामा केही धक्का पुग्यो। उनका अन्य हाउजिङका घरको बिक्रीमा पनि त्यसले केही अप्रत्यक्ष असर गर्‍यो।

यद्यपि, उनी रोकिएनन्। धापाखेलमा दुईवटा अपार्टमेन्‍ट टावरसहित १७४ घरहरु (कुल २४४ एकाइ) बनाउने गरी चौथो फेजको आवास परियोजना लञ्च गरे। त्यो परियोजना ल्याउँदा भने उनको महत्त्वाकांक्षाले बेग हान्न थालिसकेको थियो। उनले एउटै ठूलो हाउजिङ मात्र होइन, एकसाथ धेरैवटा प्रोजेक्टहरु बनाएर सकैसम्म चाँडै आफ्नो रियल इस्टेट व्यावसायको साम्राज्य वृहत् बनाउन चाहे। तर त्यो आफू र आफ्ना कम्पनीको वित्तीय क्षमता अनुसारको जगमा नभएर बैंक तथा सहकारीको पैसामा खेलोफड्को रचेर।   

तामाङको कम्पनी तथा उनका कारोबारहरुलाई नजिकबाट बुझ्नेहरुका अनुसार सिभिल होम्सको फेज ३ सम्मका परियोजनाहरु गर्दासम्म तामाङ ठिकठाक अवस्थामा थिए। सिभिल समूहको वित्तीय स्वास्‍थ्य राम्रै अवस्थामा थियो। परियोजनाका लागि लिएको बैंक कर्जाको साँवा-ब्याज भुक्तानी पनि समयमै भइरहेको थियो। तर फेज ४ परियोजनादेखि भने उनी ज्यादा महत्त्वाकांक्षी हुँदै गए र त्यो झन्झन् चुलिँदै गयो।

सिभिल होम्सको फेज ४ परियोजना सुरु भएको धेरै समय भएकै थिएन, उनले फेज ५ को हाउजिङ परियोजना लञ्च गरे। फेज ५ ल्याउँदा त्यसअघिको हाउजिङ (फेज ४) को एक चौथाई पनि निर्माण सकिएको थिएन। 

यो क्रम त्यतिमै रोकिएन। फेज ५ नबन्दै फेज ६, र एवम् प्रकारले त्यो क्रम पछिल्लोपटक लञ्च गरेको फेज-११ (जोरपाटी, काठमाडौं) सम्म पनि कायमै राह्यो। परियोजना खप्टिँदै जाँदा सिभिलले २०७२ को भूकम्पअघि नै लञ्च गरेका र त्यसपछिका परियोजनाहरुका भने आवास एकाइ (हाउजिङ/अपार्टमेन्ट) अझैसम्म पूर्णरूपमा बिक्री भइसकेका छैनन्। 

'अघिल्लो कुनै पनि फेजको आधा पनि काम पूरा नहुँदै नयाँ परियोजना लञ्च हुँदै गयो,' जानकार स्रोत भन्छ, 'धापाखेल हुँदै गोदावरीको फेज ९ को परियोजनासम्म त्यो क्रम एवम् रूपमा चल्यो। त्यसपछि त्यसमा केही गति कम भए पनि त्यतिबेलासम्ममा तामाङजीको हिसाबकिताब बिग्रिसकेको थियो।'

क्षमताको तुलनामा 'ओभर ट्रेडिङ' गरेकाले उनी एकमाथि अर्को हुँदै समस्याको दलदलमा भासिँदै गएको देखिन्छ। एक पूर्व बैंकर पनि यसमा सहमत हुँदै भन्छन्, 'एक रुपैयाँको पुँजी हुनेले हजार रुपैयाँको व्यापार गर्न खोज्दा के हुन्छ? इच्छाराज तामाङको हकमा पनि भएको त्यही हो। उहाँले आफ्नो क्षमताभन्दा ठूलो एम्बिसनमा ओभर अप्टिमिस्टिक भएर प्रोजेक्टहरुमा हात हाल्नुभयो।'

धापाखेलको फेज-४  भूकम्पअघि आंशिक रूपमा मात्रै सकिएको थियो भने त्यससँगसँगै उनले सितापाइलामा नयाँ परियोजना लञ्च गरे। काठमाडौंको सुन्धारामा पनि तारे होटलको सुविधासरहको हुने भन्दै महँगो मूल्य राखेर १२ तलाका तीन टावरमा २३९ एकाइको विलासी अपार्टमेन्ट बनाउने गरी त्यसको बुकिङ लिइरहेका थिए, जुन अपार्टमेन्टको त्यतिबेला अन्डरग्राउन्ड तीन तला र माथिका केही तला मात्र उठाउने काम सकिएको थियो। 

चौथो फेजको धापाखेल परियोजनामै कतिपय घर निर्माणाधीन अवस्थामै थिए भने दुईवटा अपार्टमेन्ट टावरहरुमध्ये एउटा बन्न थालेकै थिएन। कतिपय  ग्राहकसँग पूरा पैसा लिइसकेर पनि त्यसको पाँच वर्षसम्म घर दिन नसकेको भन्दै परियोजनाको गेटमै ब्यानर टाँगेर त्यस हाउजिङका ग्राहक आन्दोलनमा उत्रिएका थिए। 

यसै पनि ठूलो आकारको उक्त परियोजना पूरा नहुँदै भूकम्प गएपछि त्यसबाटै तामाङको हाउजिङ कम्पनीको 'क्यास फ्लो' बिग्रन थाल्यो। खडा भइसकेको ८० एकाइको अपार्टमेन्ट भूकम्पबाट चर्किएपछि त्यसका बिक्न बाँकी अपार्टमेन्टहरुले लामो समयसम्म ग्राहक पाएनन्। जबकि ८५ एकाइको दोस्रो टावर त अहिले बल्ल बन्ने क्रममा छ भने त्यसका अधिकांश अपार्टमेन्ट युनिट बिक्री भएकै छैनन्। भूकम्पभन्दा ठिक अगाडि लञ्च गरेको सितापाइला हाउजिङ (फेज-७) र त्यसपछि ल्याएको फेज-९ (गोदावरी) का पनि केही युनिट अझै बिक्री हुन बाँकी नै रहेको कम्पनी स्रोत बताउँछ। 

सिभिल होम्सले आधिकारिक रूपमा भने जोरपाटी परियोजना बाहेक सबैको घर बिक्री भइसकेको बताउने गरेको छ। तर कम्पनीले पछि मूल्यवृद्धि गरेर बेच्नका लागि पनि केही एकाइ होल्ड गरेर राखेको भनाइ कम्पनी स्रोतको छ। 

यसरी त्यसबेला एकसाथ निर्माण अघि बढाएका प्रायः सबै परियोजनाका एकाइको बिक्री भूकम्पपछि धिमा भएपछि सिभिल होम्सको वासलातमा २०६५ सालमै सम्पत्तिभन्दा दायित्व सवा एक अर्ब रुपैयाँ हाराहारीले बढी पुगिसकेको थियो, जुन त्यसपछिका वर्ष पनि थपिँदै गयो। अर्कोतर्फ,  त्यतिबेला उनले ८६ करोडभन्दा बढी हाउजिङ बुकिङका नाममा सर्वसाधारणबाट उठाइसकेका थिए। उक्त पैसा तामाङले सम्बन्धित परियोजनामा नभएर अगाडि नै बैंकबाट लिएको कर्जा भुक्तानीमा प्रयोग गरेको उनीनिकटको एक स्रोतको भनाइ छ। यसबाट उनको कम्पनीले ल्याएका हाउजिङ/अपार्टमेन्ट परियोजना निर्माणको चक्र पनि बिथोलिँदै गयो।

लग्जरी अपार्टमेन्ट र सीटीसी मलले झन् डुबायो
यी परियोजनाभन्दा बढी तामाङलाई धक्का त्यतिबेला पुग्यो जब उनको सुन्धारास्थित 'सिभिल लग्जरी रेजिडेन्स' अपार्टमेन्ट परियोजनामाथि भूकम्पपछि अपार्टमेन्टका लागि फेरिएको मापदण्डको डन्डा बर्सियो। 

उक्त अपार्टमेन्ट पूर्वपट्टी तामाङकै समूहले बनाएको सीटीसी मल, पश्चिममा जेडीए कम्प्लेक्स र दक्षिणमा केन्द्रिय कारागारको जमिनसँगै जोडिएको छ। भूकम्पपछि काठमाडौंमा अपार्टमेन्टको चारैतिर दमकल घुम्न सक्ने गरी बाटो वा खाली जमिन (कुल क्षेत्रको कम्तिमा ५०%) अनिवार्य छोड्नुपर्ने सीमासहितको मापदण्ड लागू भयो, जुन केही तला माथि उठिसकेको सिभिल लग्जरी अपार्टमेन्टले पूरा गर्नसक्ने सम्भाव नै रहेन। सोपछि उक्त अपार्टमेन्टको निर्माण रोकियो। निर्माण रोकिएपछि त्यसमा अपार्टमेन्ट बुकिङका लागि पैसा बुझाएका ग्राहकहरुले धमाधम पैसा फिर्ता लैजान थाले।

कम्पनी स्रोतका अनुसार त्यतिबेला उक्त अपार्टमेन्टका लागि मूल्यको २० देखि ३०% सम्म बुकिङ एडभान्स उठाइएको थियो। बेसमेन्टका तीन तला बनिसक्दा नसक्दै माथिका १२ तलसम्मकै अपार्टमेन्टहरुको बुकिङ तामाङले लिएका थिए। सुरुमा ८० लाखदेखि २ करोडसम्म मूल्य हुने भनेर बुकिङ खुला गरिएको भए पनि पछि त्यसको दाम दोब्बर वा त्योभन्दा पनि धेरैले बढिसकेको जानकार एक पूर्व बैंकर बताउँछन्। उक्त मूल्यका आधारमा ग्राहकबाट एक अर्ब हाराहारी एडभान्समै उठाइसकेको उनको भनाइ छ। सो रकम पछि ग्राहकले फिर्ता लग्न थालेपछि तामाङको यो अपार्टमेन्ट परियोजना पनि अलपत्र पर्‍यो भने नगद प्रवाह बिग्रिएर उनको वित्तीय स‌ंकट थप गहिरियो।

पछि यसलाई अपार्टमेन्टबाट प्रयोजन बदलेर होटलका रूपमा चलाउने गरी अनुमति लिएर निर्माण अघि बढाइयो। १२ तलासम्मकै संरचनागत निर्माणको काम लगभग पूरा हुन लागेपछि तामाङले दुई वर्षअघि (२०१९ जुलाईमा) ६ रोपनी जमिनसहित यो परियोजना नै अजेयराज सुमार्गीलाई एक अर्ब ३० करोडमा बेचिदिए। जानकारहरु तामाङले आर्थिक संकटमा फसेकाले यो घाटा खाएर निक्कै सस्तोमा 'क्यास रिच' व्यवसायी सुमार्गीलाई बेचेको बताउँछन्। 

प्राइम लोकेसनमा जग्गा किनेर त्यो परियोजना बनाउन लागेको खर्च, ६ वर्ष त्यसलाई होल्ड गर्दा बढेको बैंकको ब्याज, जग्गाको चल्तीको मूल्य लगायत सबै हिसाब गर्दा तामाङले उक्त प्रोपर्टी संकटकै कारण डिस्ट्रेस सेल गरेको बुझाइ घरजग्गा व्यवसायीहरुको पनि छ। 'त्यसै पनि उहाँले एकैचोटी धेरैवटा प्रोजेक्टमा हात हालेर आफ्नो क्षमताभन्दा बाहिर जान खोज्नुभएको थियो। त्यस्तोमा त्यो अपार्टमेन्ट प्रोजेक्टका कारण पनि उहाँलाई नराम्रो धक्का पुग्यो,' एक डेभलपर भन्छन्।

अर्कोतर्फ, सुन्धाराको लग्जरी अपार्टमेन्टको निर्माण थाल्नुअघि यससँगै जोडिएको पूर्वपट्टीको जमिनमा सिभिल समूहले सीटीसी मल नाममा व्यापारिक कम्प्लेक्स ल्याएको थियो। तर पसल कबलसहितका स्पेसहरु लिजमा दिने नभएर बिक्री गर्ने सोचले बनाइएको उक्त मल तामाङको योजनाअनुरुप बिक्री भएन। 

बिक्री नभएपछि ल्याण्ड रोभरको महँगो एसयुभी गाडी समेत उपहारमा राखेर पसल कबल बेच्न उनले जोडबल गरे। त्यसले आंशिक काम गरेपनि अधिकांश पसल कबलहरु बिकेनन्। सीटीसी मल तयार भएको लामो समयसम्म पनि राम्रोसँग नचलेपछि पसल कबल भाडामा दिनेदेखि आफू अध्यक्ष रहेको सिभिल बैंक नै त्यहाँ सार्नेसम्मका उपाय तामाङले लगाए। तर त्यो मल निर्माणमा खर्च भएको करिब साढे दुई अर्ब र बैंकलाई त्यसको साँवा-ब्याज (किस्ता) चुकाउन पर्याप्त थिएन, बैंकको कर्जा भार भने खप्टिँदै गयो। 

यो पनि तामाङलाई अहिलेको अवस्थामा ल्याउन मुख्य कारक परियोजना बन्यो।

हाउजिङ युनिट बिक्री नभए पनि बैंक र सहकारीले परियोजनाका लागि लिएको कर्जाको किस्ता तिर्नका लागि ताकेता गर्न छोडेनन्। त्यसलाई 'व्यवस्थापन गर्न' तामाङले संस्थागत रूपमा एकपछि अर्को ऋण भत्काउँदै गए, नियम कानुनले दिएका सीमाको समेत हेक्का नराखी। तर एकतिर टाल्यो अर्कोतिर झन् ठूलो भ्वाङ पर्दै गयो, जुन अन्ततोगत्वा टाल्नै नसक्ने अवस्थामा पुग्दा तामाङ र उनले कर्जा लिएका कम्पनीहरुको अवस्था अहिले उदाङ्गो भएको छ।

त्यसो त, सिभिल समूहले आफ्ना विभिन्न कम्पनीका नाममा ठाउँठाउँमा क्यापिटलाइज गर्दै राखेका जग्गा अहिले पनि अर्बौंबराबरको भएको दाबी गर्दै तामाङले तिनलाई आवश्यकता अनुसार बिक्री गरेर पनि दायित्व आरामसँग चुक्ता गर्न सक्ने दाबी यसअघि बिजमाण्डूसँग गरेका थिए। तर तीमध्ये अधिकांश सम्पत्ति (खासगरी जग्गा) कुनै न कुनै बैंकमा धितो राखेर तामाङले कर्जा लिएकाले उनले भनेजसरी सजिलै लिक्विड गर्न सम्भव नभएको पनि एक बैंकर बताउँछन्।

बैंक छल्न सहकारीका निक्षेपकर्ताको पैसा दुरुपयोग
तामाङले जहाँ-जहाँ नयाँ प्रोजेक्ट ल्याए त्यहाँ जग्गाधनीलाई साझेदार बनाए र उक्त जग्गा बैंकमा धितो राखेर ऋण निकाले। कतिपय परियोजना साइटमा दुई-तीनवटा मोडेल हाउस बनाएर त्यसैलाई देखाएर बुकिङ एडभान्स उठाए। तर त्यसअनुरुप समयमा घर बनाएर दिन सकेनन्। किनकि नयाँ परियोजनामा त्यसरी लिएको एडभान्स र जग्गा धितोबाट लिएको ऋणको पैसाले उनले अगाडि निर्माणाधीन अवस्थामा अपूरो राखेका फेजहरुका परियोजना बनाउनमा लगेर हाल्न थाले। 

यसबाट उनको परियोजना र बैंकको कर्जा भुक्तानी दुवैको चक्र बिग्रँदै गयो। 

केही परियोजनाका लागि साझेदारी गरेका जग्गाधनीको जग्गामा घर नै बनेनन्, जसलाई बैंकमा धितो राखेर ऋण निकालिएको थियो। बैंकले सम्बन्धित जग्गाधनीलाई हाउजिङका लागि धितो राखेको जग्गामा घर नबनाएकोमा च्याप्न थालेपछि उनीहरुले तामाङविरुद्ध मुद्दासमेत हाले।

अर्कोतर्फ, एकपछि अर्को परियोजना समयमा पूरा नभएपछि कर्जा दिएका बैंकहरुले तामाङलाई भुक्तानीका लागि दबाब दिन थाले। बैंकले त्यसरी पेल्न थालेपछि किस्ता तिर्नका लागि उनले आफैं संचालक रहेको सिभिल सहकारीको पैसा चलाउन सुरु गरे। 

त्यसरी पैसा चलाउँदा एक संचालकले आफू वा आफ्ना कम्पनीका लागि कुल निक्षेपको १० प्रतिशतभन्दा बढी लिन नपाउने भए पनि तामाङ एक्लैले सहकारीको ९० प्रतिशत हाराहारी कर्जा लिएका छन्। करिब सात सय बचतकर्ताको साढे सात अर्ब निक्षेपमध्ये तामाङले मात्र लगभग सात अर्ब रुपैयाँ आफ्ना चार  रियल इस्टेट कम्पनीको नाममा ऋण चलाएका हुन्।

सहकारीबाट उनले १५ प्रतिशतसम्म ब्याजदरको ऋण चलाएका छन्, जसको एक दिनकै ब्याज दायित्व ३० लाख रुपैयाँ हाराहारी हुन आउँछ। 

यसबाहेक तामाङको विभिन्न वाणिज्य बैंकको पनि चारदेखि पाँच अर्ब रुपैयाँ चलाएका छन्। यसमध्ये सबैभन्दा बढी ऋण प्राइम कमर्सियल बैंकबाट लिएका तामाङले सिटिजन्स् बैंक, कर्मचारी संचयकोष, सनराइज बैंक लगायतको पनि पैसा संस्थागत कर्जाका रुपमा चलाएका छन्। बैंकहरुलाई तामाङले संस्थागत रुपमा तिर्नुपर्ने ब्याजको दैनिक रकम नै २० लाख हाराहारी पहिल्यै पुगिसकेको जानकार स्रोत बताउँछ। 

स्रोत भन्छ, 'केही वर्षअघि नै सहकारी र बैंक दुवैको मिलाएर उहाँले संस्थागत रुपमा दिनमै ५० देखि ५५ लाख हाराहारी तिर्नुपर्ने हिसाब देखिन्थ्यो। सिभिल होम्सको एउटा घर बिक्रीबाट पचासै लाख नाफा आउँदा पनि त्यसले मुस्किलले जम्मा एक दिनको मात्र ब्याज तिर्न पुग्थ्यो, साँवा त कुरै छोडौं। भनेपछि अनुमान गरौं कि उहाँ कस्तो हिसाबले झन्झन् फँस्दै जानुभएको होला।' 

तामाङ भासिँदै गएको आर्थिक संकटको दलदललाई राम्रोसँग नियालेका एक बैंकरका अनुसार, सिभिल कोअपरेटिभको अर्बौं पैसा तामाङले चलाएपछि १०-१५ लाख निक्षेप राख्नेको पनि ब्याज समेत संस्थाले तिर्न नसक्ने अवस्था आयो। जबकि, यसमा एकै व्यक्तिले ३५ करोड रुपैयाँसम्म निक्षेप राखेको बुझिएको छ। 

तर सुरुमा अन्यत्रभन्दा राम्रो ब्याजबाट लोभिएका निक्षेपकर्ताले पछिपछि ब्याज लिन जाँदा पाएनन्, पैसा दिन नसकेपछि सहकारीले ब्याजलाई पनि साँवामै क्यापिटलाइज गरिदिँदै गयो। यो जुक्ति पनि तामाङकै भएको सहकारी स्रोतको आरोप छ। १० लाखकै ब्याज दिन नसक्ने अवस्थामा पुगेको संस्थाले ३५ करोडसम्मको निक्षेपकर्ताको ब्याजलाई पनि त्यसरी साँवामा चढाउँदै जाँदा सिभिल कोअपरेटिभको दायित्व तामाङले ऋण भुक्तान गरेको अवस्थामा पनि खाम्न नसक्ने तहमा पुगिसकेको अनुमान छ।

धेरै सम्पत्तिको स्रोतको आधार नभएको भन्दै तामाङविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पनि उजुरी परेपछि विभागले अनुसन्धानका लागि भन्दै २०७६ माघ ९ बाट उनको व्यक्तिगत बैंक खाता तथा घरजग्गा लगायतका सम्पत्ति समेत रोक्का गरिदिएको छ। त्यसअघि सहकारीबाट चलाएको ऋण भुक्तानी गर्न नसकेर आर्थिक संकटमा फस्दै गएपछि तामाङले साढे दुई वर्ष पहिले व्यक्तिगत सम्पत्ति समेत बिक्री गरेर भुक्तानी गर्न सुरु गरेका थिए।

त्यतिबेला कीर्तिपुर ट्याङ्लाफाँटस्थित आफ्नो घरनजिकैको दुई रोपनी जग्गा चल्तीको दामभन्दा पनि निकै सस्तोमा बेचेका तामाङले त्यसको केही समयपछि श्रीमती सिर्जना शाक्य तामाङको नाममा रहेको सिभिल बैंकको साढे १७ करोडभन्दा बढीको संस्थापक सेयर पनि बिक्री गरे।

सिभिल बैंकमा रहेको संस्थापक सेयरको हिस्सा तामाङले आफैंले पनि बेचेर घटाउँदै अघिल्लो वर्ष ४ प्रतिशतभन्दा तल झारिसकेका छन्, जुन बैंकको सुरुआती वर्षमा १४.११ प्रतिशत थियो। श्रीमती शाक्यको नाममा पनि सुरुमा बैंकको संस्थापक सेयर १०.३४ प्रतिशत थियो। अहिले ०.५% माथि स्वामित्व हुने सेयरधनीमा उनको नाम छैन।

नेकपा एमालेनिकट तामाङ यसअघि राजनीतिक संरक्षण मिल्दा आफूविरुद्ध लागेका आरोप र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अघि बढाएको छानबिनलाई पनि छल्न सफल रहँदै आएका थिए। तर अहिले सरकारमा रहेका पार्टी उनीअनुकूलको नभएकाले पनि तामाङलाई कारबाही छलेर उम्किन त्यति सहज देखिँदैन। यसैले पक्कै पनि तामाङ अँध्यारो साँघुरो झ्यालखान छलेर २६ हजार वर्गफिटको ट्याङ्लाफाँट दरबारको ऐस-आरामको ब्यग्र पर्खाइमा छन्।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell