Bizmandu
www.bizmandu.com

बैंकको एउटा शेयर बेच्नका लागि श्रीमतीसँग डिभोर्स गर्नुपर्छ र ? इच्छाराज तामाङको अन्तर्वार्ता

बैंकको एउटा शेयर बेच्नका लागि श्रीमतीसँग डिभोर्स गर्नुपर्छ र ? इच्छाराज तामाङको अन्तर्वार्ता



रियल इस्टेट, बैंक तथा वित्तीय संस्था, इन्जिनीयरिङ कन्सल्टिङ, ट्रेडिङलगायत क्षेत्रका विभिन्न नौ कम्पनीको नेतृत्व गर्ने सिभिल समूह पछिल्लो एक वर्षयता ‘वित्तीय संकटमा फँसेको’ चर्चा छ। समूहका अध्यक्ष इच्छाराज तामाङले श्रीमती सृजना शाक्य तामाङको नाममा रहेको सिभिल बैंकको लाखौं कित्ता संस्थापक शेयर बिक्री गरेदेखि नै समुह आर्थिक संकटको संघारमा पुगेको अड्कलका समाचारहरू आएका छन्। बिजमाण्डूका अमर बडुवालले तामाङलाई सोधे- झन्डै एक दशक जग्गा तथा आवास विकास संघ (एनएलएचडीए) को नेतृत्व गरेर छोड्नुभएको पनि लगभग एक वर्ष बितेको छ। संघको नेतृत्वमा बस्दा र बाहिर हुँदा रियल इस्टेट क्षेत्रलाई हेर्ने दृष्टिकोण कत्तिको फरक हुने रहेछ?



पद, पोजिसन र कुर्सी भनेको एउटा माध्यम हो, प्लेटफर्म हो । केही कुरा संस्थाको नेतृत्व लिएर स्टेक होल्डरहरूसँग राख्ने माध्यम भयो । तर उही व्यवसायभित्र बसेर काम गर्दा भने पदमा रहनु र नरहनुले त्यति ठूलो अर्थ राख्दैन । फरक यति हो— पदीय हैसियतमा हुँदा पदीय मर्यादामा बसेर कुरा राख्नुपर्छ, पदमा नहुँदा झन् खुला रूपमा आफ्ना समस्या राख्न पाइन्छ । तर पदमा रहे वा नरहे पनि यो (रियल इस्टेट) व्यवसाय र यसका असल वा खराब कुरा, तिनका गुण÷अवगुण, सुखद वा पीडाका कुरा यही व्यवसायमा भएको व्यक्तिले जहिले पनि राख्छ, राख्नुपर्छ । त्यसैले पदमा बसे पनि नबसे पनि निरन्तर यही व्यवसायमा लागेकाले यससँग सम्बन्धित आवश्यक सबै काममा भिडिरहेकै हुन्छु ।

एसोसिएसन अध्यक्ष हुँदा तपाइँले रियल इस्टेट क्षेत्रभन्दा बढी आफ्नै कम्पनीलाई लाभ हुनेगरी पोलिसी लबिङ गरेकाले संस्थागत रूपमा एनएलएचडीए बलियो हुन सकेन, त्यसैले अहिले घरजग्गा क्षेत्रका विषयमा एनएलएचडीएलाई सरकारले सुन्न छाड्यो भनिन्छ नि ?
एउटा सत्य के हो भने, नेपाली रियल इस्टेट क्षेत्रमा सबैभन्दा बढी लगानी गरेको र नेपालमा यसको जरो गाड्नेदेखि हाउजिङलाई भित्र्याउने, यससम्बन्धी नीति ल्याउन पहल गर्ने, हाउजिङ के हो, कसरी गर्नुपर्छ भन्नेलगायत बुझाउने नेतृत्व मैले गरेको छु । नेपालमा हाउजिङ विकास गर्न पाएको पहिलो ऐतिहासिक प्लानिङ पर्मिट छ मसँग, जसमा दुई लाइनमा लेखिएको थियो, ‘श्री सिभिल होम्सलाई प्लानिङ परमिट दिइएको छ ।’ नक्शा पनि छैन, कति रोपनीका लागि कस्तो अनुमति दिएको हो, खुला क्षेत्र कति राख्ने हो, प्लट साइज कत्रो हुने हो ? केही पनि उल्लेख थिएन । प्लानिङ पर्मिटको क, खदेखि सबै कुरामा त्यतिबेला सरकारलाई मैले सहयोग गरेँ ।

प्लानिङ पर्मिट यसरी बनाइन्छ, यसरी दिइन्छ, नक्शामा यसरी कोरिन्छ, ओपन स्पेस यसरी राखिन्छ, बाटो घोषणा यसरी गरिन्छ भन्नेलगायतका सबै कुरा मैले नेपाल सरकारका तत्कालीन प्राविधिकहरूसँग बसेर बनाउन सहयोग गरेँ । त्यो चरणबाट आएको यो व्यवसायलाई मैले नेतृत्व गरेर अगाडि लगेँ । यसैले यो क्षेत्रमा सबैभन्दा बढी मेरो (सिभिल होम्सको) लगानी भएकाले निश्चित रूपमा हामीलाई अनुकूल हुने नीतिका लागि हामी लड्छौं, भिड्छौं र अप्ठ्यारो परेको ठाउँमा ऐया-आत्था भनेर चिच्याउँछौं पनि । त्यो स्वाभाविक हो, अन्यथा लिने कुरा थिएन । 

रियल इस्टेटमा मेरो लगानी सबैभन्दा धेरै भएकाले नीति अलिकति सजिलो बनाउन पहल गर्दा अलि बढी फाइदा मलाई पुग्यो होला, कम लगानी गर्ने साथीहरूलाई कम भयो होला । तर म डटेर लागेकै हो । त्यसरी नलागेको भए यो क्षेत्रलाई उहिल्यै टुसा भाँचेर मारिदिसक्थे । काठमाडौंमा धेरै ठाउँमा व्यवस्थित हाउजिङ कलोनीहरू आउन थाले, २०औं तलासम्मका अपार्टमेन्टहरू आएका छन् । कसैले थोरै जग्गामा हाउजिङ ल्याए होलान्, कसैले सयौं रोपनीमा पनि गर्नुभएको छ ।

स्केल फरक भए पनि त्यो (मेरो) एउटा अवधारणाले काम गर्‍यो। काठमाडौंबाहिर पनि पोखरा, धरान, बिराटनगर र नेपालगन्जलगायत थुप्रै ठाउँमा हाउजिङ आएका छन्, प्लानिङ पर्मिट लिएका छन् । यसमा आज मलाई गर्व लाग्छ । मेरो नेतृत्वकालमा यो क्षेत्रमा थुप्रै नीतिगत उतारचढाव भइरहे । बीचमा संविधानसभा सदस्य हुँदासमेत मैले सोझै संविधानसभामा यो क्षेत्र र व्यवसायको वकालत गरेँ, सदन र समितिका विभिन्न फोरममा आवाज बुलन्द गरेँ ।

हाउजिङ एसोसिएसन पछिल्ला दिनमा किन सुस्त देखिन्छ त?
जहाँसम्म एनएचएलडीएको गतिविधिमा सुस्तताको कुरा छ, त्यो त नेतृत्व गर्ने व्यक्तिको पहल गर्ने शैली र प्रभावले पनि धेरै चीज फरक पार्छ । अब सबै नेतृत्व त्यही उचाइको हुनुपर्छ भन्ने त छैन नि । नेतृत्वबाट त्यो उचाइ नदिँदा अहिले मान्छेहरूलाई ‘हाउजिङ त सुकेछ कि क्या हो ? कुनै चहलपहल देखिँदैन’ भन्ने लाग्नु स्वाभाविक हो । तर त्यस्तो स्थिति नै होइन । धेरै गतिविधि भइरहेका छन् । अहिले पनि म पूर्वअध्यक्षका हिसाबले हाउजिङ एसोसिएसनका साथीहरूलाई सहयोग गर्ने, यो क्षेत्रलाई संगठित गर्ने कुरामा लागी नै रहेको छु । साथीहरू पनि पछि हट्नुभएको छैन । त्यसैले समग्रमा अहिले जे भइरहेको छ अब त्योभन्दा राम्रो हुन्छ ।

पद धारण गर्ने व्यक्ति कत्तिको डायनामिक छ, उसको प्रभाव कस्तो छ, पदलाई कसरी लैजान्छ भन्ने कुराले (नतिजामा) केही न केही अन्तर त हुन्छ । अहिले एनएलएचडीएको नेतृत्व र कार्यसमितिमा आउनुभएका साथीहरू पनि योग्य हुनुहुन्छ । मीनमानजी पहिले मेरो कार्यकालमा ७–८ वर्ष महासचिवको भूमिका निर्वाह गरेर अहिले अध्यक्ष हुनुहुन्छ । मेरो सोच, संस्कार र काम गर्ने गति अलिकति फरक होला । उहाँको स्पीड अलिकति घटीबढी होला । तर पदीय जिम्मेवारी र यस व्यवसायमा भएका पीडाको बोध जति मलाई हुन्थ्यो त्योभन्दा कम उहाँलाई पनि छैन जस्तो लाग्छ ।

घरजग्गा क्षेत्र पुनः मन्दी नजिक पुगेको टिप्पणी बजारमा हुन थालेको छ । वर्षौंदेखि यो क्षेत्रको उतारचढाव भोगेको व्यक्तिका हैसियतले अहिले तपाइँले गर्नुभएको अनुभव पनि त्यस्तै छ कि फरक ?
अहिले नेपालमा मात्र होइन विश्वभरि नै यो क्षेत्रमा अलिकति शिथिलता आएको जस्तो हामीलाई महसुस भएको छ । नेपालमा पनि त्यसको प्रभाव देखिएको छ । मन्दीको प्रभाव कहाँबाट सुरु भयो भन्ने फर्केर हेर्नुपर्ने हुन्छ । पहिलो त २०७२ सालको महाभूकम्प हो । भूकम्प आएकै बेला प्रभाव पर्दैन, त्यसको ‘साइड इफेक्ट’ बिस्तारै आउँछन् ।

साढे चार वर्ष अघिको भूकम्पको प्रभाव विस्तारै विस्तारै हुँदै अहिले ‘म्याक्सिमाइज’ हुने स्थितिमा भएकाले पनि यतिबेला शिथिलता देखिएको हो । यद्यपि महाभूकम्पपछि यस क्षेत्रमा मान्छेको चासो र लगानीमा ‘डिटेरिओरेसन’ आउने क्रम अहिले ‘क्लाइमेक्स’ चरणमा पुगेको छ । त्यसैले अब फेरि रियल इस्टेट क्षेत्र ‘बुम’ हुने चक्र चलेको अवस्था देख्छु म । अर्को कुरा, चार–पाँच वर्षअघि नेपालमा रियल इस्टेटमा लगानी राम्रो भएर एक किसिमको उछाल आएको थियो । 

त्यसबेला नीतिगत तहमा बस्ने व्यक्ति, नियामक निकाय, मिडिया इत्यादिले हेर्ने दृष्टिकोण चाहिँ अब यो क्षेत्रमा लगानी बढी भयो अथवा चाहिनेभन्दा द्रुत गतिमा यो अगाडि बढ्यो, यसलाई ब्रेक लाउनुपर्छ भन्ने थियो । र, केही ब्रेक लाउने काम पनि भयो । नीतिमा र राष्ट्र बैंकबाट पनि यो क्षेत्रको लगानीमा ब्रेक लगाइयो । तर ती कदमले बिस्तारै फेरि रियल स्टेट र यो क्षेत्रमा भएका लगानीमा शिथिलता आउन थाल्यो । 

त्यसबाट यस क्षेत्रमा परेको प्रभावस्वरूप बजारमा नकारात्मक संकेतहरू देखिन थाले भनेर नियामक निकाय र नीति निर्माताहरू फेरि यसलाई केही सहज गर्नुपर्छ भन्ने सोचमा पुगेको अवस्था छ अहिले, बजारले यही देखाउँछ । बजार र समयअनुसार सरकारका नीति–नियम र निर्देशनहरू आए मात्र त्यसले काम गर्छ ।

त्यस विपरीत भए त्यसले दुर्घटना निम्त्याउँछ । यसैले मलाई लाग्छ, बजार र समयको राम्रो ज्ञान राख्नुहुने राष्ट्र बैंक नेतृत्व, तालुक मन्त्रालय वा मन्त्रीज्यूहरू र कर्मचारी नेतृत्वमा यो क्षेत्रलाई फेरि पनि ब्रेक लगाउने वा गति रोक्ने कामबाट पछि हट्नुपर्छ भन्ने महसुस भइसकेको छ ।

२०७२ को भूकम्प धेरै दृष्टिले नेपाली रियल इस्टेट क्षेत्रको ठूलो ‘टर्निङ प्वाइन्ट’ मानिन्छ । जसमध्ये एक, बल्लतल्ल अपार्टमेन्ट संस्कृतिउन्मुख देखिएको परिवेश एकाएक नयाँ ‘हाइराइज रेसिडेन्स’ वर्षौं बित्दा पनि नआउने स्थितिमा बदलिनु पनि हो । जमिनको सीमितता र आकाशिँदो मूल्यका कारण भविष्यमा अपार्टमेन्टमा जानुको विकल्प छैन भनिरहँदा अहिले डेभलपरहरू आफैं यसको विकासप्रति किन उदास देखिएका हुन् ?
बजारमा माग र आपूर्ति महत्त्वपूर्ण हुन्छ । २०७२ को महाभूकम्पपछि हामीकहाँ नयाँ प्रोजेक्ट आएनन् जसको अर्थ हाम्रो ‘सप्लाई डेफिसिट’ (मागभन्दा आपूर्ति कम) को अवस्थामा थियो । हरेक वर्ष नेपालमा निजी क्षेत्रबाट जति पनि हाउजिङ तथा अपार्टमेन्ट बन्थ्यो, भूकम्पयता त्योभन्दा कम आयो । तर बजारको माग, काठमाडौंको जनसंख्या र आन्तरिक बसाइँसराइ हुने क्रम दिनैपिच्छे बढिरहेकै छ । संसार ग्लोबल भिलेज भनिए पनि वर्षौं विदेश बसेका नेपाली पनि परिचय खोज्दै स्वदेश फर्किन चाहने वा फर्किने थुप्रै छन् । उनीहरूलाई अपार्टमेन्ट कल्चर प्यारो भइसकेको हुन्छ । यसैले अपार्टमेन्टमै बस्न रुचाउँछन् । 

जमिनको भाउ किन्नै नसकिने गरी असाध्यै महँगो भइसक्यो । मासिक दुई लाख रुपैयाँ कमाउने मान्छेले पनि जिन्दगीभरिको कमाइले ४ आना जग्गा किन्न सक्दैन । घर बनाएर बस्ने सपना त परैको कुरा । अब बिस्तारै हाम्रा छोरा-नातिले ‘हाम्रो बाउ–हजुरबाउ यति धनि रहेछन्, आफ्नै बंगलो बनाएर बसेका थिए रे !’ भन्ने दिन आउँछ ।  व्यक्तिगत घर, बंगलो धेरै महँगो संरचना भएकाले यसलाई प्रोत्साहित गर्नु हुँदैन । सहरमा बस्ने व्यस्त मान्छेलाई दिनभरि काम गरेर राति आएर यसो बास बस्न सुबिस्ताको आवास भए हुन्छ, बङ्लो नै चाहिन्छ भन्ने छैन । 

व्यस्त व्यक्तिका लागि हेरविचार, सरसफाइ र सुरक्षाका दृष्टिले पनि ग्रूप लिभिङ अथवा कम्युनल लिभिङ (अपार्टमेन्ट) कल्चरमा समाज बिस्तारै जान्छ । नेपालमा सहरीकरण र सहरमा जनघनत्व बढ्दै गएपछि हाइराइज अपार्टमेन्टहरू समयले माग गर्दै जान्छ, यसको कल्चर पनि बढ्दै जान्छ । ५–६ वर्षयता (भूकम्पका कारणसमेत) नयाँ अपार्टमेन्ट आउन रोकिएको भए पनि अब आउँछ र यसको माग पनि बढ्दै जान्छ । अपार्टमेन्टमा फायर फाइटिङलगायत सेफ्टी पक्षहरूको पनि स्तरवृद्धि गर्दै लैजानुपर्छ । जति अग्ला अपार्टमेन्टहरू निर्माण हुँदै जान्छन्, त्यसैअनुरुप उपकरण, प्रविधि र सेफ्टीका पक्षमा पनि स्वाभाविक रूपमा हाम्रो क्षमता बढ्दै जान्छ । 

अपार्टमेन्ट नै हो भविष्य भन्ने यति धेरै बुझ्दाबुझ्दै तपाईं आफैंचाहिँ किन ‘स्ट्यान्डअलोन हाउजिङ’ मा केन्द्रित हुनुभएको ?
म सुरूदेखि नै घर/बंगला बनाउने काममा लागेँ । सिभिल होम्सको परिचय नै ‘घर बनाउने’ जस्तो भयो, एक्सपर्टिज पनि त्यसैमा भयो । केही साथीहरू अपार्टमेन्ट मात्रै गर्ने भनेर आउनुभयो । उहाँहरूको विशेषज्ञता नै त्यही भएको छ । उहाँहरूले अपार्टमेन्ट नै धेरै बनाउनुभयो । हामीले आजको मितिसम्म सयौंथरी डिजाइनका एक हजारभन्दा बढी त घर/बंगला नै बनाएका रहेछौं । बनाइसकेपछि ग्राहकले ‘यो घरमा यस्तो भइदिएको भए अझै सुविधायुक्त हुन्थ्यो, स्पेस खेर जाँदैनथ्यो’ भनेर सुझाव दिन्छन् । ग्राहकका त्यस्तै सुझाव सम्बोधन गर्दै जाँदा आज अस्ट्रेलिया, जापान, अमेरिकाजस्ता देशमा देखे–बसेर आएका व्यक्तिले पनि त्यहाँका र सिभिल होम्सले बनाएका बंगलोमा डिजाइन, सुविधालगायतमा कुनै फरक पाउनुहुन्न । ग्रुप हाउजिङ/बंगलोमा हामीले आफूलाई त्यति धेरै विकास गरिसक्यौं । हाम्रो विशेषता नै त्यतातिर गाँसिँदै गयो । 

हिजो ग्रुप हाउजिङको नै माग उच्च थियो । तर समयक्रमसँगै जमीनको मूल्य आकाशिएकाले अब बंगलो अफोर्डेबल हुन छाड्यो, सीमित व्यक्तिले मात्र किन्न सक्छन् । त्यसैले हामी पनि अब अपार्टमेन्टतिर फर्कदैछौं । काठमाडौं मात्र नभएर उपत्यकाबाहिर पनि जहाँजहाँ माग हुन्छ, त्यहीँ हामी अपार्टमेन्ट परियोजना लिएर जाँदै छौं । तर अपार्टमेन्ट व्यस्त व्यक्तिलाई लक्षित गरेर बनाइने भएकाले यसको लोकेसन बंगलोजस्तो रिङरोडबाट २–४ किलोमिटर बाहिर नभएर सिटी सेन्टरमा हुनुपर्छ ।

अन्ततोगत्वा हाउजिङ डेभलपरले गर्ने भनेको अपार्टमेन्ट नै हो, त्यो समयसँगै आउँछ । अपार्टमेन्ट सस्तो भए पनि हिजो विद्युत् अभावले गर्दा ‘कस्ट अफ लिभिङ’ उच्च हुन्थ्यो । अब त हामीसँग बिजुली आपूर्ति पनि राम्रो भइरहेको छ, अभाव पनि छैन । यसैले सस्तोमा अपार्टमेन्टमा बस्ने कल्चर अब विकास हुँदै जान्छ । त्यसमा हामी लाग्छौं ।

पछिल्लो समय ‘कित्ताकाट’ घरजग्गा व्यवसायीको सबैभन्दा ठूलो छटपटी बनेको छ । कित्ताकाट आधिकारिक रूपमै डेढ वर्ष रोकियो, तर त्यही अवधिमा ४४ प्रतिशतले जमिन खण्डीकरण बढेको देखियो । गत पुस अन्तिमबाट सरकारले यसलाई केही लचिलो हुने गरी सम्बोधन पनि गर्‍यो। तर डेभलपरहरू भन्दैछन्, हाम्रा लागि कित्ताकाट अझै खुलेकै छैन ? खास अवस्था के हो ?
कित्ताकाट प्राविधिक कुरा हो । मैले भन्दै आएको छु— कित्ताकाट भनेको ठूलो प्लटलाई कित्ताकित्तामा खण्डीकरण गर्ने मात्र हो, यो कसैको अधिकार काटिने, कसैको निधार वा मुटु चिर्ने होइन । तर हामी कित्ताकाट गरिदिनु पर्‍यो भनेपछि मुटु नै काटेर दिनुपर्नेजस्तो गर्छौं । त्यसैले कित्ताकाटलाई धेरै ठूलो ‘इस्यु’ बनाइयो ।

हामी डेभलपरले सयजनाको नाममा भएको जग्गा एक–एक गरेर किन्दै सय रोपनी बनाउँछौं । त्यो सय रोपनीलाई एउटा कित्ता बनाएपछि प्लानिङ पर्मिट लिएर बाटो छुट्याएर फेरि कित्ताकाट गरेर नमिलेको जग्गालाई चट्ट पारेर सबै प्लट मिलाउँछौ । पहिले छेउकुना नमिलेको जग्गा पनि हामीले एकीकरण गरेर प्लानिङ गरी कित्ताकाट गर्दा पुनः चारैतिर मिलेको कित्ता बनेर आउँछ । 

यसरी वैज्ञानिक ढंगले काम गर्ने हामी गलत भयौं । जबकि कृत्रिम अंशियार वा साझेदार खडा गर्नेलाई जग्गा चिर्न दिँदा कित्ताकाट रोकिएको छ भन्ने सन्देश गए पनि अनुमति लिएर व्यवस्थित किसिमले घरजग्गा विकास गर्ने व्यवसायीलाई भने केही न केही अवरोध त छ ! ५० रोपनीभन्दा बढी जग्गाको प्लानिङ अनुमतिका लागि मन्त्रीस्तरीय निर्णय चाहिन्छ, सय रोपनी जग्गा लिँदा क्याबिनेटबाट प्लानिङ परमिट लिनुपर्छ भनिएको छ । एकै ठाउँमा ठूलो परिमाणमा व्यवस्थित बसोबासलाई प्रेरित गर्नेलाई ‘प्रक्रिया पुर्‍याएर तिमी आफैं गर, हामीले निर्णय गर्नुपर्दैन’ भन्नुपर्नेमा हाम्रोमा उल्टो छ । चोर्नेलाई चाहिँ सुविधा छ, व्यवस्थित गर्नेलाई भने तगारो लगाएको छ । 

यहाँ नीति अथवा सोचमा हामीले कहाँ ‘पेनिट्रेड’ गर्ने भन्ने कुराले निर्भर गर्छ । मन्त्री भनेको एउटा लिडर हो, झन्डा हल्लाउन सजिलो छ हेर्नुस् । तर उसले भिजन अघि सारेर नीतिगत रूपमा प्रणालीमा भएका समस्या हल गर्न आवश्यक ठाउँमा पेनिट्रेसन गर्नुपर्ने हो । सरकारले नीति बनाइदिनुपर्छ । संसार कहाँबाट कहाँ पुगिसक्यो हामी अझै पनि कित्ताकाटमै अल्झिरहेका छौ । मन्त्रीलाई ‘छोडिदेउ न यो बेकारमा, प्लानिङ पर्मिट लिन देऊ, एकीकरण गर्न देऊ’ भन्यो, ‘कहाँ हुन्छ यो, कित्ताकाट गरेर सब ढुट्टो बनाउँछन्’ भन्छन् । 

कित्ताकाट गरेर एकीकरण पनि भइरहेको छ र खण्डीकरण पनि । मापदण्ड बनाएर तिमी योभन्दा सानो कित्ता नबनाऊ, चार कुना मिलेको बनाऊ भनेर आकार तोकिदिए हुन्छ बरु । त्यसपछि त सबै कित्ता आफैं चारपाटे बन्दै जान्छ नि । सरकारले चार–पाँच जना सँधियार मिलेर प्लानिङ गरेर बाटो राखेर आआफ्नो जग्गा लिन सक्ने नीति बनाइदिए नमिलेका जग्गा मिलेर जान्छ, बस्ती पनि व्यवस्थित देखिँदै जान्छन् । अहिले त हाम्रो नक्शा विदेशीलाई देखायो भने हाँस्छन् । सर्पको टाउकोजस्ता, बाघका पुच्छरजस्ता कित्ता हुन्छन् हाम्रा । यो कुरा मन्त्रीज्यूहरूले बुझिदिए राम्रो हुन्थ्यो ।

खण्डीकरणमा उदार हुँदा जथाभावी प्लटिङले कुरूप सहरीकरणलाई बढावा दियो भन्ने तर्क पनि त गलत छैन नि ?
खण्डीकरण आफैंमा नराम्रो होइन । खण्डीकरण हुनुपर्छ तर वैज्ञानिक ढंगले। हामीकहाँ त व्यवस्थित खण्डीकरणको वकालत गर्नुको सट्टा यसलाई रोक्नतिर लागियो । घडेरी चाहिने मान्छे धेरै भएपछि कित्ताकाटको धेरै माग आएको हो नि । भूकम्पका कारण पनि धेरै कित्ताकाट भएको छ । भूकम्प गयो, सहरमा धेरै पुराना घर भएकाहरूले केही बाहिर गएर घडेरी किन्नुपर्‍यो। एक रोपनी भएको ठाउँमा चार टुक्रा काटेर चारजना दाजुभाइ बस्नुपर्‍यो। 

यसले गर्दा पनि भूकम्पपछि घडेरीको माग बढ्दा कित्ताकाट गर्ने लहर बढ्यो । यसलाई एक्कासि रोक्न खोजियो जबकि व्यवस्थित गर्नुपर्थ्यो । रोक्दा त्यसको असर बजारमा पर्ने नै भयो । त्यो परिस्थितिबीच हामी लगानीकर्ताले पनि सम्भावना कम र जोखिम बढी देख्यौं । त्यसैले अवस्था केही स्थिर नहुन्जेलसम्म हामीले पर्खिनु स्वाभाविक हो । अहिले बजार ‘स्टेबल’ भयो, अब हामी अगाडि बढ्छौं। सरकारले बाध्य भएर अब कित्ताकाट खोल्नैपर्छ, नखोली सुखै छैन, अर्थतन्त्रै चल्दैन । 

तपाईंहरू कित्ताकाट नखोले अर्थतन्त्र चल्दैन भन्नुहुन्छ, सरकार घरजग्गाको लगानीलाई ‘अनुत्पादक’ भन्छ । तालमेल कसरी मिल्छ ?
संसारभरि अर्थतन्त्र चल्ने दुईवटा कुराले हो— सेयर बजार र रियल स्टेट । यी दुई भनेको आम मानिसले लगानी गर्ने क्षेत्र हुन् । किनकि यी दुई क्षेत्रमा गरेको लगानी व्यवस्थित गर्न अन्य उद्योग व्यवसायमा जस्तो जनशक्तिको टिम बनाइराख्नु पर्दैन । र, चाहेको बेलामा जग्गा वा शेयरलाई नगदमा परिणत गर्न पनि सकिन्छ । यसैले यी दुई क्षेत्र जुन देशमा बढी चलायमान हुन्छ त्यहाँको अर्थतन्त्र पनि उत्ति नै भाइब्रेन्ट हुन्छ । तर हामीकहाँ अनुत्पादक क्षेत्र भनिएको छ । 

होटल वा उद्योग खोल्नेले बैंकको पैसा लगानी गर्ने, इक्विटी चाहिँ नराख्ने, एक अर्बको परियोजना छ भने तीन अर्ब भ्यालुएसन गराएर बैंकबाट लिने, एक अर्ब लगानी गर्ने र बाँकी स्वाट्ट पारेर बोर्डरपारि लैजाने । ती मान्छेका लागि चाहिँ उत्पादनमूलक क्षेत्र भनेर देशभित्रै पैसा रहने रियल स्टेट र सेयरमा भने लगानी रोक्न लगाइएको छ । यस्ता नीति निर्मातालाई बेवकुफ बनाइदिए त्यस्ता खेलाडीहरूले । अनि रियल इस्टेट र सेयर भनेको जुवा घर हो, ‘अनप्रोडक्टिभ’ हो भनेर यता कसिलो बनाइदिए । 

खै त, रियल इस्टेट र शेयरमा लगानी फँसेको ५–१० वर्ष नै भइसक्यो, कहाँ गयो पैसा ? अर्थतन्त्र माथि जानुपर्ने होइन ? उद्योगै उद्योग खुल्नुपर्ने होइन ? बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड भन्याजस्तै यस्तायस्ता गलत किसिमका सोच भएका पढे–लेखेका विद्वान् मानिसहरूले शेयर र रियल इस्टेटलाई अनुत्पादक भनिदिए ।कि त राज्यले ठूला कम्पनी खडा गरेर जनतालाई शेयर हाल्नुस् भनेर नेतृत्व गर्नुपर्‍यो। राज्यले नेतृत्व पनि लिँदैन । 

आम जनता आफ्नो बलबुताले उद्योग कलकारखाना खोल्न पनि सक्दैन, व्यापार पनि गर्न सक्दैन । अनि गर्ने के त ? बैंकमा पैसा राखेर ब्याज खाएर बस्ने ? त्यो जस्तो अनुत्पादनशील केही हुन्छ ? त्यसकारण रियल इस्टेट र सेयरमा लगानी गर्न नदिएपछि अर्थतन्त्रमा धेरै नै संकुचन आयो । भएको पैसा फ्रीज भएर बसेपछि बजारमा पैसा नहुने, पैसा हरायो भन्ने स्थिति आउने नै भयो । 

कुनै समय व्यवस्थित हाउजिङको पर्यायजस्तै गरी ब्रान्डिङ भएको तपाईंको कम्पनी सिभिल होम्स तीन–चार वर्षयता भने सुस्त देखिन्छ। किन ?
कित्ताकाटको समस्याका कारण पनि हाम्रा नयाँ परियोजना आउन केही ढिला भएर सुस्तजस्तो देखिएको हो । सिभिल होम्सले अहिलेसम्म १० वटा परियोजना ल्याइसकेको छ, काठमाडौंभित्र । बिस्तारै हामी काठमाडौंबाहिर पनि जाने योजनामा छौं । निकट भविष्यमा नै काठमाडौंमा दुईवटा हाउजिङ परियोजना ल्याउँदैछौं । कित्ताकाटको लफडाले अलिक समस्या गरेको छ तर पनि हामी केही महिनाभित्रै दुई प्रोजेक्टमा दुई सयजति घर निर्माण गर्ने गरी अघि बढिसकेका छौं । त्यसपछि बिस्तारै उपत्यकाबाहिर जानेगरी सम्भाव्यता अध्ययन गरिरहेका छौं। 

तपाईंले नयाँ योजना सुनाउँदै गर्दा बजारमा भने हाउजिङमा लगानी अनुशासन बिग्रिएकाले यतिबेला तपाईं र सिभिल ग्रुप आर्थिक संकटमा फँसेको चर्चा नि?
यो एकदमै गलत कुरा हो । नबुझ्ने मान्छेहरूले त्यो भन्छन् । म एउटा मात्रै उदाहरण के दिन्छु भने, कुनै समयमा नेपाल बैंक र वाणिज्य बैंक खत्तम भए, डुब्नै लागे भन्थे । आज सम्पत्तिको हिसाबले सबैभन्दा स्थायित्व भएका बैंक नै यी दुईवटा देखिन्छन् । नेपाल बैंकको हरेक शाखा आफ्नै भवनमा छ । यसले आफ्नो न्युरोडको जग्गा–भवन बेच्यो भने खर्बौं रुपैयाँ आउँछ । पब्लिकको डिपोजिट कति खर्ब छ, त्यो सबै एउटा सम्पत्ति बेच्यो भने सल्टिन्छ । हाम्रो सिभिल ग्रूपले पनि एसेट्समा लगानी गर्‍यो। 

यही सीटीसी मलको भ्यालुएसन आज ६ सय ४५ करोड रुपैयाँ छ । मलाई अप्ठेरो पर्‍यो भने पाँच सय करोडमा बेच्दा पनि सबैको पैसा लाइन लाएर १, २, ३ गरेर अहिले नै दिन सकिन्छ । त्यसकारण यो एसेट्स भ्यालु अथवा रियल इस्टेट भ्यालु क्रिएसनको महत्त्व नबुझेको मान्छेले त्यस्तो भन्ने हो ।

हो, रनिङ क्यापिटल भनौं अथवा तरल सम्पत्ति केही राख्नुपर्छ । त्यसबारे मिडियामा नकारात्मक कुराहरू आए । र, लिक्विड क्यापिटलमा चाहिँ अलिकित ‘सर्ट–फल’, अलिकति ‘स्ट्रेस’ भएको पक्कै हो । तर डुबेको अथवा समस्या परेको भने हैन । मैले नेपाल बैंकको उदाहरण दिएको कारण त्यही हो । 

जसरी अहिले नेपाल बैंकले सम्पत्ति बेच्यो भने खर्बौं आउँछ, हाम्रो पनि अवस्था त्यही हो । १५–२० वर्षमा सिभिल ग्रुपले सिभिल मल, सीटीसी मललगायत बनायो, आफ्नो सम्पत्ति सिर्जना गर्‍यो। हाउजिङमा जग्गा कहाँ कति छ भन्ने मलाई नै थाहा छैन । एउटै प्रोजेक्ट दुई–तीन सय रोपनीभन्दा ठूलो हुन्थ्यो । १० वटा प्रोजेक्ट बनाए । जग्गा टुक्र्याएर बेच्दै जाँदा सबै प्रोजेक्टमा अलिअलि छुटपुट जग्गा बँचिहाल्थ्यो । त्यसरी पनि एसेट्स त बढ्दै गएको छ ।

तर, सिभिलले हालै प्राइम प्रोपर्टीहरू बिक्री गरेको छ । केही त उद्देश्यअनुरूप परियोजना पूरा नहुँदै बेचियो, जस्तै  सुन्धाराको लग्जरी अपार्टमेन्ट । यसलाई पनि तपाईंको कम्पनीको वित्तीय स्वास्थ्य बिग्रिएको अर्थमा बजारले विश्लेषण गर्दैछ । वास्तविकता के हो ?
यो मान्छेहरूले अड्कल गरेको कुरा हो । हिजोचाहिँ ‘सिभिल ग्रुपसँग पैसा छैन, मान्छेहरू आफ्नो निक्षेप माग्न आउँदा समयमा दिन सकेन’ भनेर सिकायत पनि गर्ने । अब सही समयमा दिनुपर्यो भनेपछि तरलता त चाहियो । हामीसँग भएको १०–२० वटा सम्पत्तिमध्ये एउटा डिस्पोज गरिदियौं । हिजो त्यो अपार्टमेन्ट वा होटल बनाएर बेचे पनि मैले आम्दानी उठाउने हो । हामी (सिभिल ग्रुप) भनेको त एसेट्स डेभलपर हो नि, सम्पत्ति सिर्जना गरेर होल्ड गर्ने एसेट्स होल्डिङ कम्पनी हैनौं ।

यसैले एसेट्स डेभलप गर्छौं, उचित समयमा उचित भाउ आउँछ भने बेचिदिन्छौं । अब हामीलाई खाँचो पर्‍यो, बेचिदियौं । यो कौन सा ठूलो कुरा हो ? भोलि खाँचो पर्‍यो भने अर्को पनि बेचौंला, खाँचो परेन भने यस्तैयस्तै अर्को प्रोपर्टी किनौंला । त्यही पैसा लगाएर दुईवटा प्रोजेक्ट पनि त ल्याउँदैछौं हामी ।
 
त्यो पैसाले हामीसँग प्रशस्त लिक्विडिटी भयो । आवश्यकताअनुसार हामीले पैसा चाहिनेको पैसा फर्काइदियौं । प्रोपर्टी नै होल्ड गरेर बस्दा यहाँ अलिकति फ्रीज भएर बसेको थियो, अब पैसा आयो, त्यसलाई हामी साइक्लिङ गर्छौं । त्यसकारण मान्छेको हेर्ने दृष्टिकोण हो, नबुझेर भन्न सक्छन् । मेरो व्यवसाय नै जग्गाजमीन जोड्ने र बेच्ने हो । जोड्दा पनि किन जोड्यो भन्ने बेच्दा पनि किन बेच्यो भन्ने ? मैले जग्गा नजोडे, नबेचे कसले बेच्ने त ? मेरो कामै यही हो त !

बैंकको शेयर बेच्न श्रीमतीसँग डिभोर्स गर्‍यो भनेर पनि लेखिदिए । मैले मेरो बैंकको एउटा शेयर बेच्नका लागि थोडा श्रीमतीसँग डिभोर्स गर्नुपर्छ र भन्या ? बरु शेयर सित्तैमा छोडिदिउँला न, श्रीमती त छोडिँदैन नि ! शेयरको सट्टा म घरै बेचिदिउँला । मेरो कामै घर बनाएर बेच्ने । अहिलेसम्म हजार ६४ वटा घर बनाएर बेचिसकेँ, चाहियो भने अर्को एउटा–दुइटा घर बेच्नलाई कौन सा ठूलो कुरा भयो ? तर मैले डिभोर्सै त गर्नुपर्थेन नि । लेख्नेले लेखिदिए, कति पछाडि लाग्ने ? समय मात्रै बर्बाद हुने भएर मैले छोडिदिएको हो । नत्र म पनि मुद्दा–मामिलामा जान सक्थें ।

तपाईँले सिभिल ग्रूपको वित्तीय अवस्था कमजोर छैन भनिसक्नुभयो । तर संकटमा परेरै प्राइम प्रोपर्टी (हरू) बजार भाउभन्दा निकै सस्तोमा अझ कारोबार रकमभन्दा कम देखाएर बेच्यो भन्ने कुरा आएको छ । सुन्धाराको प्रोपर्टी नाफामै बेच्नुभएको हो त ?
सीधा कुरा, मसँग तमसुक नै छ, मैले २५ लाख रुपैयाँ आनाले किनेँ, एक अर्ब ३० करोडमा बेचेँ । त्यो (सुन्धाराको ९६ आना) जग्गा ६ वर्ष पालेर बेच्दा मलाई चार गुणा नाफा भएको छ । योभन्दा बढी कति नाफा खाएर बेच्नु ? मलाई अलिकति पैसाको खाँचो पर्‍यो। राम्रै मूल्य आएपछि बेचिदिएँ । बस् !