वीरगंज भन्सारले २३ दिनमै पौने १७ अर्बको राजस्व भेटायो, दैनिक एक अर्बसम्म राजस्व उठ्दै

बिजमाण्डू
२०७८ असोज २५ गते १४:४० | Oct 11, 2021
वीरगंज भन्सारले २३ दिनमै पौने १७ अर्बको राजस्व भेटायो, दैनिक एक अर्बसम्म राजस्व उठ्दै


वीरगंज। वीरगंज भन्सार कार्यालयले चालु आवको असोज महिनाको लक्ष्य २३ दिनमै पुरा गरेको छ। वीरगंज भन्सारका सुचना अधिकारी कर अधिकृत सुमित साहका अनुसार असोजमा चाडपर्ब लक्षित समान बढी आयात भएकोले असोजको राजस्व संकलनको लक्ष्य शनिवारसम्म पुरा भएको बताए।

Tata
GBIME
Nepal Life

असोजमा भन्सार कार्यालयको १६ अर्ब ७५ करोडको राजस्व लक्ष्य छ। उनले दैनिक प्राय जसो ५० देखि ६० करोडको हाराहारीमा राजस्व उठाउने लक्ष्य रहेकोमा असोजमा कुनैकुनै दिन एक अर्बसम्म राजस्व संकलन भएको बताए।

‘सवारी साधन र पेट्रोलियम पदार्थ आयात धेरै भएको दिनमा १ अर्ब सम्म पनि राजस्व संकलन हुन्छ,’ उनले भने,‘ असोजमा दशैमा ४ दिन कार्यालय बन्द पनि रहने भएकोले सोभन्दा अघि नै लक्ष्य पुरा भएकोमा हामी खुशी छौं।'

वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार दशै तिहार र छठ लक्षित समानमा सबैभन्दा बढि इन्धन, सवारी साधन,लत्ताकपडा, कस्मेटिक, मरमसला, ड्राईफुड्स, औद्योगिक कच्चा पदार्थ, चिनी, मकै, चामल,कोदो, गहुँलगायत बढी भित्रिएको छ।

वीरगंज भन्सारको तथ्याक अनुसार चालु आवको गत साउन र भदौ गरी दुई महिनामा २७ अर्ब ५३ करोड ६९ लाख ३९ हजार लक्ष्य पाएकोमा करिब ५ अर्ब बढी अर्थात ३२ अर्ब ५५ करोड ३१ लाख ३० हजार राजस्व संकलन भएको थियो।

यो लक्ष्यभन्दा करिब १८ प्रतिशतले बढी हो। गत आव २०७७/७८ को सोही अवधिमा लक्ष्यको तुलनामा जम्मा ९५ प्रतिशत मात्र राजस्व संकलन भएको थियो। भन्सार नाकाबाट एलपी ग्यास, सोयाबिन, पाम, सूर्यमुखीको कच्चा तेल, एमएस बिलेट, एचआर सिट, एचआर स्ट्रीप्स, भटमास, पोलिथिन दाना, लुब्रिकेन्ट्स, बस ट्रकको आयात पोहोरभन्दा वृद्धि भएको देखिएको छ।