बालकृष्ण भुसाल बुटवलबाट उदाएका व्यवसायी हुन्। सानोतिनो व्यापार गरिरहेका भुसालले अढाई दशक अघि शंकर राइस मिलबाट ठूलो व्यवसायिक कारोबारमा हात हालेका थिए। यो राइस मिलबाट सुरु भएको उनको व्यवसायिक यात्राले ठूलो आकार लिइसकेको छ।
न्यु हल्याण्ड ट्रयाक्टरको अधिकृत बिक्रेता बनेपछि उनको व्यापार चम्कियो। र, मुलुकभित्रका ठूला व्यवसायिक घरानासँग पनि प्रतिस्पर्धा गर्ने आधार तयार पारे। अहिले उनको समूहमा दुई दर्जन उद्योग व्यवसाय छ। पश्चिम क्षेत्रमा कुनै उद्योग समस्यामा परेर ‘टेकओभर’ गर्नुपरेमा पहिला भुसाललाई नै खोज्ने गरिन्छ। कोभिडकालमै एक अर्ब लगानीमा विशाल सिमेन्ट किनेका भुसालले एक महिना अघि साढे तीन अर्बमा टाइगर प्यालेस किन्ने सम्झौता गरिसकेका छन्। उनै भुसाललाई बिजमाण्डूले सोध्यो- टाइगर प्यालेस साढे ३ अर्बमा किन्ने समाचार बाहिर आएपछि तपाईं त एकाएक चर्चामा आउनु भयो नि?
मेरो बुवाले २०२४ सालबाट व्यवसाय सुरु गर्नुभयो। मेरो जन्म अर्घाखाँची सातपाटेमा भएको हो। बुवाले गुल्मीको तम्घास आएर व्यापार थाल्नु भयो। बुटवलबाट सय डेढ सय भरिया खोजेर चामल, नुन, चिनी तम्घासमा लगेर व्यापार गरेको हो। म १८ महिनाको हुँदा आमा बित्नुभयो। त्यसको केही समयपछि नै बुवा पनि बित्नुभयो। हामी तीन भाइ छौं। बुवाले व्यवसाय सुरु गरे पनि हामीले २०३९ सालबाट खास बिजनेस सुरु गरेको हो। तम्घासमा हामीले ट्रयाक्टर पुर्यायौं। २०४० मा ४५ हजार रुपैयाँ हालेर बेलारस ट्रयाक्टर किनेँ। हामीले त्यसैलाई ढुवानी गरेर व्यवसाय सुरु गर्यौं ।
सन् १९९५ देखि तपाईं न्यू हल्याण्ड ट्याक्टरको डिलर हुनुभयो। अढाई दशकमा मोफसलबाटै तपाईंले ठूला ठूला व्यवसायिक घरानाहरुकै हाराहारीमा प्रतिस्पर्धा गर्न आउनु भएको छ। यो पोर्टफोलियो अचानक तयार त हुँदैन नि। कसरी तयार भयो?
वहाँहरु (ठूला घराना) लाई त हामीले केही उछिनेका छैनौं, प्रतिस्पर्धामा पनि छैनौं। वहाँहरु ठूलो घराना हो तर, हामीले प्रतिस्पर्धा गर्न सक्दैनौं। मैले नसकौंला तर ढिलोचाँडो मेरा छोरा, नाति, पनातिको बेलासम्म नेपालको प्रतिष्ठित घरानाको रूपमा हाम्रो पहिचान बन्नेछ।
हाम्रो पोर्टफोलियोमा ठूलो हात बैंकको छ। मेरो सपोर्टर भनेकै बैंक हो। सबै वाणिज्य बैंकहरुले भुषालजीको कारोबारलाई भनेर एकदमै न्यूनतम ब्याजदरमा पैसा दिने गर्छन्। समयमै किस्ता तिर्ने भएकाले पनि बैंकहरु ढुक्क छन्। बैंकहरुकै सहयोगले म यहाँ आइपुगेको हो।
म बुटवल झरेपछि गल्लाको व्यापार गरेँ। त्यसपछि मणिग्राममा राइस मिल र चिउरा मिल किनेँ। शंकर राइस र शंकर चिउरा उद्योग थियो। पाँच वर्षजति चलाएँ। चरौटामा बुद्ध सिमेन्ट भन्ने थियो। मैले साझेदारीमा चलाएँ। मित्तल भन्ने हुनुहुन्थ्यो, वहाँ र मेरो करिब ९ महिना साझेदारी चल्यो। वहाँसँग केही विषयमा कुरा मिलेन। हामी बुद्ध सिमेन्टबाट बाहिरियौं।
त्यसपछि मात्रै मैले नेपालमा न्यू हल्याण्डको ट्रयाक्टरको डिलर सुरु गरेको हो।
तपाईंलाई त त्यहाँ ट्रयाक्टर साहु भनेर चिन्छन् हैन?
मलाई भुषाल ट्रयाक्टर भनेर पनि चिन्छन्। सबैले ट्रयाक्टर साहु नै भन्छन्। जुम्ला, हुम्ला, मुगुलगायतका ठाउँमा न्यू हल्याण्ड ट्रयाक्टर भन्दैनन् भुषाल ट्रयाक्टर भन्छन्।
भनेपछि ट्रयाक्टर तपाईंका लागि ‘टर्निङ पोइन्ट’ बन्यो?
मेरो लागि ट्रयाक्टर टर्निङ पोइन्ट नै हो। समग्र ट्रयाक्टर बजारको २५-३० प्रतिशत हामीले ओगटेका छौं। ट्रयाक्टरमा राम्रै पहिचान बनेको छ। ब्राण्ड राम्रो पर्यो गुणस्तरका कारण बजार विस्तारमा सहयोग पुगिरहेको छ। स्पेयर पार्ट्सहरु पनि सहज रुपमा उपलब्ध गराइरहेका छौं।
बिक्रीका हिसाबले ट्रयाक्टर आफैंमा कठिन व्यवसाय पनि हो। किसानहरुलाई उधारोमा दिनुपर्ने हुन सक्छ। पैसा तिर्न नसकेका घटनाहरु पनि छन्। ठूला घरानाहरुले ट्रयाक्टरमा सकिँदैन भनेर व्यवसाय छोड्दै गएका छन्। तपाईंले कसरी सफलता पाउनु भयो?
हेर्नुस् तपाईंहरु (पत्रकार) लाई लुकाउनु हुँदैन। पहाडमा जन्मेको म ८५ प्रतिशत बजार पनि त्यहीँ छ। मेरो सबैभन्दा राम्रो बजार गुल्मी, अर्घाखाँची, प्यूठान, बागलुङ, पोखरा, स्याङ्जा, पाल्पा लगायतका क्षेत्रहरु छ। यो हाम्रो पकड एरिया हो। ढुंगा, बालुवा, गिट्टीदेखि चामल ढुवानी गर्न सक्षम ट्रयाक्टर पर्योक। त्यहाँका ग्राहकहरुले मलाई राम्रो सहयोग गर्नुभएको छ।
ट्रयाक्टर पछाडिको बिजनेस ग्रोथ कसरी भयो, अहिलेको अवस्थासम्म कसरी आइयो?
पहिलो साल मैले ६० वटा ट्रयाक्टर बेचेको थिएँ। दोस्रो सालमा शतप्रतिशत ग्रोथ गर्दै एक सय २० वटा ट्रयाक्टर बिक्री गरें। यसरी सालमा १५ सय युनिट ट्रयाक्टर बेच्न सफल भयौं। कोरोनाका कारण बिक्री केही कम भयो। ६ देखि सात सय मात्रै बिक्री गर्यौं । नभए एक हजारदेखि १२ सयसम्म ट्रयाक्टर हरेक वर्ष बिक्री गर्यौं।
ट्रयाक्टर पनि बेचियो, हेभी इक्विपमेन्ट पनि आयो। कारोबार राम्रो हुँदै गयो। हामीले एउटा केबुल उद्योग पनि लियौं। सिमेन्टभन्दा अघि केबुल फ्याक्ट्री लिएका थियौं। नबिल बैंकले उक्त उद्योग लिलाममा चढाउने क्रममा थियो। बैंकले मलाई बोलाएर ‘भुषालजी हामी अब लिलामीको सूचना निकाल्दै छौं, तपाईंहरुले चलाइदिनु पर्यो’ भन्नुभयो।
मैले केबुल उद्योगको साहुलाई भेटेर के हो अवस्था भनेर बुझेँ। साहुले मेरो घर बचाइदिनुस्, फ्याक्ट्री चलाइदिनुस् भनेपछि १० करोड रुपैयाँमा डिल गरेर लिएँ। केबुल फ्याक्ट्रीसँगै ट्रयाक्टर पनि चल्यो। गल्लाको व्यापारसँगै ट्रेडिङ व्यवसाय पनि चलिरहेको थियो।
गत वर्ष कोरोनाकै समयमा विशाल सिमेन्टको कुरा आयो। विशाल सिमेन्टको पनि प्राइम बैंकमा अलिकति नाजुक अवस्था थियो। वहाँहरुले मलाई यो फ्याक्ट्री चलाइदिनुस् भनेपछि विशाल सिमेन्ट लिएको हो।
तपाईं धेरै बिजनेसमा जानु भयो। गल्ला वा ट्रयाक्टरमा मात्रै सीमित हुनु भएन। होटल, हेभी इक्विपमेन्ट, बैंक, प्लाईदेखि भर्खरै साबुन उद्योग पनि किन्नु भयो!
साबुन फ्याक्ट्री किन्नेभन्दा पनि त्यसलाई चलाउ भनेर लागेको छु, त्यो पनि बन्दको अवस्थामा थियो। मलाई बुटवल-भैरहवा कसरी चिन्छन् भने कुनै फ्याक्ट्री वा कुनै चिज बिग्रियो भने भुषालजीको व्यवस्थापनमा चल्छ भन्ने छ। मैले मन जितेको भएर नै चलाइदिनुस् भनेर आउनु हुन्छ। आजको घडीसम्म बन्द भएको उद्योग लिएर चलाउन सक्ने खुबी साबित भएको छ।
रुग्ण भएका उद्योग चलाउन सक्ने तपाईंको क्षमता, सूत्र के हो त?
सूत्र भनेको फाइनान्सिङ हो। नेपालमा के छ भने उद्योग त गर्छौं तर, फाइनान्सिङलाई हामी मिसम्याच गर्छौं। भनेको मतलब बैंकबाट एक करोड ऋण लियौं। ऋण लिएको त्यो पैसाले फ्याक्ट्री चलाउने वा बिजनेस गर्ने भन्दा पनि पहिला गाडी किन्ने, घडेरी किन्ने, गहना, कपडा किन्नेमा खर्चिन्छौं। हामी त्यो गर्दैनौं। मैले जुन बैंकबाट जुन प्रयोजनलाई पैसा लिन्छु त्यसैमा प्रयोग गर्छु, त्यो पैसा बैंकको हो। बैंकको ब्याज र साँवा तिरेर त्यसबाट बच्ने मात्रै मेरो कमाइ हो।
अर्को सूत्र भनेको- पारिवारिक रूपमा नै घरका सदस्यहरुले बिजनेस हेरिरहेका कारण हामी अगाडि छौं। किचलो पर्दैन।
तपाईंले उठाएका रुग्ण उद्योगहरुले लिएको ऋण अन्तै लगरे लगानी गर्याु भएर बिग्रेका हुन्?
मैले भन्नै पर्छ- एउटा कुनै उद्योग सञ्चालन गर्दा त्यसबाटै दुई करोड रुपैयाँको लोन पास गरेको हुन्छ। बैंकबाट ल्याएको दुई करोड मेरै पैसा भन्ने आयो (मनमा) भने कुरा बिग्रिन्छ। यो पैसा बैंकको हो, यो साहु हो भन्ने हुनुपर्यो।
जस्तै, गाउँमा पहिला पहिला भैंसी, खेत किन्दा पाँच सयले भन्यो भने साहुको हो भन्थ्यौं हामीले। हाम्रोमा यो चलन हट्यो अहिले आएर। बैंकले पैसा दियो तिर्नै पर्दैन भन्ने सोच आयो। यसले समस्यामा पार्छ।
तपाईंले केबुल गर्नुभयो, ट्रयाक्टर बेच्दै हुनुहुन्छ। धेरै मान्छेहरुले प्रोपर्टी (रियल इस्टेट) बाट पैसा कमाए। त्यता तिर तपाईंको ध्यान गयो कि गएन?
गएन। रियल इस्टेटमा कहिले पनि ध्यान गएन। घरजग्गाको कुनै काम पनि गरिन। आमा, बुवा नभएर १३ वर्षको उमेरमा ट्रयाक्टरको ट्रलिमा बसेर आएर बिजनेस सुरु गरेको हो। मैले जति दुख सायद नेपालको अहिलेको स्थितिमा आउँदा कोही व्यवसायीले पाएको छैन।
कोभिडको असरले धेरैको बिजनेस डाबाडोल छ। तपाईंले यही अवधिमा तीन/चारवटा प्रोपर्टी उठाइसक्नु भा’छ। त्यो आँट कसरी आइराछ?
राम्रोको लागि जसले पनि गर्छ। सजिलो जसले पनि गर्छ। मेरो भित्री मनबाट के आउँछ भने गरेर के हुन्न त? बिग्रेका ल्याएर बनाउनु, बन्द भएका ल्याएर चलाउनु त्यसमा मलाई रमाइलो लाग्छ। बैंकहरुले पनि सहयोग गरेका छन्। पहिला १३/१४ प्रतिशत ब्याजदर थियो भने अहिले त्यसको ५० प्रतिशत कममा ऋण पाइरहेका छौं। एक अर्ब ऋण लिएर हामीलाई दुई अर्बको कारोबार गर्न पुगिरहेको छ।
पहिले एक अर्ब ऋण लिँदा दुई अर्बको ब्याज तिर्नुपर्थ्यो। यसले पनि कारोबार गर्न सजिलो भएको छ। मेरो पहिलो कारोबार हिमालयन बैंकबाट हुन्छ। उसकोमा मेरो लिमिट राम्रै छ। दोस्रो प्रभु बैंक, तेस्रो एनएमबि बैंक हो। अहिले आएर प्राइम बैंकहरुले पनि लगानी गरिरहेको अवस्था छ। २७ वटा वाणिज्य बैंकहरुमध्ये ८/१० वटासँग कारोबार गरिरहेको छु। कोरोनाको समयमा पनि मैले ब्याज तिर्ने काम रोकेको छैन।
तपाईंको पोर्टफोलियो कति भयो? ऋण कति छ?
बजारबाट उठाउनै छ। ऋण पनि राम्रै छ। बजारबाट पैसा उठाएर बैंकको ऋण तिर्न सक्छु।
कोभिडका कारण अझै पनि केही क्षेत्र अतिप्रभावित छन्। होटल अति प्रभावित छ चल्नै सकेको छैन। यस्तोमा पनि तपाईं एउटा होइन दुईवटा होइन धेरै होटल ल्याइरहनु भएको छ। बनाएको होटलले पनि नपुगेर अझ करिब ४ अर्बको होटल पनि किन्न खोज्दै हुनुहुन्छ। यो जोखिमको व्यवसाय होइन र?
अहिलेको अवस्थामा जोखिम हो। भोलि कोरोनाले विश्व भ्याइयो भने त म केही भन्दिन। होइन भने एक वर्ष/डेढ वर्ष भित्रमा सबैले खोप लगाउँछन्। खोप लगाएपछि हामी कोरोनाबाट आजाद हुन्छौं। अहिले यति उकुसमुकुस भइरहेको छ। मानिसहरु कहाँ जाऊँ र के गरौं भन्ने भइरहेको छ। मेरो क्याल्कुलेसन र फाइनान्स टिमले दिएको डेटा अनुसार अबको १८ महिना भित्रमा नेपालमा रहेका होटलले पुग्ने अवस्था हुँदैन। त्यति प्याक हुन्छन्। समय र परिस्थितिले साथ दियो भने जोखिम रहँदैन। साथ दिएन भने विश्व नै भ्याइन्छ डराउनै पर्दैन नि।
भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तयार भएपछि बाहिरका प्लेनहरु अवतरण हुने अवस्था छ। भैरहवामा जहाज ल्याण्ड भयो भने त्यहाँ होटल नै छैन।
लुम्बिनी प्रदेशमा पाँच तारे होटल नै छैन। हाम्रो लक्ष्य भनेको आफ्नै सेक्टर र एरियामा गर्ने हो। हामी किन काठमाडौं जाने? किन विराटनगर पुग्ने? आफ्नै क्षेत्र कभर गरौं कि भनेर सुनौलीमा होटल बनाइरहेको छु। पाँचतारे स्तरको उक्त होटल बाहिरको कम्पनीलाई चलाउन दिन्छु। बुटवलमा पनि बनाइरहेको छु ७० कोठाको होटल।
टाइगर प्यालेसको कुरा ल्याइराख्नु भएको छ। एउटा कुरा सबैले बुझ्न जरुरी छ। यो प्रोजेक्ट एफडीआई ल्याएर बनाएको हो। नेपालसहित विश्वमै कोरोनाका कारण सिर्जना भएको असाधारण परिस्थितिका कारण लगानी ल्याएकाहरुलाई बाहिर समस्या परेकाले नेपालको प्रोपर्टी बिक्री गरेर जाने क्रममा छन्। यसको दौरानमा हामी ६/७ जना पछाडि बसेरै काम गरिरहेका थियौं। उनीहरुले स्थायित्वदेखि स्थानीय नै भएकाले भुषाल समूहलाई टाइगर प्यालेस दिँदा राम्रो हुन्छ भन्ने निष्कर्षमा पुगे।
टाइगर प्यालेसमा करिब आठ सय जनाको रोजगारी छ। त्यो रोजगारीलाई किन नजोगाउने? किन बन्द गरेर राख्ने? यही भावनाका कारण हामीले टाइगर प्यालेसलाई नयाँ रूपमा लैजाने प्रयास गरिरहेका छौं। सम्भवत: नेपालको कानूनसहित अन्य कुनै समस्या आउँदैन भन्नेमा विश्वास्त छौं। हामीले मोटामोटी बसेर बिल (प्राइस) क्लोज गरिसकेका छौं।
अझै धेरै पक्षहरुमा काम गर्न बाँकी छ। पहिलाकै करिब आठ करोड रुपैयाँ फुकाउनु पर्नेछ। कोही साथीहरु राम्रोसँग लाग्नु भएको छ कोही नराम्रोसँग लाग्नु भएको छ। त्यसका लागि सबैजना सम्झदारीमा आएर यो परियोजनालाई चलाऔं र अगाडी लगौं भन्ने हाम्रो मनशाय हो। मैले मात्रै होइन अरु कोही साथी आएर प्रोजेक्ट चलाउँछु भन्नुहुन्छ म सहयोग गर्न तयार छु।
डिल एकदमै राम्रो पाउनु भयो नि है?
डिल राम्रो होइन। अहिलेको अवस्थामा डिल राम्रो होइन, चुनौती धेरै छन्। उनीहरुले करिब चार अर्ब रुपैयाँ बाहिरबाट ल्याएका छन्। नेपालमा करिब साढे दुई अर्ब रुपैयाँ जति ऋण छ। झण्डै साढे ६ अर्ब रुपैयाँको परियोजना हो। उनीहरुलाई कोरोनाले नि समस्या पार्यो।
सस्तो पनि होइन, महँगो पनि होइन, बीचमा छ। भोली चलेर राम्रो भयो भने मेरो लागि गुड हुन्छ चलेन भने मेरोलागि जीन्दगीकै सबैभन्दा ठूलो पछुतो त्यही हुन्छ। मैले कोही कसैलाई बल गरेको पनि छैन। नेपालकै कोही साथीभाई आउनु हुन्छ र हामी चलाउँछौं भन्नु भयो भने हामी छोड्दिन तयार छौं।
योसँगसँगै जोडिएको अर्को परियोजना छ नि दमकमा त्यो के हुन्छ?
त्यो बनाउने हाम्रो लक्ष्य हो। यदि हामीलाई केही रोकिएन भने ११ बिघा जग्गा रहेको दमकको उक्त प्रोपर्टी पनि हामीले बनाउने हो।
तपाईं यस्तो सेक्टरमा हात हालिरहनु भएको छ कि घर बनाउँदा चाहिने सबै सामाग्री भुसाल ग्रुपबाटै उपयोग भइरहेको देखिन्छ। जस्तै केबुल, प्लाइउड, सिमेन्ट आफ्नै हाउस भित्रका प्रडक्टहरु छन्। यति चुनौतीपूर्ण समयमा मूल्य पनि एकदमै कम्पिटेटिभ छ, लगानीका हिसाबले ठूला ठूला हाउस आइरहेका छन्। बहुराष्ट्रिय कम्पनी संयुक्त साझेदारीमा आइरहेका छन्। यो जोखिम मोल्न सकिन्छ?
मेरो लाइट हाउस पनि छ। चीनबाट आयात गरेर लाइटहरु पनि बेच्छु। जोखिमभन्दा पनि केको लागि जोखिम मान्ने भन्ने हुन्छ। बिजनेस गर्नका लागि ऋण लिने हो। ऋण लिएको पैसाले बिजनेस चलाउन सक्यो भने त्यही प्रयोग हुन्छ चलेन भने ऋण बैंकमै फिर्ता हुन्छ। मलाई जोखिम लाग्दैन।
जोखिम कस्तो कुरालाई मान्नु पर्छ भने कुनै पनि दायित्व स्थायी नहुने, आफूले व्यवसाय मेन्टेन गर्न नसक्ने र बाहिरबाट मान्छे हायर गरेर ल्याएर सञ्चालन गर्न दियो भने हुने हो। मैले अझै पनि १०/१५ वर्ष पहिला जति मेहेनत गरें त्यति नै मेहेनत गरें भने मेरो लागि जोखिम केही होइन।
सिमेन्टमा तपाईंहरुको आफ्नै खानी छ, होइन?
विशाल सिमेन्टको आफ्नै खानी छ सुर्खेतमा। हामी योजना बनाइरहेका छौं। अबको दुई तीन वर्ष भित्र हामी क्लिंकरमा आउँदै छौं। यसको आफ्नै खानी छ।
भैरहवा तपाईं ‘क्यास रिच’ भएको व्यवसायी/उद्योगी भन्दा रहेछन् नि।
मैले भने नि बैंकले मलाई पत्याउँछ। फाइनान्सिङ सबै बैंकले गर्छ। जानुस् बुझ्नुस् मैले लगानी ल्याएको बैंकको नाम दिएँ। मेरो वित्तीय रेकर्ड कस्तो छ सजिलै बुझ्न सक्नुहुन्छ। समयमा ब्याज तिर्छु, समयमा किस्ता तिर्छु। बैंकले दिएको पैसालाई मैले नचाइदिएको मात्रै हो।
मोफसलमा बसेर व्यवसायी सुरु गर्ने मान्छेलाई नीतिगत तहका कुराहरुमा कतिको गाह्रो सजिलो हुँदो रहेछ। हुनत अहिले संघीयता पनि कार्यान्वयनमा छ?
हामीले राम्रो गर्नुपर्छ। गणतन्त्र आउनु अघि तपाईं पत्रकारहरुलाई पनि त गाह्रो थियो नि। अहिले अवस्था राम्रो छ। तपाइँहरुलाई पनि हामीलाई पनि। मेरो एउटा विचार के छ भने म बिजनेसम्यान हो। मेरो मनमा मैले बिजनेस मात्रै गर्छु भन्नु पर्योव। म भोलि गएर राजनीतिमा हात हाल्नु भएन, मिडियामा हात हाल्नु भएन, कर्मचारीतन्त्रमा जानु भएन। जसको जे अनुभव त्यसमा जाने हो भने नेपालको धेरै राम्रो विकास हुने मैले देखेको छु।
मोफसलका व्यवसायी भनेको राष्ट्रियस्तरको हुँदैनन् भन्ने गरिन्छ। तर, तपाईं त्यसरी उदाउँदै हुनुन्छ। जे हुन्छ सबै काठमाडौंबाटै हुन्छ। अड्डा अदालत, नीतिगत लबिङ पनि काठमाडौंबाटै हुन्छ, मन्त्रीदेखि सचिवसम्म उतै छन्। यो हिसाबले हेर्दा कत्तिको गाह्रो सजिलो हुने हो?
म अर्घाखाँचीमा जन्मेको, गुल्मीमा हुर्केको र बुटवल आएर आफ्नो कर्म गरेको हो। हामी सबै किन काठमाडौंमा मात्रै हुने? काठमाडौं उपत्यका बाहिर पनि व्यवसाय छ है भन्ने पहिचान बनाउन हामी बाहिरबाटै काम गरिरहेका छौं। मलाई लाग्छ हामीले काठमाडौंमा कर्पोरेट कार्यालय (सम्पर्क कार्यालय) राखे पनि हाम्रो मुख्यालय बुटवलको मणिग्राममै रहन्छ।
तलबाट उदाएर माथि आउँदाको चुनौती के छन्, काठमाडौंको कस्तो रेस्पोन्स आउने गरेको छ?
उहाँहरुले राम्रै गर्नुहुन्छ। ‘ए काठमाडौं बाहिर पनि बिजनेसम्यान रहेछ’ भन्नुहुन्छ। म अहिले ५३ वर्षको भएँ, मैले अहिलेसम्म कुनै पनि संस्थाको कुर्सी ओगटेर बसेको छैन। मेरो लागि सबै बराबर नै छ। काठमाडौं बाहिरको व्यवसायी भनेर चिनिने मौका पाएको छु। काठमाडौंमा बिजनेस जमाएर बस्नु भएका व्यवसायीहरुले मलाई नदेखेपनि राम्रैसँग नाम सुन्नु भएको छ। वहाँहरुको आशिर्वाद नै छ।
भुसाल ग्रुपले अब चुनौती दिँदै छ भन्ने स्तरको केही छ?
छैन छैन। वहाँहरुलाई हामी चुनौती दिनै पुग्दैनौं। वहाँहरु काठमाडौं बसेर बिजनेस गर्नुहुन्छ म बुटवल बसेर गरिरहेको छु। बिजनेसमा के च्यालेन्ज गर्नुपर्योक र? आफुले गुणस्तरीय प्रडक्ट दियो भने बिजनेस राम्रो चलिहाल्छ।
बिजनेसमा प्रतिस्पर्धा त हुन्छ नि?
अहिलेसम्म मैले त्यस्तो अनुभव गरेको छैन। भुसाल समूह अगाडि आयो वा गर्न थाल्यो भनेर गर्ने भए गर्नुहोला। तर, आज दिनसम्म उहाँहरुबाट असहयोग भन्ने छैन।
होटलहरुको अवस्था के कस्तो छ?
होटलहरु बुटवल, भैरहवामा बनिरहेको छ। १५ महिना भित्र भैरहवाको होटल लन्च हुन्छ। बुटवलको होटल एक वर्षभित्र लन्च हुन्छ। भैरहवा र बुटवल दुवै मेगा होटलको नाममा निर्माणाधीन छन्। भैरहवाको होटल ११० रुमको पाँचतारे होटल हो। बुटवलको चारतारे होटल ७० कोठाको छ। भैरहवाको होटलमा जग्गासहित एक अर्ब ५० करोड रुपैयाँ जति हुन्छ।
भैरहवाको यो होटल पनि बन्द भएको हो। तीन-चार जना व्यवसायीले बनाउँदै हुनुहुन्थ्यो। त्यो बनाउन सक्नु भएन। होटल दीप हो जस्तो लाग्छ नाम। वहाँहरुले यो प्रोजेक्ट लैजान सकेनौं तपाईंले लैजानुस् भन्नुभयो। मैले बन्दा बन्दै लिएको हो।
बुटवलको होटलमा करिब ४० करोड रुपैयाँको लगानी हुन्छ। साढे तीन बिघा जग्गामा रहने होटलमा १००० जना क्षमताको बैंक्वेट हल, क्यासिनो रहनेछ। बैंक अफ काठमाडौंको लगानी छ। कोरोनाका कारण निर्माणमा केही ढिलाइ हुन पुग्यो। यो आफ्नै हातले जग पुरेर निर्माण थालेको होटल हो।
तपाईं ट्रेडिङ व्यापार गरिरहेको मान्छे। तपाईं उत्पादन एवम् उद्योगमा कसरी आउनु भयो?
हेर्नुस् म ट्रेडिङ बिजनेसम्यान नै हो। मेरो छोरा, बुहारी र ज्वाइँहरु विदेश पढेर आए। उनीहरुबाट ‘बुवा ट्रेडिङ बिजनेस तपाईंले गर्नुभयो। अब हामी उद्योगतिर पनि जाऊँ’ भन्ने कुरा भयो। उद्योगहरु सबै मेरा छोरा, बुहारीले हेर्छन्। ट्रेडिङ व्यवसाय भने मैले हेरिरहेको छु। होटलमा लाग्नु भनेको राम्रो सुविधा दिनुपर्छ, पर्यटन उद्योगमा पनि लाग्नु पर्छ भनेर बल गरेर आएको हुँ।
होटल एउटा सेवामूलक उद्योग हो। यसबाट कसले दाम कमाएको छ र। नाम हो यसमा। दाम कमाउन ट्रेडिङदेखि उद्योग छ। हामी दाम कमाउन मात्रै जन्मिएका होइनौं केही सेवा गरौं भनेर होटल व्यवसायमा आएको हुँ।