चियाभन्दा सस्तो प्रभु फण्डमा लगानी गर्नेले तीन गुणा प्रतिफल पाउने छन्, गिरिसँगको कुराकानी

बिजमाण्डू
२०७८ जेठ २ गते ०९:४४ | May 16, 2021


 

Tata
GBIME
NLIC

प्रभु क्यापिटलले प्रभु म्युचुअल फण्ड अन्तर्गत पहिलो योजना प्रभु सेलेक्ट फण्ड जेठ ५ गतेबाट निष्कासन गर्दैछ। यसै सन्दर्भमा बिजमाण्डूले प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरिलाई सोध्यो- सामूहिक लगानी योजना प्रभु सेलेक्ट फण्ड कस्तो योजना हो? 
यो बन्दमुखी सामूहिक लगानी योजना हो। यस योजनाअन्तर्गत प्रति इकाई १० रुपैयाँ अंकित दरमा १० करोड वटा इकाईको बिक्री गरी एक अर्ब बराबरको रकम संकलन गरी त्यो रकमको ८० देखि १०० प्रतिशतसम्म शेयरमा लगानी गरिनेछ। 

सेलेक्ट फण्डले लगानी गर्दा कस्तो रणनीति अवलम्बन गर्नुहुन्छ?
हामीले निष्कासन गर्न लागेको प्रभु सेलेक्ट फण्डको नामले प्रष्ट हुन्छ यो फण्ड एकदम सेलेक्टिभ छ। सेलेक्टिभ हुन किन जरुरी छ भने नेपालको शेयर बजारमा धेरैवटा सेक्टरका शेयरहरु सूचीकृत भई कारोबारमा रहेका छन्। त्यसरी सूचीकृत कम्पनीहरुमध्येमा कम्पनीको व्यवसायिक वृद्धिदर उच्च रहेको, नियमित रुपमा उच्च प्रतिफल प्रदान गर्न सक्ने, वित्तीय अवस्था सवल भएको तथा निश्चित समय अन्तरालमा बजार सूचकभन्दा उत्कृष्ट प्रदर्शन गर्न सक्ने किसिमका शेयरहरु छनोट गरी ती मध्ये ३० वटा कम्पनीहरुको शेयरमा मात्रै लगानी गरी नियमित खरिद बिक्री गर्नेछ। 

यो फण्डको लगानी रणनीति भनेको नै आगामी दिनमा नेप्सेले जारी गर्ने तयारी गरेको नेप्से ३० नामक इण्डेक्सको प्रतिस्पर्धी तथा रिफरेन्स बेन्चमार्कको रुपमा स्थापित हुने तथा त्यसका लागि निरन्तर अधिकतममा ३० वटा कम्पनीहरुलाई पोर्टफोलियोमा लिएर अगाडि बढ्ने हो। 

यो योजनाले कस्ता कस्ता कम्पनीमा लगानी गर्छ ?
यसले नेपाल धितोपत्र बोर्डले जारी गरेको सामूहिक लगानी कोष नियमावलीले तोकेको क्षेत्रहरुमा लगानी गर्नेछ। हामी सरकारले जारी गरेको वा उसको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी स्वामित्व वा नियन्त्रणमा रहेको कुनै संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी बिल तथा मुद्रा बजारका अन्य साधनहरुमा लगानी गर्छौं। बैंक तथा वित्तीय संस्थामा निक्षेप, मुद्रा बजार उपकरणमा लगानी गर्छौं। 

यसरी लगानी गर्दा फण्डले अधिकतममा ८० देखि १०० प्रतिशतसम्म स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरुमध्ये ३० वटा कम्पनीहरुमा मात्रै लगानी गरी पोर्टफोलियो व्यवस्थापन गर्नेछ। 

बजारमा लगानीका यति धेरै छनोटहरु छन्। जग्गामा, सुनमा, सूचीकृत शेयरमा जता पनि लगानीकर्ताहरुले लगानी गर्ने अवसर छ। किन सामूहिक लगानी योजनामा लगानी गर्ने?
आजको दिनमा सुनको तोलाको मुल्य नै ९३ हजार माथि छ। काठमाडौं भ्यालीमा रिङरोडबाट ८–१० किलोमिटरको रेडियसमा १२ फिटे बाटो भएको ठाउँमै आनाको कम्तिमा १० लाख मूल्य पर्ने भइसकेको छ। त्यसैगरी शेयर बजारमा स्वयंले लगानी गर्न दोश्रो बजारमा जोखिम धेरै नै रहने हुन्छ। तसर्थ हाम्रो युनिट भनेको करोडौं करोड लगानी भएका लगानीकर्ताहरुभन्दा पनि विभिन्न क्षेत्रमा असंगठित रूपमा काम गर्ने, आफूसँग भएको स–सानो बचतलाई लगानीमा रुपान्तरण गर्न चाहने लगानीकर्ताहरुको लागि बढी लक्षित छ। 

आज हामीले कालो चिया एक कपको लागि मात्रै २० रुपैयाँ तिर्छौं। तर प्रभु सेलेक्ट फण्डमा १० रुपैयाँले नै युनिट होल्डर बन्न पाइन्छ। तसर्थ हामी त के भन्छौं भने म्युचुअल फण्डको युनिटमा लगानी गर्नु भनेका एक कप चियाभन्दा सस्तो हो। यसले सर्वसाधारणसँग भएको स–सानो रकमलाई बचत गर्दै लगानीमा रुपान्तरण गर्न सघाउँछ। त्यसैले शेयर बजारमा पर्याप्त समय दिन नसक्ने, ज्ञान र अनुभव नभएका तथा थोरै थोरै भए पनि लगानी गर्छु भन्नेहरुले उचित प्रतिफलका लागि तथा जोखिम न्यूनीकरणका लागि सामूहिक लगानी योजना मै लगानी गर्नुपर्छ। 

अहिले पनि बजारमा २१ वटा सामूहिक लगानी योजनाहरु सञ्चालनमा छन्। अन्यमा भन्दा यसमा के फरक छ?
हो, अहिले पनि हामीसँग २१ वटा सामूहिक लगानी योजनाहरु सञ्चालनमा छन्। तर सबै सामूहिक लगानी योजनाहरुको संरचना र स्वरुप एकबाट अर्कोसँग दाँज्दा फरक फरक छ। त्यो भिडमा हामी कसरी अरुभन्दा फरक छौं भन्ने कुरा गर्नुपर्दा हामी सेलेक्टिभ छौं। जम्मा ३० वटा कम्पनीहरुमा लगानी व्यवस्थापन गर्ने योजना बनाएका छौं। यसले लगानीकर्ताहरुलाई उच्चतम प्रतिफल तथा जोखिम व्यवस्थापनको साथै समग्र बजारलाई नेप्सेका परिसूचकसँग दाँज्न मिल्ने एउटा बेन्चमार्क प्रदान गर्नेछ। 

हामीले अहिले पनि आफ्नो पुँजीसहित करिब २ अर्ब रकमको व्यवस्थापन गर्दै आएका छौं र त्यसबाट हाम्रा शेयरधनी तथा सेवाग्राहीहरुले उच्च प्रतिफल प्राप्त गर्नुभएको छ। बजारमै बुझ्नुभयो भने पनि यो पटकको बुलमा लगानीबाट सबैभन्दा धेरै नाफा कमाउनेमध्ये हामी धेरै अगाडि छौं। त्यो किन भन्दा हाम्रो लगानी रणनीति नै हो। यसभन्दा अघि बजार डाउनट्रेण्डमै रहेको बखत समेत हामीले बजारबाटै लगानी गरेरै मुनाफा कमाएर प्रतिफल दिएको अनुभव हामीसँग छ। 

अहिले त बजार समग्रमा भन्नु पर्दा अहिलेसम्मकै उचाइमा रहेको छ। यस्तो अवस्थामा तपाईंहरुले खरिद गर्ने कम्पनीहरुको मूल्य पनि उच्च नै रहनेछ। कसरी जोखिम व्यवस्थापन गर्नु हुन्छ?
बजारमा इन्ट्री र एक्जिट गर्ने बेलामा हरसमय जोखिम नै रहन्छ। चाहे तपाईँले ११०० तहमा बजार प्रवेश गर्नुहोस्, चाहे तपाईं अहिले २६०० को लेभलमा। मेजोरिटिमा के हुन सक्छ भन्ने कुराको लेखाजोखा। जसले ११०० को तहमा बजार अझै तल जान्छ होला भनेर खरिद गर्न सकेनन् तिनीहरुले १२०० वा १५०० को रेन्जमा गएर खरिद गर्न त झनै असहज माने र मान्दामान्दै पनि छिरेकाहरु १८८१ पुगेपछि झस्केर निस्के फेरि २००० कटेपछि छिरे र बजारमा सानो करेक्सन आउनासाथ डराएर निस्किए। यसरी गर्नेहरुले हेर्नुस् बजार ११०० बाट २६०० पुग्दा पनि ३०/४० प्रतिशत भन्दा माथि कमाउन सकेनन्। तसर्थ यो प्रवृत्ति हो, डर हो।

हामीले जहिले पनि कम्पनीको व्यवसायिक वृद्धि र उसको प्रतिफलमा ध्यान दिन्छौं। हामीले छनोट गरेको कम्पनीले आफ्नो पुँजी अनुसारको व्यवसाय विस्तारको गति लिन सकेको छ वा छैन र अरु सोही प्रकारका कम्पनीहरुको अवस्थालाई दाँजेर हेर्दा कम वा बेसी के छ? समग्र इण्डष्ट्रीको औसत प्रोफिट मार्जिन र हामीले हेरेको कम्पनीको प्रोफिट मार्जिन दर के छ भनेर हेर्छौं। यी सबै कुरा भनेको जोखिम व्यवस्थापनको एउटा पाटो हो। लगानी गर्ने भन्दै गर्दा मूल्यमा मात्रै वृद्धि हुन्छ भनेर मात्रै हेर्दैनौं। त्यो कम्पनीको आधारभूत कुरामा वृद्धि हुन सक्नुपर्दछ। 

यो फण्डमा लगानी गर्ने युनिट होल्डरले के कस्तो प्रतिफलको अपेक्षा यो योजनाबाट गर्न सक्छन्?
हामीले गरेको प्रक्षेपण अनुसार युनिट होल्डरहरुले वार्षिक रूपमा औसतमा २० प्रतिशतको प्रतिफल प्राप्त गर्नुहुनेछ भने निरन्तर ७ वर्ष लगानी गर्ने युनिट होल्डरले म्याचुरिटी अवधिसम्म करिब ३ गुणा प्रतिफल पाउनुहुनेछ।